घर जीर्ण बन्यो तर त्यो कोठाको ढोका अझै खुलेको छैन

|

काठमाडौं : वि.सं. १९९० को दशक, जुनबेला पूर्वी नेपाल अन्य क्षेत्र जस्तै जातीय विभेदले आक्रान्त थियो। तल्लो जात र माथिल्लो जात भन्दै विभेद त हुन्थ्यो नै विधवा, एकल महिलाले त पीडैपीडा सहेर बस्नुपर्ने अवस्था थियो। किसानले पनि जमिन्दारको विभेद सहेर बस्न बाध्य थिए। अशिक्षाले गाँजेको पहाडी गाउँ, विभेदका विरुद्ध आवाज उठाउने कसैको आँट थिएन।

वि.सं. २००१, जुनबेला झापा विद्रोहका शहीद रामनाथ दाहालले आफ्ना बुबा गुमाए, त्यसपछि उनले यी सबै विभेदको अनुभव गरे। बाबु गुमाएको एउटा टुहुरो बालकलाई समाजले गर्ने व्यवहारले उनलाई पिरोल्यो। त्यही व्यवहारले उनलाई विद्रोही बनायो। पाँच वर्षे उमेरबाटै विद्रह सुरु गरेका दाहालले अन्ततः संर्घषकै क्रममा लक्का जवानमै सहादत प्राप्त गरे।

उनकी श्रीमती विश्वेश्वरा दाहालले रामनाथसँग जीवनका चार वर्ष मात्र बिताइन्। तर उनले श्रीमानका संघर्षलाई चार वर्षमा मज्जाले बुझ्ने मौका पाइन्। ‘उहाँसँग मैले चार वर्ष बिताएँ’, उनले भनिन्, ‘त्योमध्ये पनि जेल जीवन र आन्दोलनमा हिँड्दाको समय गन्दा जम्मा तीन महिना मात्र उहाँसँग बिताएँ होला तर उहाँलाई मैले पूर्ण रूपमा बुझेँ।’

अनि विद्रोही बने रामनाथ

२००१ सालमा रामनाथले राणाकालका सुवेदार आफ्ना बुबा रामकान्तलाई गुमाए। रामकान्त तेह्रथुममा नाम चलेकै थिए। उनी हुनेखाने नै थिए तर उनको निधनपछि परिवारले निकै विभेद सहनुपरेको रामनाथले श्रीमती विश्वेश्वरालाई बताउँथे।

‘टुहुरो बालकलाई समाजले निकै विभेद गर्थ्यो। त्यही विभेदको सिकार उहाँ पनि हुनुएछ। आमालाई विधवा भनेर विभेद गरेको उहाँले थाहा पाउनुभएछ’, उनले भनिन्, ‘त्यही विभेदको सिकार भएपछि उहाँ विद्रोहमा लाग्नुभएछ तर त्यो बेला उहाँ कम्युनिस्ट बन्छु भनेरचाहिँ लाग्नुभएको थिएन रे! पछि उहाँले मलाई भन्नुहुन्थ्यो।’

त्यसपछि दाहालले घर परिवारलाई आफू विद्रहको बाटोमा लाग्ने बताएको उनी बताउँछिन्। ‘एक दिन उहाँले आमा र हजुरआमालाई बोलाएर म अर्को बाटोमा लाग्ने भएँ। मैले जात छाडेँ भनेर सम्झाउनुभएछ’, उनले भनिन्, ‘उहाँले एक जना साधुनीलाई भान्से राख्नुभएछ।’

त्यसपछि उनले दलित, जनजाति सबैलाई समान व्यवहार गर्न थालेछन्। तेह्रथुम आठराईको होडा गाउँका दलित जनजाति तथा किसानहरूसँग मितेरी साइनो लगाएर रामनाथले संघर्षको सुरुवात गरेका रहेछन्। ‘मितेरी साइनो लगाएर उहाँ सामन्तसँग जुध्नुभएको थियो’, उनले भनिन्, ‘सामन्तबाट जो अन्यायमा पर्छ, त्यसको विरुद्धमा उहाँहरू एक हुनुभयो। त्यो संगठनको नेतृत्व उहाँले गर्नुभयो अनि सबै जातजातिको घरमा गएर उहाँले केही न केही खान थाल्नुभएछ।’

