|
३० वर्षअघि वृक्षारोपणको अगुवाइ गर्ने नैनबहादुर शाही

कालिकोट : भनिन्छ, हरियो वन नेपालको धन। अहिले हरियो वन नेपाल धनलाई धेरै ठाउँमा मासिँदै गएको छ। कतै कतै हरियो वन नेपालको धन हैन कि हरियो वन तस्करको धन पनि भन्दै आएका छन्। तर, कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–५ दाहाँ घोडेनाको जनकल्याण सामुदायिक वनले उजाड रहेको पाखामा ३० वर्ष अघि वृक्षारोपण गरेका सल्ला र देवदारका रुखहरुले हरियाली बनाएको छ।

यसरी गरिएको थियो वृक्षारोपण

दाहाँको घोडेना गाउँमा पानीको सधैँ समस्या हुने गाउँमाथिको उजाड डाडाँका कारणले बर्सेनी खडेरी पर्ने सुख्खा भूमिमा परिणत हुँदै गएको थियो। डाँडापाखाहरु उजाड हुँदै गएपछि स्थानीयहरुले रुख राप्ने गाउँलाई हरियाली बनाउने योजना बनाए। तर, गाउँमा रोप्ने रुखहरु कताबाट ल्याउने कसरी रोप्ने त्यो समस्या गाउँलेलाई आयो।

गाउँका अगुवा नैनबहादुर शाही र शिक्षक भत्तबहादुर शाहीले दाताहरुलाई गुर्हान थाले। उनीहरुले बि.स.२०४५ सालमा जनकल्याण सामुदायिक वनको गठन गरे। डेनमार्क सरकारको सहयोगमा ८० हजार सल्ला र देवदारका विरुवाहरु रोपे। त्यसमध्येका करिब ५ हजार विरुवा मात्र अहिले बाच्न सफल भएको तत्कालीन समयका वन जनकल्याण सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नैनबहादुर शाहीले बताए। ‘त्यतिबेला डेनमार्क सरकारले बृक्षारोपणका लागि सल्ला र देवदारका रुखहरु रोप्नलाई सहयोग गरेको थियो।’ उनले भने,‘ती रुखहरुमध्ये अहिले ५ हजार रुख मात्र बाच्न सफल भएका छन्।’

रुख काटेको देख्दा दुख लाग्छ

३० वर्षअघि वृक्षारोपण गरेर अहिले हरियाली जंगल भएको जनकल्याण सामुदायिक वनको जंगलमा कसैले रुख काटेको देख्दा आफूलाई काटेजस्तै लाग्ने गरेको विस २०४५ सालमा वृक्षारोपण गरेका ८० वर्षीया नैनबहादुर शाही बताउँछन्। ‘यो जनकल्याण सामुदायिक वनको जंगलमा कसैले रुख काटेको देख्दा अहिले पनि आफ्नै शीर काटेजस्तो लाग्छ’ उनले भने, ‘यो हरियाली बनाउनका लागि कम्ता दुःख भएको हैन।’

हरियाली भएको जंगलमा कसैले आगो लगाइदिने गरेका कारणले अहिले केही रुखहरु मासिएर थोरै बाँकी रहेको जंगल बचाउनका लागि धेरै मेहेनत गर्नु परेको शिक्षक भक्तबहादुर शाहीले बताए। ‘यो उजाड भूमीलाई हरियाली बनाउनका लागि धेरै मेहेनत गर्नुपरेको थियो।’ उनले भने,‘बर्सेनी बदमासले आगो लगाउने गरेका कारणले रुखहरु मासिँदै गएका छन्।’

घेराबार  र थप वृक्षारोपण गरिँदै

३० वर्षअघि रोपिएका रुखहरु केही आफैँ ढल्न र आगोका कारणले सखाप हुन थालेपछि अहिले त्यसका यूवाहरु थप रुख रोप्ने र वन क्षेत्रलाई घेरवार गर्न थालेका छन्।

भएको हरियाली जंगल मासिदैँ गएको थप रुख नरोपे गाउँको सुन्दरता नै नरहने भएका कारणले अहिले आफूहरुले जंगलको घेरवार र थप बृक्षारोपण गर्न थालेको जनकल्याण सामुदायिक वन समूहका अध्यक्ष मनसिंह शाहीले बताए। ‘पुराना रुखहरु मासिँदै जान थाले।’ उनले भने,‘गाउँलाई थप हरियाली बनाउनका लागि अहिले वृक्षारोपण र वनको घेरवार गर्न थालेका छौं।’

वृक्षारोपण र घेरवारका लागि गैरसरकारी संस्थाहरुले सहयोग गर्ने गरेको, अहिले घेरवार र वृक्षारोपणका लागि हुरुन्डेक संस्थाले सहयोग गरेको मष्टा धवलपुरा हरियाली सामुदायिक संस्थाका अध्यक्ष राजबहादुर शाहीले बताए। ‘अहिले यो ठाउँको वन संरक्षण थप बृक्षारोपणका लागि हुरुन्डेक संस्थाले सहयोग गरेको छ।’ उनले भने,‘घेरवार विरुवा पनि सहयोग गरेको छ।’

थप ८० हजार विरुवा रोपिँदै

सामुदायिक वन क्षेत्रमा अहिले २८ हजार विरुवा रोपिएको र यो वर्ष ५२ हजार विरुवा रोप्ने सामुदायिक वनको तयारी रहेको छ। गत वर्ष सामुदायिक वनले २८ हजार विरुवा रोपेको र यस आर्थिक वर्षमा ५२ हजार विरुवा सामुदायिक वनलाई हस्तारण गर्न लागिएको हुरुन्डेक कालिकोटका कार्यक्रम संयोजक गोपाल कार्कीले बताए। ‘गत वर्ष २८ हजार विरुवा सामुदायि वनलाई हस्तारण गरेका थियौं। यो वर्ष ५२ हजार विरुवा रोप्ने तयारी छ।’ उनले भने,‘सामुदायिक वनको सक्रियता देखेर विरुवा वितरण गरेका हौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.