'राम्रो छिमेकी पुरस्कार हो, खराब छिमेकी अभिसाप हो'- हेसियड
संवैधानिक हैसियतमा झण्डै दुई दशकपछि भएको भारतीय राष्ट्रपतिको नेपालमा भएको राजकीय भ्रमणप्रति कौतुहल, चासो र जिज्ञासा हुनु स्वाभाविक हो। अझ त्यसमा पनि आफ्नो संविधान आफैँले निर्माण गरेवापत पुरस्कार स्वरूप छिमेकीले दिएको उपहारपछिको पहिलो उच्चस्तरीय भ्रमण भएकोले पनि यसले अर्थ राख्दछ ।
भ्रमणकै प्रसङ्ग उप्काउँदा यति भन्नु अन्यथा नहोला- हाम्रा बोलाइदेओस् भन्ने आकांक्षा पाल्छन्। वास्ता भएन भने दूत खटाउँछन्, त्यताबाट पनि पार चलेन भने हैसियत बिर्सेर आफैँ बिन्ती भाउमा उत्रन्छन्- प्रभु, यो सम्माननीय/माननीय पदवी यहाँकै पुरस्कार हो। अब यसो एक पटक हजुरको घरमा दर्शन पाए आफूलाई धन्य ठान्ने थिएँ। कचकच सुन्नुभन्दा लु आइज न त ! भन्ने आशयको जवाफ नपाउँदै ताहुरमाहुर सुरु हन्छ। बिना तयारी लावालस्करसहित बाख्राको पाठोझैँ बर्लक्क बड्कन्छन्। पाउमा पर्दै उल्टो घाटाको व्यापारमा सही धस्काउँछन् अनि भन्छन्- सम्बन्ध नयाँ उचाइमा पुगेको छ। भ्रमण उपलब्धिमूलक एवम् ऐतिहासिक रह्यो! उताकालाई खासै चासो छैन, तलकाबाटै यतै बसेर चाहेजसरी यताकालाई नचाएकै छन्। हाम्रालाई खसखस हुन्छ, थाम्नै सक्दैनन्- महामहिम्, आइबक्स्योस् न, कस्तो न्यास्रो लागेको छ! आउनेलाई न वास्ता छ, न रहर, न जाँगर नै! पात्र उही, प्रवृत्ति उही, उपलब्धिचाहिँ ऐतिहासिक!
कार्तिक १७ बाट सुरु भई १९ गते मैजारो भएको भारतीय राष्ट्रपतिको नेपाल भ्रमण अब समीक्षाको मोडमा आइपुगेको छ। नेपाल सरकारले राष्ट्रपतिलाई स्वागत गर्यो कि चाकडी, सम्मान गर्यो कि चाप्लुसी! के अर्थमा यो भ्रमण फलदायी रह्यो? हिजो नाकाबन्दी किन? भविष्य यस्ता क्रूर, अमानवीय र अपमानजनक मनोवृत्तिबाट टाढा रहन्छ कि रहँदैन्? आलङ्कारिक हैसियतमै भए पनि केही जब्बर प्रश्नहरू तेर्सिएका छन्।
अतिथि देवो भवः! यो नेपाली संस्कार हो। कि बोलाउनै हुँदैन, निमन्त्रणा गरेपछि उसलाई अपमानले डाम्नु हुँदैन। सम्मान गर्नुपर्छ, स्वागत गर्नुपर्छ तर बिनम्रता र चाप्लुसी, सम्मान र चाकडीबीचको अन्तरलाई खुटयाउन नसक्नु वा जानाजान स्वागत र सम्मानको इज्जत नराख्नुचाहिँ दुर्भाग्यपूर्ण नै हो।
सम्मान कि चाकडी? छिमेकी राष्ट्रका राष्ट्राध्यक्ष आउँदा सार्वजनिक बिदा दिइनेछ। सोहीअनुरूप १७ गते विदा! सरकारी फताहा जारी भयो। सरकारको दिनप्रतिदिनको कोल्ट्याइलाई हेर्दा सरकार दक्षिण ढल्केको बात नलागोस् भनेर चोखिन चीनको नाम पनि जोडिएको हो भनी अनुमान लगाउनु स्वाभाविक र जायज हो। सतही रूपमा हेर्दा नाथे एक दिनको बिदा न हो, के नै फरक पर्छ र! तर यो कूटनीतिक मर्यादासँग जोडिएको सम्वेदनशील सवाल हो। सरकारसँग पनि यसको कारण खुलाउन सक्ने ल्याकत छैन। प्रधानमन्त्रीले आफ्नै मुखारवृन्दबाट लुरे जवाफ खुस्काइसकेका छन्- राष्ट्रपतिदेखि सबैले जोडबल गरेपछि बिदा दिइएको हो, तर प्रहार किन ममाथि मात्रै? सुरक्षाको सवाललाई लिएर बिदाको नाटक रचिएको हो भने १७ गते सुरक्षा चुस्तदुरुस्त नहुने अनि १८ र १९ गतेचाहिँ हुने! बिदा दिन रहरै थियो भने निश्चित वा प्रभावित क्षेत्रभन्दा बाहिर बिदाको अर्थ के? हुनत, सरकारका प्रवक्ताले मुख खोलिसकेका छन्- महामहिमको सवारी भएको थियो भनी सबैले थाहा पाऊन् भनी बिदा दिइएको हो। बुझ्नेलाई इशारा काफी छ। सामाजिक सञ्जाल आलोचनाले भरिएका छन्। यसलाई दुई कोणबाट हेर्नुपर्छ, पहिलो- अनावश्यक सरकारी चाकडी शैलीमाथि प्रहार! दोस्रो- भारतीय ठूल्दाइ प्रवृत्ति, विशेषतः नाकाबन्दीको आलो घाउमाथिको जवाफ!