उनको यो व्यवहारबाट शासकको आँखा बलेछ। ‘यहाँले विद्रोह सुरु गरेपछि देशद्रोहीको आरोप लगाइयो’, उनले भने, ‘उहाँले सिम्ले स्कुल पढ्नुभएको हो। स्कुल जाँदा बाटो ढुकेर शासकहरूले उहाँलाई कुट्न खोजेछन्। त्यसपछि चुहानडाँडामा नौ कक्षादेखि पढ्न थाल्नुभएछ।’

तर उनले त्यहाँबाट एसएलसी पनि दिएन पाएनछन्। शासकहरू न हुन्, त्यहाँ पनि उनले सुख पाएनछन्। ‘सामन्तहरूले रामनाथले घर बाँड्यो भनेर बाटो छेकेर कुट्न खोजेछन्। त्यहाँ झगडै भएछ’, उनले भनिन्, ‘शासकलाई के थाहा उहाँले गाउँभरि मितेरी साइनो लगाउनुभएको। सबै गाउँ नै उनीहरूतिर खनिएपछि सामन्तहरू भागेछन्। त्यसपछि उहाँले पढ्न छाड्नुभएछ।’

तेह्रथुममा उनले जातीय आन्दोलन पनि चलाए। आन्दोलनमा ठूला जातका घरमा दलितलाई प्रवेश गराउने आन्दोलन रामनाथ दाहालको नेतृत्वमा भएको विश्वेश्वरा बताउँछिन्। आन्दोलन सकिएपछि २०१७ सालमा उनी झापा झरे। चारपानेमा आफ्ना बुबाले जोडेको जग्गामा दुई कोठाको झुप्रो घर बनाएर बसे, जुन घर अहिले पनि रहेको उनी बताउँछिन्। ‘झापा आएर उहाँहरूले आन्दोलनलाई व्यापक बनाउने सहल्लाह गर्नुभएछ’, उनले भनिन्, ‘त्यसबेलाको शिक्षालाई बुर्जुवा शिक्षा भन्दै बहिष्कार गर्नुभएछ।’

झापा आएपछि उनी धेरै समय किसानसँग बिताउन थाले। ‘रामनाथजीको त धेरैजसो समय किसानसँग बित्थ्यो’, उनले भनिन्, ‘बिहानै जुरुक्क उठ्नुहुन्थ्यो अनि किसानका घरमा पुग्नुहुन्थ्यो। बेलुका १०-११ बजे मात्र आउनुहुन्थ्यो। किसान संगठनमा उहाँले धेरै समय बिताउनुहुन्थ्यो।’

उनी किसानको धान काट्नदेखि थन्क्याउनसम्म सहयोग गर्थे। ‘किसानलाई सामन्तीले धान थन्क्याउन दिएनन् भने उहाँ आफैँ लागेर भए पनि थन्क्याउन सहयोग गर्नुहुन्थ्यो’, उनले भनिन्, ‘ठेकीबेठी प्रथाको विरुद्धमा उहाँले ठूलो संघर्ष गरेको हो।’

त्यही ठेकीबेठी प्रथाको विरुद्धमा लाग्ने क्रमममा तेह्रथुममा विश्वेश्वरासँग रामनाथको भेट भएको रहेछ। उनै विश्वेश्वरासँग रामनाथले २०२५ सालमा तेस्रो विवाह गरेछन्। पहिलोी श्रीमतीको निधन भएको विश्वेश्वराले बताइन्। दोस्रीले राजनीतिक रूपमा असहयोग गरेपछि विश्वेश्वरासँग विवाह गरेको उनी बताउँछिन्। विवाहपछि जेठी श्रीमतीलाई तेह्रथुम र कान्छीलाई संगठनको काममा सहयोग गर्ने गरी झापामा राखेको उनको भनाइ छ।

