|
फाइल फोटो

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षा सम्पन्न भएको छ। चैत्र १० देखि सुरु भएको परीक्षा छओटा प्रदेशका प्राविधिक तर्फ बाहेकका सबै विषयको परीक्षा सम्पन्न भएको छ।

प्राविधिक तर्फको जाँच भने  चैत्र २१ गते मात्र सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। एसइई दिनका लागि देशभरका चार लाख ७५ हजार विद्यार्थी सहभागी भएका थिए। तर, परीक्षा हुनु अगावै प्रश्नपत्र सार्वजनिक भएपछि प्रदेश २ को परीक्षा स्थगित भयो। प्रदेश २ को परीक्षा केन्द्र बाहेक एक हजार ९६९ केन्द्रबाट चार लाख ५०० विद्यार्थीको परीक्षा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयका सहसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए।

प्रदेश २ बाहेक सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण र मर्यादित रूपबाट सम्पन्न भएको अर्यालको भनाइ छ। उनले भने, ‘प्रदेश २ मा तयारी अवस्थामा बसेका विद्यार्थीको परीक्षा स्थगित हुँदा परीक्षार्थी आन्दोलनमा उत्रिए, तोडफेड गरे, तर अन्य ठाउँको परीक्षा अघिल्ला वर्षजस्तै शान्तिपूर्ण रूपमा भयो।’

एसइई दिने चार लाख ५ हजार विद्यार्थीमध्ये नौ हजार विद्यार्थी प्राविधिक तर्फका रहेका छन। प्राविधिकतर्फको परीक्षा अनिवार्य परीक्षा सँगसँगै सञ्चालन भए पनि यसतर्फको परीक्षा चैत्र २१ गते मात्र सकिने छ।

यसवर्ष प्रदेश अनुसार ६ ओटा अनिवार्य विषयको प्रश्नपत्र फरक–फरक निकालिएको थियो। ०७५ चैत्र १० आइतबार अनिवार्य अंग्रेजी, सोमबार अनिवार्य नेपाली, बुधबार गणित, बिहिबार विज्ञान, शुक्रबार सामाजिक शिक्षा विषयको परीक्षा सम्पन्न भएको थियो।

प्रदेश २ मा २६२ परीक्षा केन्द्रबाट ७० हजार ६८ जना परीक्षार्थी सहभागी थिए। उक्त प्रदेशको स्थगित परीक्षा भने चैत्र २२ देखि २९ सम्ममा सम्पन्न हुने केन्द्रले जनाएको छ।

अन्य प्रदेशको परीक्षा पहिले नै सकिए पनि प्रदेश २ को परीक्षा चैत्र महिना भित्रै सकाउने र नतिजा एकैसाथ प्रकाशन गर्ने परीक्षा नियन्त्रण कार्यालय केन्द्रले तयारी गरेको छ। सबै प्रदेशको परीक्षा सकिएको ३ महिनाभित्रमा नतिजा प्रकाशन गर्ने केन्द्रको दाबी छ।

नतिजा प्रकाशनपछि सी ग्रेडभन्दा तल ग्रेड ल्याउने विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने प्रावधान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.