|

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठकमा रामजानकी विवाह पञ्चमीमा भारतको अयोध्यबाट जन्ती बनेर आउने लागेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथदेखि रेल्वेको उद्घाटन मोदीबाट हुने चर्चा चलेका बेलामा संसदमा समेत आवाज उठेको छ। जनकपुरधाम-जयनगर रेल्वे सञ्चालनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउन लागेको तथा पछि मोदीको भ्रमण रद्द भई भारतीय गृहमन्त्री राजनाथ सिंह आउन लागेको चर्चाबीच प्रदेशसभा बैठकमा मोदीदेखि योगीसम्मको चर्चा चलेको हो।

प्रदेश २ को प्रदेशसभा दोश्रो अधिवेशनअन्तर्गत शुक्रबार बसेको ३८औँ बैठकमा नेकपाका प्रदेश सांसदले आर्थिक वर्ष २०७६/०७६ को प्रथम चौमासिक समाप्त भइसके पनि संसदीय विकास कार्यविधि सरकारले बनाउन नसकेको प्रति आलोचना गरे। उनीहरूले भारतको जयनगरदेखि जनकपुरधामसम्म रेल्वेको उद्घाटन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबाट हुने कुरा मिडियामा आएकोले त्यसको यकिन कुरा सरकारका तर्फबाट माग गरेका थिए। उनीहरूले राष्ट्रिय गौरवको योजनाहरूलाई नेपाल सरकार तथा उच्चस्तरीय मन्त्री तथा प्रधानमन्त्रीबाट हुनुपर्नेमा जोड दिए।

संघीय समाजवादी फोरम नेपालका सांसद रामअशिष यादवले तराई मधेसको जीवन जीउने आधार चुरे वन क्षेत्रलाई ज्वरोको औषधिको रूपमा सिटामोल खुवाए जस्तो व्यवहार भएको आरोप लगाए। प्रदेश २ को प्रमुख आधार कृषिलाई बचाउन पनि चुरेको संरक्षण आवश्यक रहेको बताए। उनले प्राकृतिक स्राेत र साधनको संरक्षण नगरी पञ्च तत्वको नै जोखिम हुने भएकोले मानव सभ्यता संरक्षणका लागि समेत पर्यावरण संरक्षणको आवश्यकता भएको बताए।

प्रदेश सांसद बाबुलाल साहले अस्पताल, मालपोत, नापी, बैंक जस्ता कार्यालयहरू अनियन्त्रित तरिकाले मनोमानीपूर्ण रूपमा चलिरहेकोले त्यसलाई प्रदेश सरकारले नियन्त्रण गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘संघीयतामा पनि सरकारी कार्यालय केन्द्र सरकार जस्तै चले संघीयताको के अर्थ? प्रदेश सरकारको के अर्थ?’ उनले हाल पूर्व-पश्चिम रेल्वे सेवा सञ्चालनको तयारीलाई तत्काल रोकी उत्तर दक्षिण रेल्वेको अध्ययन अनुसन्धान आवश्यक रहेको बताए। उनले नीजगढ विमानस्थलबाट व्यापक प्राकृतिकको दोहन हुने भएकोले त्यसलाई सगरमाथा वन विकास परियोजनामा सार्न मागसमेत गरे।

नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले देशमा राष्ट्रिय महत्वको योजनामा भारतीय प्रभुत्व बोकेको मुख्यमन्त्री योगी जस्तो पदका व्यक्तिले उद्घाटनको गर्नु अथवा गराउनु विषय सोचनीय भएको बताए। उनले नेपाल कहिल्यै पनि अरूको अस्तित्वलाई स्वीकार नगरी सधैँ सार्वभौम सम्पन्न राष्ट्रको रूपमा चिनिएकोले यस्ता गौरवको योजनालाई आफ्नै देशका वा भारतकै भए पनि उच्च पदस्थबाट उद्घाटन जरुरी रहेको बताए।

नेकपाका सांसद सुन्दरबाबु विश्वकर्माले सिंगाे संसारसँग जोडिन लागेको अन्तर्राष्ट्रिय विमानस्थललाई बन्न नदिने कुरा विनाअध्ययन नै गर्न थालिएको दाबी गरे। उनले भने, ‘२४ लाख रुख काट्ने विषयको प्रतिवेदन कसले दियो। यो हावादारी कुराहरू कहाँबाट आयो सबैले सोधखोज गर्न आवश्यक छ। अन्तर्राष्ट्रिय विमानस्थललाई प्रदेश २ मा हुन नदिन केही तत्वले षड्यन्त्र गरिरहेको छ। त्यसलाई हामीले चिर्नुपर्छ।’        

सांसद पारसप्रसाद साहले बाराको निजगढमा बनाउन लागिएको अन्तर्राष्ट्रिय विनास्थललाई बनाउन र पर्यावरण जोगाउन उत्तिकै जरुरी रहेको बताए। उनले २४ लाख रुख काट्ने अफवाह फैलाएर विवानस्थललाई विवादित बनाउने षडयन्त्र सुरु भएको आरोप लगाए। उनले विमानस्थललाई विवादित बनाएर प्रदेश २ मा बन्न नदिन केही तत्वहरूले षडयन्त्र गरेको आरोपसमेत लगाए।

राजपाका सांसद उपेन्द्र महतोले नेपाल सरकारले उखु किसानलाई दिने अनुदानको रकममा लिन झन्झिटिलो प्रक्रिया अपनाएर किसानलाई दुःख दिने काम गरेको आरोप लगाए। उनले प्रदेश सरकारले उखु किसानको पैसा आफू मातहत ल्याएर सहज वितरण गर्न माग समेत गरे। उनले भारतीय मुख्यमन्त्री योगी र मोदीबाट विपक्षी दल डराएको आरोप लगाए।

सांसद वीरेन्द्रप्रसाद सर्लाहीको रामनगरमा भएको गोली काण्डको सत्यतथ्य छानबिनमा ढिलासुस्ती गरेकोप्रति आक्रोश पाख्दै भने, ‘प्रदेश सरकारले सर्लाही गोलीकाण्डमा अापराधिक जत्था भिडाएर दिउँसै गोली हानेर मान्छे मारिदा पनि प्रदेश सरकार कानमा तेल हालेर सुतेको छ। यदि यही पारा हो भने हामी सडकदेखि सदनसम्म आन्दोलन गर्छौं।’

नेकपाका सांसद दीलिप साहले सत्तापक्षका मन्त्री तथा सांसदमुखी बजेट ल्याएको र त्यसको संशोधनको प्रतिबद्धताका बाबजुद संशोधन नगरिएको प्रति आक्रोश व्यक्त गरे। उनले संसदीय विकास कोष विधेयक ल्याएर संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर विकास रकम खर्चका लागि जोड दिए। राजपा नेपालका सांसद रानी शर्मा तिवारीले बाराको निजगढ विमानस्थलमा वन विनासको लागि नै अन्तर्राष्ट्रिय विमानस्थल ल्याएको दाबी गरे। उनले भने, ‘बारामा विमानस्थलका लागि नभई वन विनासका लागि विमानस्थल ल्याइएको हो।’

नेकपाकै सांसद ज्वालाकुमारी साहले नीजगढ विमानस्थल अध्ययन अनुसन्धानदेखि सबै डिजाइन भइसकेको अवस्थामा केही राजनीतिक दलले षड्यन्त्र गर्न खोजेको आरोप लगाए। उनले भूमिहीन सुकुम्वासीलाई बसोबास गरिरहेको गरिव विपन्नलाई लालपूर्जाको व्यवस्था मिलाउन प्रदेश सरकारसँगआग्रहसमेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.