काठमाडौं : माछापुच्छ्रे अर्थात् पोखराको सौन्दर्य। पोखरा र माछापुच्छ्रेलाई पर्यायवाचीकै रूपमा बुझ्ने गर्छौं। अझ भनौं न माछापुच्छ्रेलाई हटाइदिने हो भने पोखराको सौन्दर्यमा पनि केही प्रतिशत कमी आउन सक्छ।
त्यही माछापुच्छ्रे हिमालको काखैमा थुप्रै बस्ती छन् जसले पोखराको सौन्दर्यलाई थप बढावा दिँदै आएका छ। सोही माछापुच्छ्रेको काखैमा रहेको एउटा बस्तीको नाम हो घाचोक। घाचोक पुरानो आदिवासी बस्ती हो जहाँ हामीले गुरूङ संस्कार र संस्कृतिको आनन्द लिन सक्छौँ।
मुलुक संघीय संरचनामा गएसँगै गण्डकी प्रदेशको राजधानी पनि हो पोखरा। त्यही सुन्दर पर्यटकीय सहर पोखराको उत्तर दिशामा अवस्थित छ घाचोक गाउँ। माछापुच्छ्रे गाउँपालिका–१ मा पर्ने घाचोकलाई टुसेसमेत भनिन्छ। यही गाउँका स्थानीयले 'माछापुच्छ्रे सामुदायिक अर्ग्यानिक होमस्टे (घरबास)' सञ्चालनमा ल्याएका छन्।
घाचोक पुग्न पोखरा बसपार्कबाट १८ किलोमिटरको यात्रा पार गर्नुपर्छ। सेती नदीको तीरैतीर करिब डेढ घण्टा बस यात्रा गरेपछि माछापुच्छ्रेले नजिकैबाट स्वागत गरिरहेको गाउँ घाचोक पुगिन्छ। घाचोकबाट माछापुच्छ्रे हिमाल हेर्दा यस्तो लाग्छ उफ्रेर एकचोटि छोइदिउँ। दौडेरै पुगौं लाग्ने। त्यही माछापुच्छ्रेको काखमा छ समथर घाचोक टुसे गाउँ। घाचोक माछापुच्छ्रे हिमालको सौन्दर्यसँगै अन्य प्राकृतिक सौन्दर्यले सम्पन्न छ। माथि हिमालको सौन्दर्य, तल जंगल अनि समथर फाँट साँच्चिकै स्वर्गको एक टुक्राझैँ लाग्छ घाचोक।
घाचोक गुरुङ र मगर जातिको सघन बसोबास भएको गाउँ हो। जहाँ सबै जातजातिको बसोबास छ। आदिवासी संस्कार/संस्कृतिक घाचोकको अर्को सौन्दर्य हो। अर्ग्यानिक खाना, मौलिक परम्परा, सांस्कृतिक प्रस्तुति, स्वागतसत्कार घाचोकको विशेष आकर्षण हुन्।
आधुनिक होमस्टे
केही समय अघिदेखि मात्रै यो होमस्टे शुरू भएको हो। वि.सं. २०७५ वैशाखदेखि मात्रै 'माछापुच्छ्रे सामुदायिक अर्ग्यानिक होमस्टे' सञ्चालनमा आएको हो। घाचोकमा एउटा ठूलो गाउँ हो। जहाँ करिब साढे ३ सय घरधुरीको बसोबास रहेको छ। त्यसमध्ये २३ घरधुरीमा मात्र होमस्टे सञ्चालन गरिएको छ।
गाउँ ठूलो भएपनि २३ घरमा मात्रै होमस्टे सञ्चालन गरिएको छ। जहाँ हामीले आफ्नो रूचिअनुसारको घरमा खान र बस्न सक्छौ। माछापुच्छ्रेको काखमा अर्ग्यानिक खानासँगै न्यानो आतिथ्य घाचोकको विशेषता हो।
नजिकै हिमाल भएकोले यहाँ निकै चिसो पनि हुने गर्दछ। चिसोलाई मध्यनजर गर्दै हरेक घरमा तातोचिसो पानीले नुहाउने व्यवस्था समेत गरिएको छ। पाहुनालाई राख्न हरेक घरमा घरबासका निम्ती छुट्टै साना घर निर्माण गरिएका छन् भने ट्वाइलेट/बाथरूमको व्यवस्था गरिएको छ। जहाँ गिजरको व्यवस्था अनिवार्य गरिएको छ। जसले चिसो मौसममा पनि होमस्टे पुग्ने पाहुनाले नुहाउन सक्छन्।
