|

उदयपुर : ताप्ली गाँउपालिका–१ ओख्लेका सुन्तला किसान इन्द्रबहादुर शाही यस पटक दंग छन्। आफूले उत्पादन गरेको सुन्तला ‘ग्रेडिङ’ र ‘प्याकिङ’ गरी पहिलो पटक बजार पठाउँदा शाही दंग परेका हुन्। ‘किसानले उत्पादन गरेको फलफूल पनि ब्राण्ड बन्दो रहेछ,’ उनले भने, ‘अब ग्रेडिङसहित लेबलिङ गरेको सुन्तलामा कसैले पनि गुणस्तरमा खोट नलगाउने भएको छ।’ सुन्तला खेतीबाट वार्षिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका शाहीले आगामी वर्षमा ६ देखि ८ लाख रुपैयाँ आम्दानी गर्ने गरी लागिपरेका छन्।

यस वर्षदेखि उदयपुरमा उत्पादन हुने सुन्तलालाई ब्राण्डको रुपमा विकास गरिएको छ। जसका कारण सुन्तलाले राम्रो मूल्य पाउन थालेको किसानको भनाइ छ। तर, ग्रेडिङ गरिएका ‘सी’ ग्रेडको सुन्तलाले भने उचित मूल्य नपाएको ताप्ली गाँउपालिका–१ का किसान उद्धव हमालको गुनासो छ। ‘ए ग्रेडको सुन्तला प्रतिकिलो ७० रुपैयाँमा बिक्री हुन्छ, बी ग्रेडको ५० छ तर सी ग्रेडको सुन्तलाको खासै मूल्य हुँदैन,’ उनले भने, ‘सी ग्रेडको सुन्तलाका लागि ओरेन्ज जुस सेन्टर तथा ओरेन्ज वाइन बनाउने फ्याक्ट्री चाहियो।’

ग्रेडिङल मर्कामा परेको केही किसानले गुनासो गरे पनि सुन्तला जोन सञ्चालक समितिका अध्यक्ष तोपबहादुर ज्यु ठकुरी भने यो कार्य किसानको हितमा भएको बताउँछन्। ‘ग्रेडिङ गरेर लेबलिङ लगाउनु भनेको सुन्तलाको गुणस्तर कायम गर्नु हो,’ उनले भने, ‘गुणस्तरको आधारमा उत्पादन गर्दा मूल्य पनि भनेजति लिन सजिलो हुने रहेछ।’ ग्रेडिङ गरिएको सुन्तला खरिदका लागि काठमाडौं, विराटनगर, धरान, पोखरालगायतका व्यापारी समेत आउने गरेका छन्।

सुन्तला खेती गर्दै आएका किसानहरुलाई सुन्तला जोनले सहयोग गरिरहेको छ। जसले गर्दा किसानहरु परम्परागत खेतीको अन्त्य गर्दै व्यवसायिक खेतीमा जुटेका छन्। तीन वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन घोषणा भएपछि किसानहरुलाई प्राविधिक र प्रविधिको सहयोग मिलेको सुन्तला जोन सञ्चालक समितिका अध्यक्ष ठकुरी बताउँछन्। ‘परम्परागत रुपमा सुन्तला खेती गर्दै आइरहेका किसानले सुन्तला खेतीका लागि आवश्यक ज्ञान समेत नहुँदा विभिन्न रोगकै कारण घाटा ब्यहोर्नु परेको थियो,’ उनले भने, ‘अहिले सुन्तला खेतीका लागि आवश्यक सहयोग सरकारी अनुदानमा पाउँदै आएका छन। जसले उत्पादन समेत बढ्दै गएको छ।’

सुन्तला जोनको क्षेत्र बढ्दै

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सञ्चालन गरेको ‘जोन’ले उदयपुरको पश्चिमी क्षेत्रको कटारी नगरपालिका र ताप्ली गाउँपालिकाका सोरुङ छबिसे, ओख्ले, रुपाटार गाविसमा सुन्तला खेती किसानलाई आकर्षित गरेको छ। ५०० हेक्टर क्षेत्रफल बिस्तार गर्ने गरी अहिले सय हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुन थालेको सुन्तला जोनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दीपकराज अधिकारी बताउँछन। ‘यस पटक कति उत्पादन भयो भन्ने तथ्यांक संकलन भइरहेको छ,’ उनले भने, ‘मोटामोटी हिसाव गर्दा सय हेक्टरमा १४ सय मेट्रिक टन उत्पादन भएको अनुमान छ।’

रौतमाई गाँउपालिकाको वडा नं. २, ३, ४, ५, ६ र ८ मासमेत सुन्तला उत्पादन जोन विस्तार गर्न लागेको अधिकृत अधिकारीले बताए। यसैगरी लिम्चुङ गाँउपालिकाकमा पनि क्षेत्र विस्तार गर्न लागिएको छ। ‘सुन्तला उत्पादन हुने हावापानी र किसानको पहिचान गर्दै गएकाले सुन्तला उत्पादन बर्सेनि बढ्दै जाने छ,’ उनले भने, ‘त्यसका लागि जोन सञ्चालक समितिनै लागिपरेको छ।’

उत्पादनमा वृद्धि

दश वर्षका लागि छुट्टै सुन्तलाको जोन परियोजना सञ्चालन सुरु भएपछि उदयपुरमा सुन्तला उत्पादनमा वृद्धि हुँदै गएको छ। कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जोन सञ्चालन हुनुअघि २५२ हेक्टर क्षेत्रफलमा सुन्तल खेती हुँदै आएको थियो। अहिले जोन सञ्चालन भएपछि ३५० हेक्टर क्षेत्रफल पुगेको छ।

ज्ञान केन्द्र उदयपुरका प्रमुख सरोजकान्त अधिकारीका अनुसार यस वर्ष तीन हजार ५६२ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत वर्ष २५५ हेक्टर जमिनमा लगाइएको सुन्तला खेतीबाट तीन हजार मेट्रिक टन उत्पादन भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.