एउटा लेखक शब्दको माध्यमले खुशी बेच्छ। कुण्ठा बेच्छ। आसुँ बेच्छ। कलाकार अभिनय बेच्छ। गायक गलाको माध्यमले स्वर बेच्छ। शिक्षक ज्ञान बेच्छ। पसले सामान बेच्छ। यसलाई हामी हाम्रो पसिना भन्छौँ। मेहनत भन्छौँ।
हरेक मान्छेले आफ्नो आफ्नो हैसियत अनुसार सिप पैसासँग विनिमय गर्छ। आफ्नो जीवन चलाउनका निम्ति हरेक मान्छे यस्तै यस्तै धन्दामा जिन्दगी अर्पण गर्छ। समाजमा आफ्नो उपस्थित यस्तै केही माध्यमबाट जनाइरहन्छ। प्रतिष्ठाको खेलमा हिँडिरहन्छ। साँच्चै अहिले त्यो ट्राफिक के बेच्दै छ ? मनमा यस्तो अनुत्तरित प्रश्न उब्झियो।
अहिले म दरबारमार्गको कुनै व्यापारिक भवनको तेस्रो तल्लामा छु। म यहाँको सामान्य कारिन्दा हुँ। मेरो अफिसबाट कम्तीमा पचास मिटरको दूरीमा रहेको एक ट्राफिक सिटी बजाउँदैछ।
घटना दरबारमार्गको हो।
दिनहुँ हजारौँ सवारी साधनको आवतजावत, पाँचतारे होटल, ठूला ठूला महलहरू, विमान संस्थानहरू, ट्राभल एजेन्सीहरू बैंकहरू, दोहोरी साँझ, डान्सबार, यसमाथि झन् नेपालको शाही खानदानको चिनारीको रूपमा रहेको नारायणहिटी दरबारले यस क्षेत्रको स्तरवृद्धि गरेको छ। देशी तथा विदेशी पर्यटकको घुमफिरले दरबारमार्ग दिनरात जागा रहन्छ। यो यसको विशेषता हो।
महेन्द्रको शालिक छेउमा सिटी बजाउँदै गरेको ट्राफिक मेरो आँखामा पर्यो। सेतो टोपी, टाई, सफाचट निलो सर्ट र निलो पाइन्ट ऊ कुनै नायक भन्दा कम लाग्दैन। ट्राफिक पनि नायक हो समाजको। (नायक फिल्ममा मात्र कहाँ हुन्छन र!)
सुतेकालाई हरेक दिन सिटीको माध्यम बाट उठाउँछ। जो उठ्न मान्दैनन्, सोच्नुस ऊ सदा सदाका लागि निदाउँछ। मान्छेलाई सकुशल गन्तव्यमा पुर्याउन ऊजस्ता हजारौ ट्राफिकको भूमिका महत्त्वपूर्ण छ।
म उसको क्रियाकलाप हेर्दैछु। ऊ एकोहोरो हातको इसाराले सवारी जामलाई खुलाउने प्रयास गर्दैछ।। उसको ओठमा मुस्कान टुटेको छैन। सायद उसको मुस्कानबाट प्रभावित भएर सरकारले मुस्कानसहितको सेवा भन्ने कार्यक्रम ल्याएको हुँदो हो। उसले सिटी बजाउँदा यस्तो लाग्छ, उसले ध्वनि बेचेको छ। मन न हो, के के सोच्छ सोच्छ। म उसलाई एकोहोरो हेर्छु।
ऊ आफ्नै काममा मस्त छ। हरेक दिन उही घटना दोहोरिरहन्छ। म हाकिमको आँखा छलेर उसलाई हेर्छु। मनमा यस्तो पनि लोभ बढ्छ, उसले पनि हेरिदियोस्। मेरो मनोकामना यति छिट्टै पूरा हुने छाँटकाँट छैन। सबै म जस्ता कामचोर कहाँ हुन्छन् र! ऊ आफ्नो काममा प्रतिबद्ध छ। कसो एकदिन उसको र मेरो आँखा एकआपसमा ठोक्कियो। उसको अनुहारमा कुनै भाव देखा परेन। भाव परिवर्तन हुनलाई त्यहाँ कुनै ठूलो ब्रजपात भएको पनि त हुनुपर्यो। आँखा जुध्दा अनुहारमा कुनै भाव नदेखाए पनि मलाई कुनै गुनासो छैन। नजर जुध्दा यस्तो लाग्यो, मेरो वर्षौँको प्रार्थना पूरा भयो। मानौँ, मैले ठूलै युद्ध जितेँ।
सदा झैँ म अफिस पुगेँ। उहीँ झ्यालबाट उसलाई हेर्न थाले। उसले पनि कसो कसो मलाइ हेर्न थालेको महसुस भयो। केही दिनको नजर हानाहानको उपलब्धि ऊ मलाई देख्दा मुस्कान छोड्न थालेको छ। हामीले हाम्रो भाषा मुस्कान बनायौँ। संसारमा मुस्कानको भाषा पनि एक अलौकिक सृजना हो। हामीले एक अर्कालाई मुस्कानकै भाषाले खबर आदान प्रदान गर्न थालेका थियौँ। शब्दको जरुरत हामीलाई परेन। अझ यसलाई यसरी बुझौँ, हामीले बोल्ने अवसर नै पाएका छैनौँ।
यो कुरालाई यतै कतै मिल्काइदिऊँ।
हामीबीच यति राम्रो दोस्ती भएको थियो कि मानौँ हाम्रो भेट वर्षौँ पुरानो हो। मुस्कानको हानाहानले यति भन्नसक्ने क्षमता मभित्र कसरी आइपुग्यो कुन्नि? ऊ मेरो नयाँ साथी बन्यो। यसरी बुझ्दा गज्जब। ऊ कुन भूगोलबाट आएको हुँदो हो? उसले मेरो बारेमा के सोच्दो हो? उसले गरेको कामप्रति उसकी आमाले के सोच्दी हुन्?
