|

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रको कार्यालय समितिको बैठक बुधबार बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेपछि बस्ने बैठकमा संगठनात्मक र समसामयिक राजनीतिका विषयमा छलफल हुने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले थाहा खबरलाइ जानकारी दिइन् । 

बैठकमा पछिल्लो आइतबारको बैठकमा माओवादी केन्द्रका नेता एवम् संगठन समायोजन समितिका संयोजक वर्षमान पुन नेतृत्वको कार्यदलले पेश गरेको प्रतिवेदनमाथि समेत छलफल हुनेछ। कार्यदलले पार्टीको केन्द्रीय समिति १ सय ५१ र प्रदेश कमिटी ९९ जनाको हुनुपर्ने प्रस्ताव गरेको छ।

हाल कायम रहेको १४ सय ९९ जनाको केन्द्रीय समितिलाई आगामी महाधिवेशनबाट घटाउने गरी १ सय ५१ जनाको बनाउने पुनको प्रस्ताव आजको बैठकबाट अनुमोदन हुने उनले जानकारी दिइन् । 

गत ६ जेठमा विभाजित माओवादीबी भएको एकतासँगै शुरुमा ६ सय ९९ जनाको केन्द्रीय समिति निर्माण भएको थियो। त्यसपछि एकाएक त्यसलाई बढाउँदै १ हजार ९९ जनाको केन्द्रीय समिति बनाएका माओवादी केन्द्रले दुई साताअघि मात्रै त्यसलाई बढाउँदै १४ सय ९९ जनाको बनाएको थियो। माओवादी केन्द्रले आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.