कुन वितरण शाखामा कति थान पुस्तक?

|

काठमाडौं : नयाँ शैक्षिक शत्र सुरु हुनै लागेको छ। अघिल्ला वर्षहरूमा शैक्षिक सत्र सुरु हुने बेलादेखि नै विद्यालयमा पुस्तक नपुगेका समाचार आउने गर्थे। समाचारमा शैक्षिक शत्र सुरु हुँदा पनि मुलुकका कुनाकाप्चामा रहेका विद्यालयमा पुस्तक पुर्‍याउने जिम्मेवारी पाएको सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पुस्तक नपुर्‍याएको भनेर आलोचना हुने गरेको थियो।

सरकारले सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १० सम्मका पुस्तक निशुल्क वितरण गर्ने गरेको छ। मुलुकभरका कक्षा १ देखि १० सम्मका सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि पुस्तक छाप्ने जिम्मा भने जनक शिक्षाको हो।

कतिपय अवस्थामा त अन्तिम परीक्षा दिने बेलासम्म पनि विद्यार्थीले नयाँ पाठ्यक्रमको पुस्तक नपाएका समाचार आउने गरेका थिए। यसरी विद्यालयमा पुस्तक पुर्‍याउन नसक्दा जनक शिक्षाले चर्को आलोचना सुन्नुपर्थ्यो। विद्यार्थीले पुस्तकको पाना नै पल्टाउन नपाइ परीक्षाहलमा बस्न बाध्य भइरहेका समाचार छ्यापछ्याप्ती आउने गर्थे।

तर, यसपालि भने जनक शिक्षाले समय नयाँ शैक्षिक शत्र सुरु हुनु पहिले नै मुलुकका विभिन्न वितरण केन्द्रमा पाठ्य पुस्तक पुर्‍याइसकेको बताएको छ। जसको छनक प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १० गते संघीय संसद प्रतिनिधिसभाको तेस्रो अधिवेशन समापनको सम्बोधनमा पनि भेटिन्थ्यो। प्रधानमन्त्रीले यसपालि सरकारको तदारुकताका कारण नै देशभर पुस्तकको अभाव नहुने र हुन नदिने घोषणा गरेका थिए।

प्रधानमन्त्रीले संसदमै यस्तो घोषणा गरिरहँदा यस वर्षको शैक्षिक शत्रका लागि कति पुगे त देशभरका विद्यालयमा पाठ्यपुस्तक? कस्तो छ त जनक शिक्षा सामग्री केन्द्रको तयारी? थाहाखबर देशैभरका विद्यालयका लागि पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी लिएको जनक शिक्षा सामाग्री केन्द्रको भक्तपुर सानोठिमीस्थित कार्यालय पुगेको थियो।

तंग्रियो जनक शिक्षा

पहिलेको तुलनामा अहिले जनक शिक्षा सामग्री केन्द्रमा धेरै सुधार र परिवर्तन आएको छ। छपाई क्षमता बढाउँदै लगेसँगै जनक शिक्षा तंग्रिदै गएको हो। अहिले केन्द्रले दुईवटा छपाई मेसिन सञ्चालन गर्दा दैनिक १ लाख ५० हजार पुस्तक छाप्न सक्ने गरी क्षमता बढाएको जनक शिक्षा उत्पादन विभागका प्रमुख तीलबहादुर अधिकारीले जानकारी दिए। जसको परिणाम, नयाँ शैक्षिक शत्र शुरु हुनुभन्दा पहिले नै अहिले जनक शिक्षाबाट देशभरका विद्यालयमा पुस्तक वितरण हुन्छ। 

जनक शिक्षा सामाग्री केन्द्र उत्पादन विभागका प्रमुख अधिकारीले गत वर्षभन्दा यसवर्ष २३ लाख ४५ हजार ४ सय ३४ थान पाठ्यपुस्तक बढी छापेको बताए। उनले भने ‘पहिलेका वर्षहरूमा पुस्तक नपुग्ने हुन्थ्यो, तर यसवर्ष विद्यार्थीलाई एउटा पनि पुस्तकको कमि नहुने गरी पहिला भन्दा बढी छापेका छौँ।’

अधिकारीका अनुसार यसवर्षको लागि केन्द्रले उत्पादन लक्ष्य दुई करोड १५ लाख ८३ हजार ४०० राखेको थियो। तर, केन्द्रले राखेको लक्ष्यअनुसारको पाठ्यपुस्तक आवश्यक नहुने हुँदा आवश्यकता अनुसार एक करोड ९१ लाख ९० हजार ७० थान पुस्तक छापिसकेको छ।

जनक शिक्षाले नयाँ शैक्षिक सत्रका लागि पुस्तक छापेर मुलकका विभिन्न ठाउँमा स्थापना गरिएका मुख्य वितरण शाखामा पठाउने गर्छ। पुस्तक छापेर भक्तपुरबाटै सबै जिल्लामा पुस्तक वितरण गर्न त कठिन हुने भएकाले देशका विभिन्न सहरमा वितरण शाखा स्थापना गरिएको हो। अधिकारी भन्छन, ‘हामीले छापेका पुस्तकहरू समयमै सबै विद्यालयमा पुर्‍याउन सकौं भनेर नै आठओटा वितरण शाखा सञ्चालन गरेका छौं।’ उनका अनुसार यस वर्ष देशभरका विद्यालयमा पुग्नेगरी केन्द्रले ८८.९१ प्रतिशत पुस्तक छापेर वितरण शाखामा पठाइसकेको छ। यहाँबाट पठाइएका पुस्तकहरूलाई वितरक शाखाले आफ्नो पायक पर्ने जिल्ला, सदरमुकाममा पठाउने गरेको पनि अधिकारीले बताए।