रामनाथ संसारमा पुरुष र महिला गरी दुई जात मात्र हुन्छन् भन्ने धारणा राख्थे। ‘उहाँले त्यो बेला संसारमा महिला र पुरुष जात मात्र हुन्छन् भन्नुहुन्थ्यो। यो हुनेबित्तिकै जातीय आन्दोलन सकिन्छ भन्नुभएको थियो’, उनले भनिन्, ‘अहिले आएर ठ्याक्कै यस्तै भएको छ।’

उनी झापामा हुने प्रत्येक किसान आन्दोलमा सहभागी हुँदै नेतृत्व लिने गरेको उनी बताउँछिन्।

‘मेरा लागि पनि बाँची दे’

रामनाथलाई २०२७ सालमा समानताको आन्दोलनमा लाग्दै गर्दा देशद्रोहीको आरोप लगाउँदै तत्कालीन पंचायत सरकारले चद्रगढी जेलमा थुन्यो। त्यो बेलाको विर्ता बजारमा रहेको गाउँ पंचायतले पनि उनलाई सिध्याउने रणनीति बनाएको विश्वेश्वरा बताउँछिन्।

त्यो बेला गाउँ पंचायतका प्रधानपंच मोहन राजवंशी थिए। उनले गाउँ पंचायतको कार्यालयमा रामनाथ अराजक भएको र ठीक बनाउने भन्दै छलफल गराएछन्। ‘उहाँलाई जेलमै सिध्याउने भनेर छलफलसम्म गर्न भ्याएछन्’, उनले भनिन्। त्यो छलफलका बारेमा रामनाथ दाहालका कार्यकर्ताले थाहा पाएछन्। त्यहाँ वर्तामान प्रधानमन्त्री केपी शर्मा ओली पनि थिए। ‘केपी कमरेड अलिक चलाख मान्छे। उहाँले त्यो छलफलका बारेमा थाहा पाउनुभएछ। उहाँले केही नेता तथा कार्यकर्ता भेला गरेर मोहन राजवंशीको बाटो ढुक्न जानुभएछ’, उनले भनिन्, ‘प्रधानपंच साइकलमा आए। उनलाई कुटेर अबचाहिँ मर्‍यो भनेर उहाँहरूले नालीमा फालेर घरतिर आउनुभएछ।’

त्यसपछि उनीहरू त्यहाँबाट भागेछन्। ‘केपी कमेरडले आएर मलाई हामीले त यस्तो उपद्रो गर्‍यौँ, प्रहरी आए भने थाहा छैन मात्रै भन्नुहै भन्नुभयो’, उनले भनिन्, ‘त्यसपछि उहाँहरूलाई हतार हतार खाना खुवाएर त्यहाँबाट भगाएँ। मोहन राजवंशी बाँचेछन्। उनले सबैका बारेमा भनेछन्। पछि घरमा प्रहरी आएका थिए। त्यो बेला गाउँ नै त्रासपूर्ण भएको थियो।’

त्यो बेला रामनाथलाई प्रहरीले करिब दुई महिना जेलमा राख्यो। किसानले पनि रामनाथको रिहाइका लागि निकै ठूलो आन्दोलन गरेको विश्वेश्वरा स्मरण गर्छिन्। ‘किसानको आन्दोलन थेग्न नसकेर उहाँलाई प्रसाशनले छाड्यो’, उनले भनिन्, ‘उहाँ जेलबाट छुटेपछि किसानहरूले पंचहरूको कार्यालय छेउमा आमसभा गर्दै घर ल्याएमा थिए। उहाँलाई ल्याउन दुईवटा गाडी तयार गरिएको थियो तर सबै कार्यकर्ता नअट्ने भएपछि हिँडेरै आउनुभयो।’