गाउँमा भन्दिहुन्, मेरो छोराले देशको सेवा गर्छ। यसो भन्दा उसकी आमाको शिर ठाडो हुँदो हो। छोरो देशको कुनै भूगोलमा कसैकी आमालाई सहयोग गर्दै होला भनेर सम्झिँदा ग्यास्ट्रिकले थलिएकी आमालाई रोगसँग लड्ने साहस आउँदो हो। आफ्नो छोराप्रति गर्व गर्ने अवसर सबै आमालाई कहाँ मिल्छ र! भर्खर उसले कुनै एक बूढी आमालाई डोहाेर्याएर बाटो कटाएको छ।
फेसबुकमा चर्चा कमाउने अहिलेको युगमा कुनै चर्चाप्रेमी मित्रले ती बुढी आमालाई बाटो कटाउने हो भने फेसबुकमा सेल्फी फोटोसहित लेखिहाल्थ्यो, 'एउटी बूढी आमालाई आफ्नो धर्म सोचेर बाटो कटाएँ। फिलिङ खुशी।'
तर त्यो ट्राफिकले ...?
सायद उसले यो काममा धर्मभन्दा धेरै आफ्नो कर्तव्य सम्झिन्छ। उसै पनि ट्राफिक पेशा सामान्य कहाँ हो र ? साथीहरु गुनासो गर्छन्, 'यी मुला ट्राफिकहरू जनता लुट्न बसेका हुन्छन्।'
पैसाका लागि मरिहत्ते नै गर्ने भए 'इपियस'को जमाना छ नत्र हामी नेपालीहरुका लागि खाडी जिन्दावाद!
देश लुट्ने काम त सेतो सर्टमा कालो कोट लगाउनेहरूले गरेका छन्। ट्राफिकलाई यस्सै दोष! विचरा ट्राफिकहरु! ट्राफिकहरू सेता सर्टधारीले बनाएको नियममा चल्ने मात्र त हुन्। नियम र कानुनलाई अगाँल्दा कहिलेकाहीँ मानवता भन्ने चिज कहीँ कतै चुक्ने सम्भावना रहन्छ ट्राफिक जवानहरूमा।
उसो त अचेल देशको नियम र कानुनबारे मेरो आफ्नै टिप्पणी छ।
नियम जनतालाई अनुशासित, आरामदायी तथा न्यायपूर्ण तरिकाले जीवनयापन गरुन् भनेर बनाइन्छ। तर हाम्रो देशमा ट्राफिक नियम मान्ने कसलाई फुर्सद!जनताहर" पैसा तिर्न कुनै हिच्किचाहट गर्दैनन्। यसकारण ट्राफिक नियम मान्दैनन्।
मान्नु पनि किन, हामी त वीर गोर्खालीको विरासत लिएर बाँचेका छौ। आजसम्म कुनै माइकालालको उपनिवेशमा नबसेका हामीलाई जाबो ट्राफिक नियमको अन्डरमा बस्न नेपालीको धर्मले कहाँ दिन्छ र! देशमा जति ठूलो क्रान्ति होस्, जतिसुकै ठूलो परिवर्तन आए पनि जबसम्म जनताको चेतनाको स्तर उकासिँदैन तबसम्म नियमको औचित्य पैसा कमाउने खेलमा सीमित रहन्छ। चेतना कसैले सिकाएर सिकिने चिज हो जस्तो लाग्दैन। त्यो त अन्तरमनबाट स्वत: प्रस्फुटित हुने कुरा हो।
दुई चार दिन भो त्यो ट्राफिक देखिन छाड्यो। नयाँ ट्राफिकको आगमन भएको छ। ऋतु फेरिन नपाउँदै ट्राफिक फेरियो। दिनहरू यसै बेचैन हुन थाले। कहाँ गयो ऊ?
सोची बसेँ, धेरै दिन उसको अनुपस्थितिपछि एक दिन नयाँ ट्राफिकलाई सोध्न गएँ। 'यो भन्दा अगाडिका ट्राफिक साहेब कहाँ जानु भो?'
'खै हजुर मेरो नयाँ पोस्टिङ हो।' उसले यो भन्दा धेरै बोलेन। मलाई अरु जवाफको आवश्यकता परेन। त्यो दिनदेखि मुस्कानको भाषाले सदा सदाका लागि विश्राम लियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।