'साथीहरूलाई सरकारमा जान हतार भयो'

|

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र अध्यक्ष मण्डलबीच भएको विवाद उत्कर्षमा पुगेको छ। राजपा अध्यक्ष मण्डलको संयोजकबाट महन्थ ठाकुरलाई हटाएपछि विवाद सुरु भएको हो। 

पार्टीभित्रको विवादका कारण पछिल्लो समय पार्टीमा रहेको गुटगत समीकरण नै परिवर्तन भएको छ। ठाकुरविरुद्ध अध्यक्ष मण्डलका चारजना सदस्य एक ठाउँमा उभिएका छन्। उनको पक्षमा अनिल झा मात्र छन्।

राजेन्द्र महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाउने बेलामा शरदसिंह भण्डारी, महेन्द्र राय यादव र राजकिशोर यादवले साथ दिएका थिए। झा भने ठाकुरको साथमा थिए। अध्यक्ष मण्डलका आफूखुसी गरेको आरोप लगाउँदै ठाकुरलाई अध्यक्ष मण्डलबाट हटाइएको थियो। 

उक्त विषयलाई लिएर ठाकुर नेतृत्वको पूर्वतमलोपाका नेताहरू पार्टी फुटाउने धम्कीका साथ गोप्य भेलामा जुटेको राजपा स्रोतले बताएको छ। ‘केही साथी उग्र हुनुभएको छ’, एक नेताले भने,‘उहाँहरूले पार्टी नै फुटाउने धम्की दिँदै हुनुहुन्छ।’ 

यसरी विवाद सुरु भयो

२०७४ मा मधेसमा आन्दोलन गरिएका ६ राजनीतिक दलले एक हुने घोषणा गरे। ज्येष्ठताका आधारमा तमलोपका अध्यक्ष महन्थ ठाकुरले पार्टी नेतृत्व गर्ने सहमति भयो। तर ६ पार्टीकै अध्यक्षहरू अध्यक्ष बन्ने। त्यसका लागि अध्यक्ष मण्डल बनाइने सहमति भयो। त्यसको संयोजन ठाकुरले गरे। 

सुरुवाती समयदेखि नै राजपामा विवाद भइरहन्थे तर ती विवाद बाहिर आउँदैन थिए। अध्यक्ष मण्डलबाट चलेको भएर पनि होला, राजपाका विवाद सहजै बाहिर नआएका। तर पछिल्लो केही महिनादेखि भने राजपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

विवादको पहिलो विषय थियो पार्टी कार्यालय। राजपा बनेपछि सबै पार्टीले आफ्नो कार्यालय हटाए। तर तमलोपाले भने बिजुली बजारमा रहेको कार्यालयलाई निरन्तरता दियो। त्यहाँ ठाकुर निकटका नेता भेला हुन्थे। यो विषयमा राजपाका अन्य नेताहरूले असन्तुष्टि जनाउँदै आएका थिए। तर ठाकुरले भने कार्यालय बन्द गर्ने आश्वासन दिइरहन्थे। 

तर पछिल्ला केही घटनापछि ठाकुरलाई संयोजकबाटै हटाइयो। हुन त ठाकुरको कार्याकाल दुई महिनाको मात्र थियो। चक्रीय प्रणालीअनुसार पार्टी चलाउने सहमतिअनुसार उनी दुई महिनाका लागि सुरुको संयोजक भएका थिए। तर उनले नेताहरूबीचको आन्तरिक सहमतिका आधारमा करिब ढेड वर्ष संयोजक भएर पार्टी चलाए। पार्टी संसदीय दलमा पनि उनी नै छन्। 

राजपाभित्र गत वर्षदेखि नै विवाद थियो। यसअघि गत वर्ष भएको निर्वाचनमा आफूखुसी टिकट वितरण गरेको भन्दै विवाद आएको थियो। निर्वाचनमा ठाकुरले आफू निकटका उम्मेदवारलाई पैसा बाँडेको उनीप्रति आरोप लागेको राजपाका एक नेताले बताए। अध्यक्ष मण्डलका संयोजक ठाकुरले असारमा आफूखुसी पदाधिकारी मनोनीत गरेको भन्दै राजेन्द्र महतो समूहले असन्तुष्टि जनाउँदै आएको थियो। 

ठाकुरले असारयता मात्र सय बढी पदाधिकारी नियुक्त गरेको भन्दै राजपाभित्र विवादले उत्कर्षको रूप लिएको एक नेताले बताए। पुरूषोतम झा र शशिकपुर मियाँलाई महामन्त्रीमा मनोनीत गरेपछि झनै विवाद बढ्दै गएको थियो। उनीहरू अहिले पनि संघीय समाजवादी फोरममै रहेको एक नेता बताउँछन्। पदाधिकारीमा उनले सल्लाह नै नगरी मनोनीत गरेको उनको भनाइ छ। 

ठाकुरले प्रदेश २ मा सरकार बनाउँदा पुरानो तमलोपाका नेताहरूलाई मात्र प्राथमिकता दिइएको राजपा नेताहरूको आरोप छ। ‘प्रदेश २ मा जो संसदीय दलको नेता हुन्छ। त्यो मन्त्री बन्न पाउँदैन भन्ने हाम्रो सहमति थियो’, अध्यक्ष मण्डलका एक सदस्यले भने, ‘तर सहमतिविपरीत उहाँले पुरानो तमलोपाका जितेन्द्र सोनाललाई मन्त्री र संसदीय दलको नेता दुवै बनाइयो।’ यस्तै, अन्य नेताहरूको भागबन्डामा परेको पनि आफैँ राखेको उनीहरूको आरोप छ। 