घर आएपछि पनि उनी प्रसाशनको तारो नै थिए। घरबाट उनलाई भागेर भारत जान व्यापक दबाब दिइरहेका थिए। ‘एक दिन आँगनमा हजुरआमाले दूध तताइरहनुभएको थियो। हजुरआमाले एकै पटक तँलाई मार्ने मन छ भन्नुभयो। मर्छस् भने यही तातो दूध मुखबाट खन्याइदिन्छु, अरूको हातबाट किन मर्नु, मेरै हातबाट मर भन्नुभयो’, उनले भनिन्, ‘आमाले पनि तँ हाम्रा लागि भए पनि बाँची दे, जति खर्च लाग्छ म दिन्छु, इन्डिया जा भन्नुहुन्थ्यो तर उहाँ इन्डिया गएर नेपालको आन्दोलन हुँदैन भन्ने तर्क गर्नुहुन्थ्यो।’

रामनाथ भूमिगत हुँदा उनको टाउकाको मूल्य त्यसबेला एक लाख रुपैयाँ तोकिएको विश्वेश्वरा बताउँछिन्।

तमोरमा हामफालेर बाँचेका थिए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली पनि रामनाथलाई आफ्नो राजनीतिक गुरु मान्छन्। उनले यो कुरा सार्वजनिक कार्यक्रममा पनि भन्ने गरेका छन्।

‘उहाँले केपी कमरेडलाई असाध्यै माया गर्नुहुन्थ्यो’, उनले भनिन्, ‘केपी कमरेड हाम्रो घरमा पनि आइरहनुहुथ्यो। त्यो बेला उहाँ पार्टीको नेता र केपी कमरेड विद्यार्थी नेता हुनुहुन्थ्यो।’

मोहन राजवंशीलाई कुटेपछि ओलीसहितको समूह भाग्दै तेह्रथुम पुगेछन् तर त्यसबेलाको पंचायत सरकारले सबैतिर हल्ला गरिसकेको रहेछ। उनीहरू प्रहरीको घेराबन्दीमा परे। ‘उहाँहरू तमोर तरेर जान लाग्नुभएको रहेछ तर उहाँहरू घेराबन्दीमा पर्नुभएछ’, उनले भनिन्, ‘केपी कमेरड दुई वर्ष हराउनुभयो। उहाँको हत्या भएको हल्ला चल्यो।’

त्यो हल्ला जेलबाट निस्कनेबित्तिकै रामनाथले पनि सुनेछन्। ‘भर्खर जेलबाट निस्कनुभएको थियो। खाना तयार भएको थियो। नखाई उहाँ कता लाग्नुभयो, पतै लगाउन सकिनँ’, उनले भनिन्, ‘केही समयपछि उहाँ आउनुभयो र भन्नुभयो केपीलाई केही भएको छैन। ऊ कहीँ सुरक्षित छ।’

पछि ओली पनि आए। उनी त्यो बेला तमोरमा हामफालेर बाँचेका रहेछन्। ‘केपी कमरेड पंचेहरूको सिकार हुनुभन्दा त तमोरमा हामफालेर मर्छु भनेर हाम फाल्नुभएछ’, उनले भनिन्, ‘पछि माझीहरूले बचाएछन्।’

‘रामनाथजीले ओली कमरेडलाई भगाउनुभयो’

घर परिवारको जबर्जस्तीले रामनाथ अन्ततः झापा छाड्ने निधोमा पुगे। उनी झापा छाडेर तेह्रथुमको पुर्ख्यौली घर पुगे तर त्यहाँ धेरै बसेनन्। केही महिनापछि उनी झापा नै आए। घर परिवारले किन आएको? भनेर उनलाई गाली पनि गरे तर उनले टन्सिल भएको भन्दै उपचार गर्न आएको बताएका विश्वेश्वरा बताउँछिन्।

