काठमाडौंः कांग्रेसको विधान मस्यौदाका विषयमा शीर्ष नेताहरूले गरेको निर्णय केन्द्रीय समितिले अस्वीकृत गरेको छ। मंगलबार साँझ शीर्ष नेताहरूले कांग्रेसमा दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष र एक प्रवक्ता रहने गरी निर्णय गरेका थिए।
शीर्ष नेताहरुले कोषाध्यक्ष र प्रवक्ता मनोनित हुने र अरु निर्वाचित हुने निर्णय गरेका थिए। तर, केन्द्रीय समितिको बैठकले दुई पदाधीकारी हुने ठाउँमा एक जनालाई समावेशीताको आधारमा मनोनित गर्नुपर्ने माग गरेका छन्।
केन्द्रीय सदस्य विरबहादुर बलायरले समावेशीताका आधारमा मनोनित हुने व्यवस्था नभए आफूहरूले विधान मस्यौदा पास हुन नदिने बताए। उनले यस्तो विचार राखेपछि अरु नेताहरुले पनि उनको विचारमा ऐक्यवद्धता गरेको नेता मिन विश्वकर्माले जानकारी दिए। अहिले केन्द्रीय समिति बैठक स्थगित भएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा विधान मस्यौदा पेश भएको र अहिले महासमिति बैठकको समय भएकाले केन्द्रीय समिति स्थगित भएको बताए। साँझ बस्ने केन्द्रीय समिति बैठकले विधान मस्यौदाका बारेमा छलफल गर्ने उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।