|

विराटनगर : पाँचौ साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले विजयी सुरुवात गरेको छ। विराटनगरको शहीद रंगशालमा मंगलबार भएको  खेलमा नेपालले भुटानलाई ३–० गोल अन्तरले पराजित गरेको हो।

सुरुवातबाटै आक्रमक रूपमा मैदान उत्रिएको नेपाली टिमले १३ औँ मिनेटमा अग्रता लिएको थियो। खेलको १३ औँ मिनेटमा मञ्जलीकुमारी योञ्जनले डिबक्स भित्रको दायाँ भागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

दीपा राईले क्रस पास दायाँ भागबाट पहिलो बार च्यापेर मञ्जलीले गोल गर्न सफल भएकी हुन। नेपालले एक गोलको अग्रतालाई तेस्रो मिनेटमा नै दोब्बर पारेको थियो। खेलको १६ औँ मिनेटमा सावित्रा भण्डारीले भुटानको कमजोर डिफेन्सको फाईदा उठाउँदै गोल गरिन। दोस्रो गोल गर्न पनि दीपाले सुन्दर पास निकालेकी थिइन।

तेस्रो गोल गर्न नेपालले ५४ औँ मिनेटमा सम्भव भयो। मञ्जलीको क्रस पासमा कप्तान निरु थापाले पोस्टको गोल गरेकी हुन।

नेपालले भुटानविरुद्व निरन्तर आक्रमण गरे पनि थप गोल गर्न सकेन। नेपालले गोल गर्ने एक दर्जन सुन्दर अवसर चुकाउँदा थप गोल गर्ने अवसरबाट बन्चित भयो।

४१ औँ मिनेटमा सावित्राले वान भर्सेस वानमा गोल गर्न चुकिन्। ४४ औँ मिनेटमा मञ्जलीले डिबक्सभित्रबाट प्रहार गरेको शक्तिशाली प्रहार पोस्ट नजिकैबाट बाहिरियो। पहिलो हाफको ईन्जुरी समयमा सावित्राको क्रसमा अनिता बस्नेतले ट्याप गरेको बल भुटानकी गोलकिपरले मुस्किलले बचाइन। अनिता बस्नेतले ५० औँ मिनटेमा वान भर्सेस वानको प्रहार बाहिरयो।

६७ औँ मिनेटमा सावित्राले डिबक्स नजिकबाट प्रहार भुटानको गोल किपरले पन्ज गरी सानदार रूपमा बचाउ गरिन। खेलको अन्तिम समय ८३ औँ मिनटेमा अनिताको प्रहार पनि बाहिरियो। खेलको सुरुवातदेखि अन्यतसम्म आक्रमक रूपमा नेपाल मैदानमा प्रस्तुत भएको थियो। भुटनाले नेपालतर्फको पोस्टतर्फ एक पटक पनि आक्रमक गर्न सकेन।

भुटानसँगको सहज जितसँगै समुह ‘ए’  मा रहेको नेपालले तीन अंक जोड्न सफल भएको छ। अहिलेसम्म भुटाननले नेपाललाई कुनै पनि खेलमा हराउन सकेको छैन।  भुटानविरुद्वको सहज जितले नेपाल सेमिफाइनलको नजिक पुगेको छ।

समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल चैत २ गते बंगलादेशसँग खेल्नेछ। बुधबारको खेल भारत र माल्दिभ्सबीच हुनेछ।

नेपाली टीमको मुख्य प्रशिक्षक हरि खड्काले खेलाडीहरूले गोल गर्ने थुप्रै अवसर सदुपयोग गर्न नसक्दा थप गोल गर्नबाट बन्चित भएको बताए। ‘भुटानसँगको खेलमा मैले ६ गोल नेपालले गर्ने अपेक्षा राखेको थिएँ,’ खेल सकिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘खेलाडीहरूले अवसरलाई सदुपयोग गर्न नसक्दा सोचजस्तो नतिजा नआएको हो।’ पहिलो खेलमा आक्रमक रूपमा प्रस्तुत भए पनि दोस्रो हाफदेखि खेलाडीहरू थकित भएकोले  थप गोल गर्न नसकेको उनले बताए।

मौसमको कारणले गर्दा पनि दोस्रो हाफदेखि खेलाडीहरूले सोचेजस्तो प्रदर्शन गर्न नसकेको खड्काको भनाइ थियो।

समूह ‘ए’ अन्तर्गत नेपालको दोस्रो खेल बंगलादेशसँग हुनेछ। उक्त खेलमा नयाँ शैली र रणनीतिका साथ प्रस्तुत हुने खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.