|

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले कार्यविभाजन गरेको छ। नयाँ शक्ति नेपालको सचिवालय बैठकले विभिन्न समिति बनाउँदै नेताहरुको कार्यविभाज गरेको हो। भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले तीन सहसंयोजक र सात प्रदेश संयोजक चयन गरेको छ।

नयाँ शक्तिको कार्यविभाजनमा एमाओवादी छोडेर नयाँ शक्तिमा लागेका नेताको वर्चश्व छ। सात प्रदेशका संयोजकमध्ये ५ जना एमाओवादीबाट नयाँ शक्तिमा गएका नेताहरु छन्। नयाँ शक्तिले रामचन्द्र झा, महेश कर्माचार्य र दुर्गा सोबलाई सहसंयोजक चयन गरेको छ। सहसंयोजक झा एमाओवादीमा पोलिटब्युरो सदस्य थिए।  

बैठकले एक नम्बर प्रदेशमा पासाङ शेर्पा, दुई नम्बर प्रदेशमा महेन्द्र पासवान, तीन नम्बर प्रदेशमा गंगा श्रेष्ठ र चार नम्बर प्रदेशमा बलावती शर्मालाई संयोजक तोकेको छ। पासवान, श्रेष्ठ र शर्मा एमाओवादीमा नेता थिए। पाँच नम्बर प्रदेशमा सुरेन्द्र चौधरी, ६ नम्बरमा भक्तबहादुर शाह र सात नम्बर प्रदेशमा लीला भण्डारीलाई संयोजक बनाइएको छ। शाह र भण्डारी एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा लागेका थिए।

राजनीतिक समिति संयोजकमा डा. बाबुराम भट्टराई छन् भने सहसंयोजकमा रामचन्द्र झा र महेश कर्मोचा छन्। भट्टराई एमाओवादीमा वरिष्ठ नेता थिए भने झा पोलिटब्युरो सदस्य थिए। 

संगठन विभाग संयोजक देवेन्द्र पौडेल,अन्तर्राष्ट्रिय विभाग संयोजक हिसिला यमी, साँस्कृतिक विभाग संयोजक करिश्मा मानन्धर र पर्यटन विभाग संयोजक अशोक शर्मा छन्। पौडेल र यमी तत्कालीन एमाओवादी स्थायी समितिमा थिए। अशोक शर्मा पनि एमाओवादी निकट थिए। आर्थिक व्यवस्थापन तथा सुशासन विभाग संयोजकको जिम्मेवारी पाएका रामेश्वर खनाल पूर्व अर्थसचिव हुन्। 

पार्टीको संसदीय मामिला विभागको जिम्मेवारी केशव दाहाललाई दिइएको छ। प्रशिक्षण विभागको जिम्मेवारी डम्बर खतिवडालाई दिइएको छ। उनी एमाओवादीबाट नयाँ शक्तिमा आएका हुन्। नीति अध्ययन तथा अनुसन्धान विभागको जिम्मेवारी डा. केशवमान शाक्यलाई दिइएको छ। 

राष्ट्रिय मामिला संयन्त्रमा परशुराम तामाङ, अनुशासन आयोगमा परशुराम खापुङ र राजनीतिक संवाद समितिमा मुमाराम खनाल छन्। परशुराम तामाङ हालै मात्र संघीय जनमुक्ति पार्टीबाट नयाँ शक्तिमा मिसिन आएका हुन्। खनाल पनि पूर्व माओवादी नै हुन्। 

सचिवालय व्यवस्थापन तथा अनुगमन विभागको संयोजकको जिम्मेवारी पाएका वामदेव क्षेत्री पनि पूर्व एमाओवादी नेता हुन्। क्षेत्री संयोजक रहेको विभागको सहसंयोजकमा सविना अर्याल छन्।

त्यसैगरी पार्टीका प्रवक्ता खिमलाल देवकोटालाई सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग संयोजकको जिम्मेवारी दिइएको छ। उनी एमाओवादी पूर्व नेता हुन्। 

सहिद तथा बेपत्ता परिवार, घाइते र अपांग एवं द्वन्द्व प्रभावित परिवार व्यवस्थापन विभाग संयोजक ध्रुव पराजुली, संघीय मामिला तथा स्थानीय विकास विभाग संयोजक रामकुमार शर्मा, महिला विभाग संयोजक कल्पना धमला, युवा विभाग संयोजक देवेन्द्र पराजुली पनि पहिला एमाओवादीमै थिए। पार्टीको खेलकुद विभाग संयोजकमा नारायणराज पाण्डे र सुरक्षा विभाग संयोजकमा गणेश राई चुनिएका छन्।

नयाँ शक्ति नेपालको शिक्षा तथा विज्ञान प्रविधि विभाग संयोजकमा डा. राजेन्द्र केसी, स्वास्थ्य तथा योग साधना विभाग संयोजकमा डा. प्रवीण मिश्र,  जलस्रोत, उर्जा तथा भौतिक पूर्वाधार विभाग संयोजकमा हरिराम कोइराला, गैरसरकारी संघसंस्था संयोजन विभाग संयोजकमा दुर्गा सोव र सहसंयोजक लिली थापा छन्।

कानुन तथा मानवअधिकार विभाग संयोजकमा तत्कालीन एमाओवादी नेता मुक्ति प्रधान, दलित, अल्पसंख्यक तथा समाजकल्याण विभागको संयोजकमा तत्कालीन एमाओवादी नेतृ सुशीला सिर्पाइली चुनिएका छन्। त्यससँगै सदाचार आयोगको जिम्मा नाथुप्रसाद चौधरीलाई दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.