होमस्टे व्यवस्थापन समितिका अध्यक्ष आशकुमार गुरुङ प्राकृतिक रूपमा प्राप्त सौन्दर्यलाई प्रयोग गरी पर्यटन प्रवर्द्धनमा लागेको बताए। स्थानीय स्रोतसाधनलाई सदुपयोग गरी गाउँमै आयआर्जनको व्यवस्था गर्न लागेको उनले बताए। होमस्टे भर्खरै शुरू भएकोले यसको प्रचारप्रसार बिस्तारै हुन थालेको बताए। प्रचारप्रसार बढेपछि पर्यटकहरूको आगमनमा पनि बृद्धि भएको अध्यक्ष गुरूङले बताए।
'भर्जिन माछापुछ्रे'
माछापुच्छ्रे हिमालले हालै मात्र पर्वतारोहणका निम्ति अनुमति प्राप्त गरेको छ। तर अहिलेसम्म यो हिमाल कसैले चढिसकेका छैनन्। माछापुच्छ्रेलाई कुमारी हिमालको रूपमा समेत लिइन्छ। ६ हजार ९ सय ९३ मिटरको माछापुच्छ्रे हिमाललाई यसक्षेत्रका गुरुङ तथा मगर जातिले जातिले परापूर्वकालदेखि भगवान शिवको पवित्र स्थान र प्रतीक मानेर श्रद्धा गर्दै आएको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ बताउँछन्।
यसअघि गुरुङ समुदायले देवता मानेर आरोहणमा रोक लगाएपछि अनुमति दिन बन्द गरिएको माछापुच्छ्रेको आरोहण फेरि पर्यटन विभागसँग सहकार्य गरी खोलिने भएको छ। माछापुच्छ्रे गाउँपालिकाको पहलमा विभागले आरोहण खोल्न अनुमति दिएको हो।
समयअनुसार परम्परा पनि परिवर्तन भएकाले पर्यटन प्रवद्र्धन गर्न आरोहण खुलाउने तयारीमा जुटेको अध्यक्ष गुरुङ बताउछन। माछापुच्छ्रेको पर्वतारोहण खुला भएपछि पाहुनाहरूको आगमन उल्लेख्य बृद्धि हुने स्थानीयको अपेक्षा छ।
यस्तो छ विशेषता
घाचोक होमस्टेमा बस्न प्याकेजको व्यवस्था छ। जहाँ प्रतिघरमा प्रतिदिन २ देखि ३ जना पाहुना बस्न पाउने व्यवस्था छ। जसअनुसार होमस्टे व्यवस्थापन समितिले आएका पाहुनालाई कहाँ पठाउनेर भनेर निर्णय लिन्छ।
त्यसकै आधारमा सबै घरमा पलैपालो पाहुनाहरूलाई बसाइन्छ। पाहुनाहरूले आफ्नो इच्छाअनुसार पनि आफुले रोजेको घरमा बस्न पाउछन्। बस्नका निम्ती छुट्टै घरको व्यवस्था छ। शौचालय/बाथरूम (तातोचिसो पानी), खानेपानी, इन्टरनेट, विद्युतको व्यवस्था होमस्टेमा अनिवार्य छ। उक्त होमस्टेमा एक दिन बसेको प्याकेजमा प्रतिव्यक्ति साढे ८ सय सेवा शुल्क लाग्छ।
एक दिने प्याकेजमा होमस्टेमा पाहुनाहरूलाई उनीहरूको रुचीअनुसार स्वागत कार्यक्रम गरिन्छ। जसअन्तर्गत बेलुका कोदोको लोकल मदिरा पिलाइन्छ। खानासँग मासु, दालभात, दही, दुध, गुन्दुक, तरकारी दिइन्छ। भोलिपल्ट बिहानको खाजासहित पाहुनालाई स्थानीय संस्कृति अनुसार बिदाइ गरिदै आएको छ।
घाचोक पहाडको होमस्टे हो। जहाँ प्राकृतिक सौन्दर्यको भरपुर आनन्द लिन सकिन्छ। होमस्टेको आगनबाटै माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न सकिन्छ भने विभिन्न थरिका लालीगुराँसको जंगल पनि हेर्न पाइन्छ।
यस्तै गाउँको वरिपरिको जंगल क्षेत्रमा विभिन्न ६ प्रजातिका डाँफे, घोरल लगायतका चराचुरुङ्गी, जनावरहरू पाइन्छन्।
स्थानीयबासीले होमस्टेमा आउने पहुनाहरूलाई लक्षित गरेर हरेक दिन बेलुकी स्थानीय परम्परागत सांस्कृतिक कार्यक्रम गर्ने गर्दछन्। जसमा सोरठी, घाटु, छ्याटु, झ्याउरे लगायतका नाचगानहरू प्रदर्शन गरिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।