एक दिन विश्वेश्वराले नराम्रो सपना देखेको श्रीमान रामनाथलाई सुनाइन्। ‘सपना पनि नराम्रो देखिरहेकी थिएँ। मेरो सपना पुगिरहेको पनि हुन्थ्यो’, उनले भनिन्, ‘यो कुरा मैले उहाँलाई सबै भनेँ। त्यहाँ केपी कमरेड पनि हुनुहुन्थ्यो। उहाँहरूले हाँसेर उडाउनुभयो तर रामनाथजीले पनि पछि नराम्रो सपना देख्नुभएछ र ऐठन पनि भएछ। उहाँ पसिनै पसिना हुनुभयो। उठेर उहाँले मलाई भन्नुभयो- मलाई मार्छन् कि क्या हो! सपना पनि त्यस्तै देखेँ। आफूले यस्तो सपना देखेपछि उहाँ पनि डराउनुभएछ।’

त्यस्तो सपना देखेको भोलिपल्ट बिहानै रामनाथ र केपी घरबाट निस्केछन्। ‘कहाँ जानुभयोचाहिँ मलाई थाहा थिएन। उहाँले सपना देखेको भोलिपल्ट बिहान करिब ९ बजे गाडीको आवाज आयो। नभन्दै त्यो त प्रहरीको गाडी पो रहेछ’, उनले भनिन्, ‘उहाँका बारेमा प्रहरीले सोध्यो मैले उपचार गर्न सिलिगुढी जानुभएको छ होला भनिदिएँ।’

प्रहरी आएमा खबर गर्नू है भन्दै गएका थिए तर गेटमा पुगेपछि गाडी हिँड्दै हिँडेन। विश्वेश्वरालाई शंका लाग्यो। त्यसबेला दुई जना नानीहरू थिए। एक जनालाई काखीमा च्यापिन् र अर्कोलाई डोहोर्‍याएर गेटसम्म पुगिन् उनी। ‘तल हेर्दा त रामनाथजीले त हात उठाइरहनुभएको रहेछ। कहाँबाट आउनुभएको थियो कुन्नि, अपर्झट पर्नुभयो’, केही समय उनको गला अवरुद्ध भयो र फेरि उनी आफ्ना भोगाइ निरन्तर सुनाउन थालिन्, ‘उहाँपछि केपी कमरेड हुनुहुँदोरहेछ। केपीलाई हातको चालले उहाँले भाग भन्नुभयो अनि केपी भाग्नुभयो। उहाँ आफैँ पनि बाठो मान्छे।’

रामनाथले प्रहरीसँग अन्तिम पटक आफ्नो घर प्रवेश गर्दै थिए। त्यसका लागि उनले प्रहरीसँग अनुमति मागे। प्रहरीले पनि सामान्य सोधपुछका लागि भन्दै लगेको उनी स्मरण गर्छिन्। त्यो दिन थियो- २०२९ मंसिर २८ गते।

रामनाथसँगको त्यो अन्तिम भेट

प्रहरीले पक्राउ गरेको करिब एक महिनापछि चन्द्रगढी जेलमा पुगिन्, विश्वेश्वरा। त्यहाँ उनले दही, केरालगायत खाने सामग्री लिएर गएकी थिइन् तर रामनाथले त्यो सामग्री फर्काउन लगाएछन्।

‘उहाँले म केही दिनमै छुट्छु। यो खाने कुरा जनता कुट्ने प्रहरीलाई किन खुवाउनु भन्नुभयो’, उनले भनिन्, ‘केरा त कुहिन्थ्यो। त्यसैले त्यहीँ छाडिदिएँ तर अरूचाहिँ फिर्तै ल्याएँ।’

धर्म ढकालको शनिश्चरेमा हत्या भयो। त्यही दिन रामनाथको जेलबाट घर आउने सपना चकनाचुर बन्यो। त्यो हत्याको अभियोग रामनाथमाथि लाग्यो। ‘त्यसपछि त उहाँलाई धेरै यातना दिइयो। त्यसको त कुनै सीमा नै थिएन’, उनले भनिन्, ‘त्यही कारण उहाँ घरमा आउन पनि भ्याउनुभएन।’

