|

काठमाडौं : कमल पोखरी निर्माणका लागि ढाँचा तयार भएको छ। यसै सन्दर्भमा छलफल गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अब महानगरपालिकाले खन्ने र पुर्ने काममा मात्र नभई पूर्वाधार विकास र निर्माणमा ध्यान दिने बताएका छन्। कमल पोखरी निर्माणका लागि शहरी योजना आयोगले तयार पारेको प्रस्तावित ढाँचाका बारेमा छलफल गर्दै मेयर शाक्यले त्यस्तो बताए।

मेयर शाक्यले २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको  स्वरुप अब फेरिने दाबी गरे। शहरी योजना आयोगमै सरोकारवालासँग छलफल गर्दै मेयर शाक्यले काठमाडौंको मुटुमा अवस्थित उक्त पोखरी मात्र नभई महानगर भित्र रहेका अन्य पोखरी र पार्कलाई पनि व्यवस्थित र हरियालीयुक्त बनाउने बताए।

काठमाडौं क्षेत्र नम्बर चारबाट निर्वाचित संघीय सांसद गगन थापा, प्रदेश सांसद नरोत्तम वैद्यलगायतसँगको छलफलमा मेयर शाक्यले महानगरपालिका सहरी सौन्दर्य बढाउने अभियानमा जुटेको पनि बताए।

कमल पोखरीको अस्तित्व जोगाउँदै निर्माण गर्ने मेयर शाक्यको भनाइ थियो। योजना पास भएर काम थालेको एक वर्ष भित्रमा पोखरी निर्माणको सम्पूर्ण काम सम्पन्न हुने भन्दै सबैलाई विकासमा हालेमालो गरेर अघि बढ्न उनले आग्रह गरे।

सहमतिका साथ काम अघि बढ्ने हो भने ०७६ सालको छठसम्ममा कमल पोखरी निर्माणको काम सम्पन्न हुने शाक्यले दावी गरे। छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउनका लागिसमेत सहज हुने गरी पोखरी निर्माणको ढाँचा तयार पारिएको उनको बताए।

मेयर शाक्यले पार्क, पोखरी सबै धर्म र आस्था भएकाहरुको साझा हुने भन्दै सो पोखरीको अस्तित्व जोगाउने गरी निर्माण गर्ने पनि जानकारी दिए। 'हामी कमल पोखरीलाई छठ पोखरी वा रानीपोखरीको दाई–भाई पोखरी बनाउन खोजिरहेका छैनौँ,' मेयर शाक्यले भने 'हामी कमल पोखरीलाई कमल पोखरी नै बनाउन चाहन्छौँ।' अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने पनि शाक्यले बताए।

बृद्धबृद्धालाई समेत ध्यानमा राखेर निर्माणको ढाँचा तयार सो पोखरीमा रात्रिकालीन बत्तीको समेत व्यवस्था गरिएको सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले जानकारी दिए। सो पोखरी निर्माण सम्पन्न भएपछि पोखरी वरीपरी फ्रि वाइफाईको समेत व्यवस्था गर्ने महानगरको तयारी छ।

संघीय सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गगन थापाले आफू निर्वाचित भएको क्षेत्रमा महानगरपालिकाले राम्रो योजना ल्याएको भन्दै योजना सफल बनाउन आफू लागि पर्ने बताए। 'नगर प्रमुखलाई सबै भन्दा पहिला धन्यवाद,' थापाले भने 'निकै मेहनतका साथ काम गर्नुभएको रहेछ। मलाई एकदम मन पर्यो। हामी महानगरपालिकासँग मिलेर काम गर्न तयार छौँ। अर्को छठसम्ममा काम सम्पन्न गर्नेगरी योजनालाई अघि बढाऔँ।'

सांसद थापाले कमल पोखरीको किनारामा रहेको प्रहरी कार्यालय स्थानान्तरण गर्न पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गरे। मस्त्य विकास केन्द्रबाट पोखरीको स्वामित्व निक्र्यौल गर्नेलगायतका कुरामा पनि पहल गर्नुपर्ने उनको भनाई थियो। 'योजना राम्रो बनेको छ। कमल पोखरी विकास समाजसँग पनि छालफल गरौँ, त्यहाँका क्लवका साथीहरुसँग पनि सहकार्य गरेर अघि बढौँ,' थापाले भने 'यो पोखरी कला र संस्कृतिलाई जोड्ने खालको होस।'

कमल पोखरी संरक्षण योजनाबारे जानकारी दिँदै सदस्य सविच बस्नेतले भने, 'कमलपोखरी  बास्तुशास्त्रमा आधारित भएर निर्माण हुने छ।'  पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिने, पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गर्ने, बास्तुमूर्ति स्थापना गर्ने लगायतको ढाँचा तयार पारेको बस्नेतले जानकारी दिए। पोखरी निर्माणका लागि सबै ढाँचा तयारी भए पनि पानीको सतह र निकासका बारेमा अझै समस्या भएको पनि उनले बताए।

प्रदेश सांसद नरोत्तम वैद्यले पोखरीको डिलमा राजनीतिक दलका लागि भाषण गर्ने छुट्टै ठाउँको व्यवस्था गर्नु पर्ने सुझाव दिए। हरियाली व्यवस्थापन गर्न कठिन हुने भन्दै त्यसमा बढी जोड नदिन उनको सुझाव थियो। छलफलमा स्थानीय क्लबका अध्यक्षलगायतले पनि पोखरी निर्माणका लागि आफूहरु बाधक नबन्ने बताएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.