यसको सिधासिधी सन्देश हो- सरकार र उसका दलहरू छिमेकीको जीहजुरीमा विश्वास गर्छन्, जुन कुरा नागरिकको चाहना थिएन, होइन र हुन पनि सम्भव छैन। त्यसमाथि महामहिममाथि जुन सत्कार शैली अवलम्बन गरियो, त्यो बिल्कुल लम्पसार प्रवृत्तिको थियो। मात्र केही समयको अन्तराल हो, यही माटोमा भारतीय प्रधानमन्त्री मोदीको आगमन हुँदा बाटोबाटोमा उत्रँदै नागरिकसँग हात मिलाएको र उनीप्रति अकल्पनीय स्वागतको माहोल उर्लिएको थियो। हात मिलाएको दिन अनि चाडबाडमा समेत असल छिमेकीको नाताले दिएको कोशेली नाकाबन्दी! काँधमा सिलिण्डर हालेर 'साहुजी ग्याँस छ?' भनी गरेको अनुनय-विनयको घडीमा उसको मनमा खेलेका भावनाहरू! त्यसपछि संवैधानिक हैसियतका राष्ट्रपतिको सवारी हुँदा यत्रो सुरक्षाको यत्रो अन्तर किन? हवाई मैदान आफैँमा अस्तव्यस्त, सडकमा एम्बुलेन्ससम्म निषेध! पसल बन्द, सडक किनारा खाली! यसको तात्पर्य हो-जनताको हार्दिकता न्यून, शासकको उच्च!
स्वागत र बिदाइको दृष्यले आफैँलाई गिज्याइरहेको थियो। ठीकै छ, माथिल्लो तहबाटै स्वागत होस् वा बिदाइ, '...बस्नेलाई भन्दा हेर्नेलाई लाज!' राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू सोरपटार सबै किन गुडुल्किनु? भूगोल सानो होला, जनसंख्या कम होला, अर्थतन्त्र र विकासमा पछाडि होला, तर देवकोटाले जुद्ध शमशेरलाई जवाफ फर्काएझैँ 'म काठो-कन्दने होइन तेरो, झुपडी नै भए पनि राजा हो!' विडम्बना, हाम्रा पराईदेउहरूलाई सार्वभौम सम्पन्न देश हो, हामी नेपाली नागरिकका प्रतिनिधि हौँ भन्ने सामान्य हेक्कासम्म भएन। हुनत माग्नेको भन्दा पनि दिनेको कुराले अर्थ राख्दछ। भोलि उता लाग्दा यही प्रकृतिको बिदा, स्वागत उताकाबाट कल्पना गर्न सकिन्छ?
