जनकपुरधाम : माघको जाडो, बाक्लो हुस्सु। चिसो हावासँगै बिहान र बेलुका बढ्ने कठ्याग्रिँदो जाडोले गरिब, तथा विपन्न समुदायको जीवन कष्टकर बनेको छ।
झण्डै ८० वटा गुजुमुज्जु गरेको झुप्राहरूको बस्ती जनकपुरधाम उप–महानगरपालिकाको १ स्थित दलित समुदाय चमार, डोम, मुसहर र दुसाध जातिको बसोबास छ। ओछ्याउने र ओढ्ने केही नभएर थरथर काम्दै गरेका मुसहरहरू पराल ओछ्याएर परालकै सुकुलमा सुत्ने र ओढ्ने गरेका छन्।
पुसको जाडोमा पराल अनि सुकुल ओछ्याएर सुत्ने मुसहर समुदायमा एक घरमा सानो बच्चा च्यापेकी महिलाले भनिन्, ‘घर मे कुछो न है, रात मे पुवारके चटाइ ओढ के सुतै छिय। मुद्दा आब बड जाढ लगै छै, लोक कहैछै सरकार गाउँ गाउँमे अलै त हमरा सभके कहाँ किछो परिवर्तन भेलै ?’ (घरमा केहि छैन, रातमा परवालको सुकुल ओडेर सुत्छौँ, तर अब जाढो बढ्यो, मान्छेहरूले भन्छन्, गाउँ–गाउँमा सरकार आयो तर हामी जहाँ छौँ, त्यही छौँ, केही परिवर्तन भएन।) घरको एक भित्तामा राखेको परालको सुकुल देखाउँदै उनले भनिन्।
यस्तै उप–महानगरपालिका ७ स्थित भ्रमरपुरा चोकमा रहेको जानकीनगर स्थित मुसहर बस्ति मुख्य सडकभन्दा झण्डै ५०० मिटर दूरीमा पर्छ। ‘हामी कसैकहाँ पनि शौचालय छैन। बनाउने पैसा पनि छैन। शौचालय नहुँदा चौरमा जान्छौँ’, रामसखी देवीले भनिन्। उनले यसपटक शौचालय बनाइदिने उमेदवारलाई मात्र भोट दिने वाचा गरेकी थिइन्। यसपालि पनि भोट लगे तर शौचालय बनेन्। ‘शौचालय भए, यो बस्ती फोहोर हुँदैन्थ्यो, दुर्गन्ध पनि फैलिदैनथ्यो। आश्वासन पनि थुप्रैले दिए, भोट दिइयो तर शौचालय कसैले बनाइदिएन’, उनले भनिन्।
‘चुनाव आउँछ जान्छ। हामी गरिबलाई केही हुने होइन। शीत छल्न मुस्किल छ', स्थानीय पुलकित सदाले बाँसको फुस घर देखाउँदै भने, ‘यी हेर्नुहोस् वर्षौदेखि हाम्रो घर यस्तै छ।’ यस्तै थुप्रै पीडा जनकपुरधाम उप–महानगरपालिका ७ जानकी नगरका मुसहरहरुको छ।
विपन्न र दीन–हीन मुसहरहरु जानकी नगरमा बसेको ३० औँ वर्ष भयो। तर, कसैको आँखा परेको छैन। न गतिलो ओत छ न आङ ढाक्ने कपडा नै। काम पाएको दिन चुल्हो बल्छ, नत्र भोकै सुत्न बाध्य छन् उनीहरू। करिब ४० घर परिवार मुसहर समुदायका बालबच्चा विद्यालय समेत जाँदैनन्।
‘पैसा भए पो पठाउनु, विद्यालय पठाउन पैसा लाग्छ। यिनीहरूलाई खुवाउन त पैसा हुँदैन। फेरि विद्यालय पठायो शिक्षक पढाउन पनि आउँदैनन्’ रामसखीदेवी सदाले भनिन्। स्थानीय जानकी निम्न माध्यमिक विद्यालयमा बालबच्चा पढ्न पठाउने गरेको भए पनि शिक्षक पढाउनै नआउने उनको गुनासो छ।
यसरी गरिबी र अभावमा रुमल्लिएका त्यहाँका अधिकांश मुसहरहरूको अवस्था उदेकलाग्दो छ। एकजनाको ९–१० जनासम्म सन्तान छन्। बस्तीका अधिकांश मानिस निरक्षर छन्। पुरुषहरू मदिरा खाएर झगडा गर्ने अधिकांशको समस्या हो।
जाडोमा शीत छल्न मुस्किल हुन्छ। वर्षामा कतिबेला दूधमतीले बाटो बिराउने हो थाहा हुँदैन। ‘दूधमतीको बाढी पसेर हाम्रो घरै भत्काइदियो, नथुनी सदाले रुन्चे अनुहारले भनिन, ‘घर बनाउन सकिएको छैन। यही भत्किएको घर टेको लगाएर बसेका छौँ।’
गत साउनको अन्तिम साता आएको बाढीले बस्ती नै सखाप पारेको भए पनि कसैले राहत उपलब्ध नगराएको उनीहरूको सामुहिक गुनासो थियो। उनीसँगैको विजय सदाको घर पनि टेको लगाएर अड्याएको रहेछ। ‘पैसा छैन, काम नभएकाले खान मुस्किल छ’, विजयको भनाइ थियो।
यस्तै सुक्रत सदाको दुःख यो भन्दा भिन्न छ। बाँसले बारबेर पारेको घरमाथि जसोतसो टायल हालेका थिए। त्यो पनि गत वर्षको वर्षामा आएको बाढीले भत्काइदियो। त्यसमाथि श्रीमती रामसखिल देवीको पत्थरीको अप्रेसन गर्दा दुई धुर जग्गा सकियो। ‘गरिबलाई कसैले पनि हेर्दा रहेनछन्, 'जग्गा बेचेर श्रीमतीको अप्रेसन गरेँ’, उनले विलौना गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।