कपिलवस्तु : जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा शुक्रबार बिहान पत्रकार सम्मेलन गरी अनिता पौडेल हत्याप्रकरणमा संलग्न हत्यारालाई सार्वजनिक गर्यो। हत्यारा को को होलान् भन्ने मृतकका छोराछोरी, आफन्त, नातागोता लगायत पत्रकारलाई हुनेनै भयो, त्यही प्रतिक्षाका बीच प्रहरीले पौडेलका हत्यामा संलग्न मृतकका श्रीमान, भिनाजु र अर्का मुख्य योजनाकारलाई सार्वजनिक गर्यो।
सबै फोटा खिच्न निकै व्यस्त देखिन्थे तर यही बीचमा भर्खर उमेरले १० वर्ष लागेकी बालिकाको आवाज आयो, 'मेरी आमालाई किन मारिस्?' सबैको व्यस्तता एकैछिनलाई रोकियो। वातावरण नै भावुक भयो, सबैको गला अवरुद्ध भयो अनि कतिपयका आँखा रसाए।
बालिकाको आवाज रोदनयुक्त निकै क्रुर सुनिथ्यो, आफ्नै बाबुलाई छोरीको प्रश्न थियो यो। १० वर्षीया छोरीले आफ्नै बाबुलाई यो प्रश्न गरिरहँदा पत्रकार सम्मेलनमा सहभागी अधिकांशको मुहार पीडादायी देखिन्थे। पीडितका आफन्त, नातागोताहरुले उक्त बालिकाको आवाज सुनेसँगै हत्यारालाई जन्मकैदको फैसलाको मागसमेत गरे।
विगत ६ वर्षदेखि श्रीमान श्रीमतीबीचको असमझारी र विवादको मौकाको फाइदा तेस्रोपक्षले उठाएपछि गत फागुन ११ गते मध्यरातमा कपिलवस्तुको बाणगंगा नगरपालिका ४ झुंगामा २८ वर्षीया अनिता पौडेलको हत्या भएको थियो। पौडेलको हत्यामा आफ्नै श्रीमान र भिनाजुको संलग्नता रहेको प्रहरीले खुलासा गरेको छ। मृतककै निवासमा पौडेललाई केकसँग बेहोस गर्ने औषधी खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको छ।
हत्यामा अनिताका श्रीमान बाबुराम पौडेल, भिनाजु श्रीहरि गौतमसहित गुनाखर अधिकारीको संलग्नता रहेको कपिलवस्तु प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत जनाएको छ। प्रहरीका अनुसार अनितालाई पारिवारिक विवाद र सम्पत्तीका कारण नै हत्या गरिएको हो।
भिनाजुसँग मृतकका ससुराले घर बनाउन १४ लाख ऋण सापटी लिएका र मृतक अनिताका श्रीमानश्रीमती बीच विगत ५ वर्षदेखि अंश मुद्धा चलिरहेकोले पनि पारिवारिक विवाद र सम्पत्तीका कारण नै हत्या भएको कपिलवस्तुका प्रहरी प्रमुख अच्युतम पुडासैनीले बताए।
हत्यामा संलग्न अधिकारी रुपन्देही देवदह नगरपालिका, ३ चरङगे निवासी रहेको प्रहरीले जनाएको छ। उनी रुपन्देही कारागार र रामेछाप काराकारमा करिब ४ वर्ष कैद भुक्तान गरी घर फर्केको बुझिएको प्रहरीले जनाएको छ। हत्यामा संलग्नलाई प्रहरीले चैत्र २१ प्रहरीले नियन्त्रणमा लिएको थियो। मृतक अनिताका ८ वर्षीय छोरा र १० वर्षीया छोरी छन्।
देवदहका अधिकारी घर फर्किसकेपछि मृतकका भिनाजु गौतमले फोन सम्पर्क गरी भेटघाटसमेत गर्ने गरेको बुझिएको छ। सहोदर साला र श्रीमती अनिता पौडेलबीच अंशमुद्धा चलिरहेको अवस्थामा मुद्धा मिलाइदिन्छु भनेर भिनाजु गौतमले हत्या गर्न सात लाख रुपैयाँ दिने र आफूले गर्ने ठेक्कापट्टा गर्ने ठाउँमा मासिक २५ हजारको जागिर दिन्छु भनी प्रलोभनमा अधिकारीलाई पारी घटना घटाएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।