कुन वितरण शाखामा कति पुगे पुस्तक

यस वर्षको शैक्षिक शत्रका लागि जनक शिक्षा सामग्री केन्द्रले एक करोड ९१ लाख ९० हजार ७० थान पुस्तक वितरणका लागि पठाइसकेको छ। केन्द्रकाअनुसार यसवर्षका लागि विराटनगरमा २२ लाख ७२ हजार ३५४ थान पुस्तक पठाइसकेको छ। विराटनगरमा रहेको वितरक शाखाले विराटनगरलगायत त्यहाँ पायक पर्ने अन्य जिल्लाहरूमा पुस्तक पठाउने गर्दछ। अघिल्लो वर्षभन्दा यसवर्ष विराटनगरमा १८ हजार दुई सय आठ थान बढी पुस्तक पठाइएको केन्द्रले जानकारी दिएको छ।

जनक शिक्षा केन्द्रले जनकपुरमा भने अघिल्लो वर्षभन्दा यसवर्ष १० लाख ८८ हजार ७० थान पुस्तक कम पठाएको छ। अघिल्लो शैक्षिक सत्रका लागि केन्द्रले २१ लाख ७८ हजार ८३० थान पुस्तक वितरणका लागि पठाएको थियो तर यसवर्ष भने जम्मा १० लाख ९० हजार ७६० थान मात्र पुस्तक पठाएको जनक शिक्षा सामाग्री केन्द्रले जानकारी दिएको छ।

यसवर्षको शैक्षिक शत्रका लागि भरतपुरमा २१ लाख ४० हजार ३१७ थान पुस्तक पठाइसकेको छ। केन्द्रकाअनुसार अघिल्लो वर्षभन्दा यसवर्ष भरतपुरमा ३ लाख ४५ हजार ३४६ थान पुस्तक बढी पठाइएको छ।

पोखरामा अघिल्लो वर्षको तुलनामा यसवर्ष ३५ हजार ८३३ थान मात्र बढी पुस्तक गएको केन्द्रले बताएको छ। केन्द्रकाअनुसार पोखरामा यसवर्ष १४ लाख ४८ हजार ५७२ थान पुस्तक पठाइएको छ।

जनक शिक्षा सामाग्री केन्द्रले बुटवलमा ११ लाख ६८ हजार ४३८ थान पुस्तक वितरणका लागि पठाएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष बुटवल र आसपासका जिल्लाहरूलाई पुग्नेगरी ६० हजार ५०१ थान पुस्तक बढी पठाएको छ।

यस वर्षका लागि नेपालगञ्जमा २२ लाख ७६ हजार ८१३ थान पुस्तक पठाइएको छ। अघिल्लो शैक्षिक वर्षमा भन्दा यसवर्ष नेपालगञ्जमा ९ लाख ४६ हजार १४२ थान पुस्तक कम पठाइएको छ। अघिल्लो शैक्षिक शत्रमा नेपालगञ्जमा ३२ लाख २२ हजार ९५५ थान पुस्तक पठाइएको थियो।

सुर्खेतमा यस वर्षको शैक्षिक सत्रका लागि ८ लाख ३९ हजार ६६० थान पुस्तक केन्द्रले पठाएको छ। अघिल्ला वर्षहरूमा भने सुर्खेत जिल्लामा वितरक केन्द्र नभएको हुदाँ पठाउने नगरेको उत्पादन विभागका अधिकारीले बताए्। 

धनगढीमा गत वर्षको तुलनामा यसवर्ष ३ लाख १९ हजार ८६१ थान पुस्तक बढी पठाइएको छ। केन्द्रकाको तथ्यांकअनुसार यसवर्ष धनगढीमा २५ लाख ४९ हजार ७९३ थान पुस्तक पुगिसकेको छ। 

केन्द्रका उत्पादन विभाग प्रमुख अधिकारीले छापेका पाठ्यपुस्तकमध्ये १ करोड ३७ लाख ८६ हजार ७०७ थान पाठ्यपुस्तक वितरणका लागि पठाइएको बताए। यसबाहेक ४२ लाख ७२ हजार ७२१ थान पुस्तक केन्द्रीय कार्यालय सानोठिमीमा रहेको र विस्तारै ती पुस्तकको पनि काठमाडौंलगायतका आवश्यक ठाउँमा वितरण हुने उनले बताएका छन।
जनक शिक्षा सामग्री केन्द्रले एक देखि दश कक्षा सम्मको नेपाली माध्यमका विषयहरू छाप्ने गरेको छ।

यसवर्ष अंग्रेजीमा अनुवादित विभिन्न विषयका पुस्तकहरू ११ लाख ३० हजार ६४२ थान छापेको जनक शिक्षा सामाग्री केन्द्रका सूचना अधिकारी चित्र आचार्यले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.