रामनाथलाई छोरा हेर्न साह्रै मन रहेछ। उनले घरमा चिठ्ठी पनि पठाएछन्। साथमा केही पैसा पनि बोकेर ल्याउन भनेका रहेछन्। विश्वेश्वरा पैसा र छोरा लिएर चन्द्रगढी कारागार पुगिन् तर जेलरले रामनाथसँग भेट्न नमिल्ने भनेछन्। ‘जेलरले अंचलाधीशको सिफारिस लिएर आउनु भन्यो। अञ्चालाधीशलाई भेट्न गएँ तर उसले पनि हुँदैन नै भन्यो’, उनले भनिन्, ‘फेरि जेलमा पुगेर आग्रह गरेँ। मेरो आग्रह कहाँ मान्थ्यो र!’ पछि रामनाथका सहयोद्धा वीरेन राजवंशीलाई भेट्न दिने भयो प्रहरीले। ‘त्यसबेला वीरेन राजवंशीले इलाम सार्न लागेको छ, मार्छन् कि पुर्‍याउँछन् भन्नुभयो’, उनले भनिन्, ‘उहाँले छोरा हेर्न पाउनुभएन। झ्यालबाट छोराको हात हल्लाइदिएँ तर उहाँले देख्नुभयो कि भएन थाहा छैन।’

फर्केर आएको दुई-तीन दिनपछि विश्वेश्वरालाई लिन प्रहरी घरमै आएछन्। त्यसबेला ‘तपाईंको श्रीमानलाई जसरी बचाउँछौँ’ भन्दै प्रहरीले आश्वासन दिएको रहेछ। उनलाई ‘उहाँ (रामनाथ)लाई भेट्नेबित्तिकै किन आएको भनेर सोध्नुभयो। प्रहरीले साधा कागज दिएका थिए। यसमा सही गर्दिनु रे तपाईंलाई बचाउँछन् रे भनेर मैले भनेँ’, उनले करिब ४५ वर्षअघिको क्षण सम्झिन्, ‘उहाँले यी फटाहा हुन्। हामीलाई मारेपछि केके प्रमाण चहिन्छ, त्यो लेख्ने हुन्। म सही गर्दिनँ भन्नुभयो उहाँले।’ तर त्यसबेलै उनले विश्वेश्वरालाई भनेछन्, ‘इलामसम्म जेल सरुवा गर्छौं भनेका छन्। यो सरुवा होइन, मरुवा गर्न लागेका हुन्।’

रामनाथले श्रीमतीसँगको त्यो अन्तिम भेटमा हरेस नखान आग्रह गरेछन्। ‘पार्टी बाँच्यो, देशमा लोकतन्त्र, गणतन्त्र आयो, कम्युनिस्टको सरकार बन्यो र जनताका दिन आए भने नेतृत्व गर्ने नेताहरूले ठूलो मन गर्नुपर्छ। हाम्रो योगदानलाई कदर गर्नुपर्छ भनेर अन्तिम भेटमा उहाँले भन्नुभएको थियो’, उनी भन्छिन्, ‘उहाँले प्रलोभनमा नेताहरू फस्नुहुँदैन, यदि त्यस्तो भयो भने देश झन् डुब्छ भन्नुभएको थियो।’ उनले अन्तिम भेटमा विश्वेश्वरालाई राजनीतिमा लाग्न आग्रह गरेका रहेछन्। ‘तिमी राजनीतिमा लागेर इतिहासमा साँचो कुरा बोल्नू भनेर उहाँले मलाई भन्नुभएको थियो’, उनले भनिन्।

जेलमा भेटेर आएको केही दिनमै २०२९ फागुन २१ गते झापाबाट इलाम जेल सार्ने बहानामा सुखानी जंगलमा तत्कालीन सरकारद्वारा रामनाथसहित नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको हत्या भएको खबर आयो।

रामनाथले आफ्ना कार्यकर्तासँग बैठक गर्ने गरेको घर कोठा त्यसै दिनदेखि बन्द भएको थियो, जुन दिन उनी पक्राउ परे। झापामा भएको घर जीर्ण बन्यो तर त्यो कोठाको ढोका अझै खुलेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.