|

सोलुखुम्बु  :  विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बुपासाङल्हामु गाउँपालिकामा पहिलोपटक गाडी पुगेको छ। सल्लेरीदेखि माप्यदुधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नम्बर एक खरिखोला जोडिएको सडकको  मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे।

माप्यदुधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयक्त लगानीमा खुम्बुको खरिखोलासम्म सडक पुर्‍याइएको गाउँपालिकाले जनाएको छ। उक्त सडकको उद्घाटन गर्दै मुख्य मन्त्रि राईले गाउँपालिका केन्द्र चौरीखर्कसम्म सडक विस्तार गर्नको लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे। पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण रहेको खुम्बु क्षेत्रको पर्यटन प्रवर्द्धनमा चौरीखर्क सम्म सडक आवश्यक रहेको मुख्य मन्त्रि राईको भनाई छ।

सडक पुगेसंगै हवाईमार्ग हुदै लुक्ला बिमानस्थल या सल्लेरी देखी माप्यदुधकोशी हुदै करिब ३ दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुँदा आन्तरीक पर्यटनमा समेत बृद्धि हुने मन्त्रि राईको विश्वास छ। मौसम प्रतिकुल हुँदा पर्यटकले समेत सडक मार्ग प्रयोग गर्ने भएको हुँदा गुणस्तरीय सडक निर्माण गर्नुपर्नेमा उनको जोड छ। तेञ्जिङ हिलारी बिमानस्थलको मौसम प्रतिकुल हुँदा हप्तौ सम्म स्वदेशी तथा बिदेशी पर्यटक लक्लामै अलपत्र अवस्थामा बस्नुपर्ने बाध्यता छ । कतिपयले महङ्गोमा हेलिकप्टर च्याटर गरेर काठमान्डौ जाने भएपनि कतिपय पर्यटक भने हप्तौसम्म कुरेर फर्कने गरेका छन्।

मुख्यमन्त्री राईले बषेर्नी पचासौ हजार स्वदेशी तथा विदेशी पर्यटक भित्राउने स्थानीय तहलाई ‘पर्यटकीय गाउँपालिका’ घोषणा गर्ने र पुरस्कृत गर्ने उद्घोष समेत गरे।कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले सगरमाथा क्षेत्रको सडक निर्माणमा सबैको साझा एजेण्डा बन्नुपर्नेमा  जोड दिए। सडक संचालनमा आएपछि पर्यटकको संख्यामा समेत उल्लेख्य बृद्धि आउनेमा कुनै दुईमत नभएको सांसद राईको भनाई छ।

 गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले नेपाल प्रवेश गर्ने चिनको नाङपाला नाका खोल्न आवश्यक सहयोग गरिदिन प्रदेश सरकारलाई आग्रह गरे। उक्त नाका खोल्न सकेको खण्डमा खुम्बुको बिकासमा थप मद्दत पुग्ने भन्दै मुख्य मन्त्रि राई समक्ष बन्द रहेको नाका खोल्न पहल गरिदिन आग्रह गरे। माप्यदुधकोशीको बासामा रहेको प्रहरी चौकी, माप्यदुधकोशी गाउँपालिकाको सभा हल उद्घटान गरेपछि खरिखोला पुग्नुभएका मुख्य मन्त्रि राईले १५ शैयाको खरिखोला अस्पतालको सिलान्यास गर्नुभयो भने दलित भवनको समेत उद्घाटन गरे।

लुक्लाभन्दा माथि सडक नलैजान पर्यटन व्यवसायीको सुझाव 

 पर्यटकीय हिसाबले देशमै चर्चित एभरेष्ट रिजनमा घुम्ने पर्यटकलाई थप आकर्षित गर्नको लागि खुम्बुपासाङल्हामु गाउँपालिका केन्द्र सहित लुक्ला भन्दा माथि नलैजान पर्यटन व्यवसायीले सुझाव दिएका छन्। सडक मार्गलाई लुक्लाभन्दा माथि लगेमा खुम्बुको पर्यटनलाई यथावत राख्न नसकिने हाई स्प्रीट ट्रेक्स एण्ड एक्सपिडिसन नेपाल प्रा.लि.का सञ्चालक शिबबहादुर बस्नेतले बताए।