पार्टीलाई तमलोपा बनाउन खोजेको भन्दै उनलाई अध्यक्ष मण्डलको संयोकजबाट हटाइएको अध्यक्ष मण्डलका एक सदस्यले जानकारी दिए। ‘उहाँ सिनियर नेता हो। तर पछिल्लो समय आफूखुसी गरेर राजपालाई तमलोपा बनाउन खोज्नुभयो’, उनले भने, ‘त्यसकारण हाम्रो विधानको धारा १६ को उपधारा ५ बमोजिम चक्रीय प्रणालीअनुसार अध्यक्ष परिवर्तन गरिएको हो। महाधिवेशन अघि नगर्ने भनेका थियौँ तर बाध्य भइयो।’

ठाकुरले मंसिर ७ गतेबाट मेची-महाकाली अभियान सुरु गर्न लागेका थिए। तर अध्यक्ष मण्डलको संयोजकबाट हटाइएपछि उक्त कार्यक्रम उनले रद्द गरेका हुन्। यस्तै, पार्टीले सुरु गरेको सदस्यता वितरणमा पनि आफूखुसी गरेको उनीमाथि आरोप छ। ‘हाम्रो जिल्ला तहमा पनि अध्यक्ष मण्डल छ। त्यहाँ सदस्य वितरणका लागि उहाँले आफू निकटकालाई संयोजक बनाउने काम गर्नुभयो’, राजपाका एक नेताले भने,‘सदस्यता वितरण पनि आफू निकटकालाई मात्र वितरण गरियो।’
ठाकुरले पार्टी फुटाउने योजना बनाएको ती नेताको आरोप छ। 

‘समझदारीविपरीत आक्रमण गरियो’

रारपाको अध्यक्ष मण्डलमा ६ जना सदस्य छन्। पार्टी एकताका बेलामा उक्त अध्यक्ष मण्डलको संयोजन चक्रीय प्रणालीअनुसार प्रत्येक दुई महिनामा परिवर्तन गर्ने भनिएको थियो। 

तर ठाकुर पुराना र सिनियर भएकाले उनलाई महाधिवेशनसम्म निरन्तरता दिने केही महिनाअघि मात्र सहमति भएको थियो। उनलाई हटाइएपछि उनी निकटका नेताहरूले सझदारीविपरीत हटाइएको आरोप लगाउँदै आएका छन्। 

‘यो निर्णय हतारमा भयो। पूर्वसहमतिअनुसार ठाकुरजीले महाधिवेशनसम्म पार्टी चलाउनुपर्ने थियो’, ठाकुर निकट नेता वृजेसचन्द्र लालले भने,‘ उहाँमाथि बहुमतको नाममा आक्रमण भयो। यो सर्वसम्मत हुने निर्णयलाई हतार गरेर किन बहुमतमा गर्नु?’ 

तमलोपा एकता भएमध्येको ठूलो पार्टी भएकाले संयोजनको जिम्मेवारी ठाकुरलाई नै दिनुपर्ने उनी बताउँछन्। सरकारमा जान हतार भएकाले महतोलाई संयोजक बनाइएको उनको आरोप छ। ‘एकथरी साथीहरूलाई सरकारमा जान हतार भयो’, उनले भने, ‘महन्थ ठाकुरले संविधान संशोधन नभएसम्म सरकारमा नजाने अडान राखेका कारण उहाँले संयोजकबाट हट्नुपरेको हो।’ महाधिवेनमा अर्को समूहले हार्ने डरले अध्यक्ष मण्डलबाट ठाकुरलाई हटाइएको उनको आरोप छ। 

यसैबीच ठाकुर निकटका नेताहरूले सोमबार बिहान ११ बजे भेला बोलाएका छन्। तमलोपको पुरानो कार्यालय बिजुली बजारमा उनीहरूले भेला बोलाएको स्रोतले बताएको छ। यद्यपि ठाकुर भने त्यो भेलामा जाँदैनन्। तर उक्त भेलाका बारेमा भने वृजेस चन्द्रलालले बोल्न चाहेनन्। ‘भेला बोलाइएको छैन। साथीहरू नियमित जस्तो भेला भएर छलफल गरिरहनुहुन्छ। भोलि पनि त्यही हो।’

बैठकमा के गर्ने अन्योल

राजपाले सोमबार १ बजे अध्यक्ष मण्डलको बैठक बोलाएको छ। उक्त बैठक सरकारलाई दिएको समर्थनलाई के गर्ने भन्ने विषयमा निर्णय लिन बोलाएको हो। तर पार्टीभित्र भद्रगोलको स्थिति आएपछि भोलिको बैठकमा के गर्ने भन्ने राजपाका नेताहरू नै अन्योल रहेको बताइएको छ। 

यसअघि अध्यक्ष मण्डलका संयोजक ठाकुरले आइतबार बैठक बोलाएका थिए। तर पार्टीभित्रको भद्रगोल अवस्थाका कारण उनले बैठक सारेको स्रोतले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.