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणताका भनेका थिए- अब नेपाल-भारतबीच चिसिएको सम्बन्ध तातिसक्यो तर भारतले नि:शर्त संविधानको स्वागत गर्न आनाकानी गर्दा संयुक्त वक्तव्यले गोलखाडी खाएको थियो। उतैको धेरथोर दया र निगाहका प्रधानमन्त्री पुष्पकमल दहालको कथन थियो- मेरो भ्रमणले सम्बन्धमा ऐतिहासिक उचाइ थपेको छ। जो-जो आउँछन्, जान्छन्, हरेकले सम्बन्ध सुधारेकै गफ दिन्छन् तर घाउ जस्ताको तस्तै हुन्छ। बिग्रिएको कोही भन्दैन तर आंशकाको बादल कहिल्यै मडारिन छोड्दैन। अहिलेको भ्रमणलाई पनि उपलब्धीमूलक/सफल भनी महामहिम उता आफ्नो भूमिमा झर्न नपाउँदै यता सरकारले गीत गाउन भ्याइसकेको छ। लामो समयको अन्तराललाई पुरताल गर्नुबाहेक तत्काल यसको परिणाम देखिएको छैन। भित्रभित्र खिचडी पाकेको वा पकाइएको छ भने उनै जानुन्, समयले यी कुराको हिसाब गर्ला नै! सत्ताशीनवालाको मानसिकता यी हाम्रा हुन् भन्नेमा छ भने जनमतको ठूलो हिस्सा छिमेकी नै भए पनि हित गर्दैन भन्ने मनोविज्ञान पालेर बसेका छन्। यसमा सत्यको ठूलो अंश छ।
दुई-चारवटा धर्मशाला बनाइदिने आश्वासन, फोटो सेसन, रात्री भोज, नागरिकलाई सास्ती आदिलाई महान् उपलब्धि मान्ने हो भने अर्कै कुरा हो। झिनामसिना विषयलाई छोडी होलसेलमा हिसाब-किताब गर्ने हो भने मुखर्जीका यी सन्देश बुझ्न कुनै कठिनाइ छैन। पहिलो हो- नेपाल-भारत सम्बन्ध। साँस्कृतिक र ऐतिहासिक पक्षबाट मात्र होइन, खुला सीमाको कारण पनि दुई देशबीचको सम्बन्ध विशेष छ, जसको तुलना अरूसँग हुँदैन, अतुलनीय प्रकृतिको छ। यसको घुमाउरो अर्थ हो-उत्तरको छिमेकी नाम मात्रको हो। उसले चाहेर पनि विशेष छिमेकीको नाता गाँस्न सम्भव छैन। साथै नेपाली नेतृत्वलाई उतातिर ढल्कनु नाकाबन्दी र ओली सरकारको संस्करित रूप जन्माउनु हो भन्ने पूर्व शङ्केत पनि हो। दोस्रो हो-संविधानको कार्यान्वयन। संविधान निर्माणमा आफ्नो हिस्सा नपाएर रन्थनिएको भारत अहिले पनि निहुँ खोजिरहेको छ। संविधान जारी हुनु आफैँमा उपलब्धि भए पनि कार्यान्वयन त्यति सहज छैन। कुरा उही हो- हिजो भारतको संस्थापन पक्षले भनेको 'तेरा बाउको टाउको' हो। आज मुखर्जीले भनेको 'हजुरका पिताजीको शिर' हो। फरक यति हो। कार्यान्वयन पक्षमा गाँठागुठी छन्, पर्छन्, त्यसतर्फ सचेत रहनुपर्छ भन्ने तर्क स्वाभाविक जस्तो देखिए पनि भारतका मुद्दालाई छोडेर अगाडि बढ्न सम्भव छैन भन्ने नै हो। तेस्रो हो- १२ बुँदे सम्झौता नेपालको मार्गचित्र हो। गणतन्त्र, धर्म-निरपेक्षता, संघीयताको कार्यान्वयनमा नै नेपालको भविष्य छ। धर्मको सवालमा भारतीय संस्थापन पक्षका कतिपय नेताको भन्दा उनको यो लवज फरक देखिन्छ तर भित्री कुरो उही हो- १२ बुँदेका रचनाकार उही मुखर्जी हुन्। उनले त्यसको उन्नति भएको देख्नु स्वाभाविक हो।
यी यसपटक महामहिम मुखर्जीले नेपाली नेतृत्वलाई पढाएका पाठ हुन्, जुन हिजो पनि पढाइएको थियो। भाषा, शैली, तरिका फरक थियो होला, भाव उही छ, निस्कने परिणाम उही हो तैपनि भनिँदैछ- सम्बन्धले नयाँ उचाइ लियो। नाकाबन्दी किन, उनका मात्र होइन, जोकोहीसँग जवाफ दिन सक्ने नैतिक र कानुनी साहस थिएन, छैन र हुँदैन पनि! सायद अनुत्तरित प्रश्नमध्ये यो पनि एक हुनेछ।
न कोही कसैको शत्रु हुन्छ, न मित्र नै। शत्रुता र मित्रता भन्ने कुराको मापन आपसमा गरिने व्यवहारले निर्धारण गर्दछ । शान्त, स्थिर र समृद्ध नेपाल भारतको चाहना ! यही मन्त्रमा उसले एक हातमा बोकेको हरियो घाँस देखाइरहन्छ, हामी पछ्याइरहन्छौँ, ऊ अर्को हातको छुरीले धसिरहन्छ। त्यो बेला हामीलाई 'ऐया, मरेँ नि!' भन्न मनाही छ किनकि विशेष सम्बन्धमा खलल पर्न सक्छ। हामी यही नियतिमा बाँचिरहेका छौँ तर कहिलेसम्म?
अन्त्यमा, गोल्डस्मिथको शब्दमा भन्नुपर्दा- 'जुन मित्रता समानतामा आधारित हुँदैन, त्यस्तो मित्रता सँधै नै घृणामा समाप्त हुन जान्छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।