उच्च हिमाली क्षेत्रमा जाँदा अधिकांसलाई स्वास्थ्य समस्या समेत देखिने हुँदा एकैपटक हाइटमा जान उपयुक्त नहुने यस क्षेत्रमा आबद्ध व्यक्तिहरुको भनाई छ। २०५५ साल देखी पर्यटन क्षेत्रमा आबद्ध भई आईसफल डक्टरको समेत भुमिका निर्वाह गरिसक्नुभएका याङ्दा शेर्पाले लुक्ला देखी पदमार्ग सुरु हुँदा हाईअल्टिच्युटको हिसाबले उपयुक्त हुने बताउँछन्। एक्कासी उच्च स्थानमा पुग्दा स्वास्थ्य समस्या देखिन्छ।

शेर्पाले भने ' काठमान्डौको तापक्रम र लुक्लाकै तापक्रम धेरै फरक पर्ने हुँदा एक्कासी उच्च क्षेत्रमा पुग्नु राम्रो होईन, हामी सगरमाथा जाने बाटो बनाउने भएपनि लुक्ला बाट एक्कासी सगरमाथा आधारशिविर हेलिकप्टरमा पुग्यो भने टाउँको दुख्ने लगाएतको समस्या देखा पर्छ।'

 त्याहाँको मौसम र पर्यटकको स्वास्थ्यलाई ध्यान दिदा लुक्ला भन्दा माथि सवारी साधनमा पुग्नु उपयुक्त नहुने आरोहीको भनाई छ। हिमश्रृङ्खलाको दृश्यअवलोकनका लागि समेत लुक्ला देखी पैदल यात्रा उपयुक्त हुने हुँदा सडक निर्माणमा सोही अनुसार ध्यान दिन आवश्यक रहेको सगरमाथा आरोही किताब सिंह तामाङको भनाई छ। सगरमाथा क्षेत्रको शाख जोगाउनको लागि राज्यले ध्यान दिनुपर्ने आरोही  तामाङले बताए।

खुम्बुको पर्यटनमा सडकमार्गको सम्बन्ध 

अधिकांस बाह्य पर्यटकको रोजाई सोलुखुम्बुको खुम्बु क्षेत्र पर्छ। जसको मुख्य कारण हो, विश्वको सर्वोच्च शिखर सगरमाथा सहित दर्जनौ हिमाल एवम् हिमश्रङ्खला सहितको यहाँको प्राकृतिक सम्पदा।

बर्षको दुई सिजनमा विभिन्न राष्ट्रका हजारौ नागरिकले यस क्षेत्रको भ्रमण गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ। सगरमाथा राष्ट्रिय निकुञ्ज, नजिकैबाट सगरमाथा सहित यहाँको अन्य मनोरम वातावरणको दृश्य अवलोकनले अधिकांशको ध्यान तान्ने गरेको छ। बिशेष गरि स्प्रीङ र वीनटर सिजनमा पर्यटकको भिड लाग्ने यस क्षेत्रमा मौसम राम्रो हुँदा बाह्रै महिना पर्यटकको चहलपहल हुनेगरेको छ।

खुम्बु क्षेत्रका लागि काठमाडौं  देखी हप्ता दिनको पैदल यात्रा या तेञ्जिङ हिलारी बिमानस्थल दुई वटा माध्यम रहेको छ। अधिकांश पर्यटकको समय छोटो, खुम्बुको भ्रमणका लागि समय केही लामो हुँदा प्रभावकारी हुने हुँदा हवाई मार्ग अधिकांशको रोजाई पर्छ। तर मौसम प्रतिकुल हुँदा हवाई सेवा प्रभावकारी हुदैन।

जतिमात्रमा पर्यटक आउनुपर्ने हो त्यती आउन नसक्नुको मुख्य कारण तत्काल हवाई मार्गको बिकल्प खुम्बु सम्म सडक नपुग्नुनै मानिन्छ। विश्वको सर्वोच्च शिखर सगरमाथा समेत रहेको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक सञ्जाल पुगे संगै यहाँ आउने पर्यटकको संख्यामा दोब्बरले वृद्धि हुने पर्यटन व्यवसायी हिमालयन जोइ एडभेन्चर प्रा.लिका प्रमुख चोलेन्द्र कार्की बताउँछन्।

