|

सोलुखुम्बु : माप्यदुधकोशी गाउँपालिकाले पालिकास्तरीय परीक्षा सञ्चालन गर्ने भएको छ। आइतबार बसेको गाउँपालिका शिक्षा समितिको बैठकले पालिका भित्रका कक्षा ५ र ८ का  लागि शैक्षिक सत्र २०७५ को अन्तिम परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

शिक्षा समितिका अध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बसेको बैठकले उक्त परीक्षा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाकी उपप्रमुख जुनिता मगरले जानकारी दिइन्। उक्त परीक्षा सञ्चालनको लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा पाँच सदस्य परीक्षा समितिसमेत गठन गरिएको छ। गठित समितिले परीक्षा मिति र प्रश्‍नपत्रसमेत तयार पार्ने बताइएको छ।

'शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले पालिकाभरी एकैपटक परीक्षा सञ्चालन गर्ने निर्णय गरेका हौ।' उपप्रमुख मगरले भनिन्, 'यसले शिक्षामा एकरूपता ल्याउन सहयोग पुग्ने हाम्रो विश्वास छ।' उनका अनुसार सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदो क्रममा रहेको भन्दै निजी विद्यालयतर्फ अधिकांशको आकर्षण बढेकाले त्यसको न्यूनीकरण गर्ने प्रयासस्वरूप पालिकाले परीक्षा सञ्चालन गर्ने भएको हो। परीक्षामा सहभागी भई उत्कृष्ट अंक ल्याउने तीनजना विद्यार्थीलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ। परीक्षामा सहभागी भई उत्कृष्ट अंक ल्याउने विद्यार्थीले क्रमश नगद रु.१० हजार, रु.८ हजार र रु.६ हजार प्रदान गरिने पनि उपप्रमुख मगरले जानकारी दिइन्।

यस्तै, कक्षा ८ बाट सहभागी विद्यार्थीले ल्याएको उत्कृष्ट अंक, विद्यार्थी संख्या लगाएतलाई मूल्यांकन गरी तीनवटा विद्यालयलाई संस्थागत नगद रु.५० हजार, रु.४० हजार र रु.३० हजार पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ।

विद्यालयमा कार्यरत शिक्षक, विद्यार्थीलाई समेत उत्प्रेरीत गर्ने उदेश्यले पुरस्कार राशिसमेत निर्धारण गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए गाउँपालिकाले सञ्चालन गर्ने परीक्षामा कक्षा ५ को लागि २१ वटा र कक्षा ८ को लागि १३ वटा विद्यालयका करिब ६ सय विद्यार्थीले सहभागीता जनाउने बताइएको छ।यस्तै, आइतबारै बसेको समितिको बैठकले प्राविधिक र व्यवसायीक शिक्षा सञ्चालनको लागि दीर्घकालीन योजना निर्माण गर्नेसमेत निर्णय गरेको छ।

यो शैक्षिक सत्रमा पालिकास्तरीय परीक्षा सञ्चालनको लागि निर्णय गर्ने माप्यदुधकोशी गाउँपालिका जिल्लाकै पहिलो गाउँपालिका बनेको छ। शैक्षिक सत्र २०७४ मा थुलुङदुधकोशी गाउँपालिकाले पहिलोपटक कक्षा ८ को परीक्षा लिएको थियो। तर यो वर्ष भने उक्त गाउँपालिकाले त्यससम्बन्धी कुनै पनि निर्णय गरेको छैन।

शिक्षामा सुधार ल्याउने भन्दै गाउँपालिकाले शिक्षा ऐन पारीत गरेर काम गरीरहेको भएपनि सुधार हुननसकेको अभिभावकले बताउने गरेका छन्। थुलुङदुधकोशी गाउँपालिका ८ का कुलबहादुर राईले सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि गाउँपालिकाले सशक्त कदम चाल्नुपर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.