प्रमुख कार्कीले भने हवाई टिकेट महङ्गो हुनको साथै एक दिन उडान रद्ध भयो भने अन्य बिकल्प छैन, लुक्ला सम्म सडक पुग्यो भने जस्तोसुकै पर्यटक त्याहाँ जानसक्छन्। '

विदेशी पर्यटकको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल देखी लुक्लाको दुईतर्फ भाडा तीन सय ६० अमेरिकन डलर रहेको छ । हिमालयन जोइ एडभेन्चर प्रा.लिका प्रमुख चोलेन्द्र कार्कीले भने 'एकातिर सडक मार्गमा करिब ६० डलरले आउनजान पुग्छ, भने अर्को तीर फिक्स यात्रा भयो।'

 हवाइ उडान सहित खुम्बु भ्रमणमा आउने पर्यटकलाई उडान रद्ध हुँदा कुनै बिकल्प नभएपछि पदप्रदर्शकलाई समेत समस्या हुने गरेको छ।

किताब सिं तामाङले भने 'बिमानस्थलको बिकल्पमा केही पर्यटकले हेलिकप्टर प्रयोग गर्ने भएपनि अति महङ्गो हुने हुँदा पर्यटकलाई समस्या हुन्थ्यो  पदप्रदर्शक एवम्  मौसम प्रतिकुल हुँदा हामी पदप्रदर्शकलाई तनाव, विदेशीको टाईम टु टाईम हुन्छ।'

पटकपटक उडान रद्ध हुँदा काठमाडौंबाट खुम्बुका लागि आउने पर्यटकले भ्रमण क्षेत्र परिवर्तन गर्नेगरेका छन्। पर्यटन व्यवसायी हाई स्प्रीट ट्रेकस एण्ड एक्सपिडिसन नेपाल प्रा.लि.का सञ्चालक शिबबहादुर बस्नेतका अनुसार पर्यटकको योजना अनुसार उडान नहुँदा ट्रेकिङ कम्पनीलाई निक्कै गाह्रो हुने गरेको छ। सडक मार्ग सञ्चालन हुँदा पर्यटक, पथप्रदर्शक र ट्रेकिङ कम्पनीलाई समेत सहज हुने बस्नेतको भनाई छ।

 खुम्बु आउने पर्यटकले अबको एक बर्ष भित्र मौसमकै कारण कुनैपनि समस्या झेल्नु नपर्ने खुम्बुपासाङल्हामु गाउँपालिका उप–प्रमुख टासील्हामु शेर्पा बताउँछिन् । उप–प्रमुख शेर्पाले भनिन् 'यो बर्ष बुक्सा सम्म सडक पुग्छ अर्को बर्ष हामी गाउँपालिका केन्द्र चौरीखर्क पुयाउछौ।'

 बुक्सा सम्म निर्वाधरुपमा यातायात सञ्चालन भएमा पर्यटकले लुक्ला देखी एक क्याम्प थप गरि बुक्सा बस्ने र अर्को दिन बिहान जीप मार्फत सिधै काठमाडौं  पुग्न सक्छन्। तर ट्रायाक खोलिएको सडकको गुणस्तर भने मजबुद्ध हुनुपर्छ। जसको लागि खुम्बुपासाङल्हामु गाउँपालिका, माप्यदुधकोशी र सोलुदुधकुण्ड नगरपालिकाले संयुक्तरुपमा काम गर्नुपर्ने सर्वसाधरणको सुझाव छ।

लुक्लादेखि सगरमाथा आधारशिविर पुग्न ७ क्याम्प 

लुक्ला देखी सगरमाथा आधारशिविर पुग्न पर्यटकको लागि सात क्याम्प हो। लुक्ला बाट सुरु भएको ट्रेकिङ फाग्दीङ, नाम्चे, तेङ्बोचे, दिङबुचे वा फेरुचे, लुबुचे, गोरप्सेप देखी बेशक्याम्प पुग्छ।  सगरमाथा आधार विशिवर बाट अधिकांश पर्यटक फर्कन्छन् भने केही आरोही सगरमाथाको शिखर तर्फ लाग्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.