प्रश्नपत्रको कोठामा केन्द्राध्यक्षले समेत मोबाइल लान नपाउने

|

काठमाडौं : प्रदेश-२ मा स्थगित भएको एसइई परीक्षा २२ चैतदेखि सुरु भएको छ। परीक्षामा प्रदेश-२ का आठवटा जिल्लाका २ सय ६२ परीक्षा केन्द्रबाट ७० हजार ५६८ विद्यार्थी सहभागी भएका छन्।

२२ चैतबाट सुरु भएको परीक्षा २९ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। साधारणतर्फका विद्यार्थीको परीक्षा २७ गते सकिनेछ भने प्राविधिकतर्फका विद्यार्थीको परीक्षा २९ गते समापन हुने केन्द्रले जानकारी दिएको छ।

शुक्रबार परीक्षार्थीले अनिवार्य विज्ञान विषयको परीक्षा दिइसकेका छन्। २३ गते सामाजिक शिक्षा, २४ गते स्वास्थ्य तथा जनसंख्या,संस्कृत, कर्मकाण्ड र ज्योतिषतर्फका परीक्षा हुनेछन् भने, २५ गते ऐच्छिक प्रथम र २६ गते ऐच्छिक द्वितीयको परीक्षा हुनेछ। २७, २८, र २९ गते प्राविधिकतर्फको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षार्थीले अनिवार्य अंग्रेजी, नेपाली र गणित विषयको परीक्षा भने अघिल्लो हप्ता नै दिइसकेका थिए। बाँकी विषयको परीक्षा हुनुभन्दा अगावै प्रश्नपत्र लगातार बाहिरिएपछि परीक्षा सञ्चालन समन्वय समितिको बैठकले प्रदेश-२ को परीक्षा स्थगित गरेको थियो।

एसइई परीक्षामा पहिले आएको समस्या पुनः नदोर्‍याउने र मर्यादित बनाउन अहिले सञ्चालित परीक्षामा निकै कडाइ र निगरानी बढाएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरका सहसचिव दुर्गाप्रसाद अर्यालले अहिले प्रदेश-२ का आठवटै जिल्लाहरूमा सुरक्षा व्यवस्था कडा रहेको बताए।

अर्यालले प्रश्नपत्रहरू थप सुरक्षाका साथ सिलबन्दी गरेर सम्बन्धित केन्द्रहरूमा पठाइएको जानकारी दिए। उनले भने, ‘परीक्षा सञ्चालन समन्वय समितिको बैठकले परीक्षामा सुरक्षा सतर्कता बढाउने, केन्द्राध्यक्षबाहेक निरीक्षक, सुरक्षाकर्मी, शिक्षक, कर्मचारी र सहयोगी समेतलाई मोबाइल फोन प्रयोग गर्न नदिने निर्णय गरेको छ।’ उनका अनुसार प्रश्नपत्र भण्डारण गरेको कोठामा जाने बेला केन्द्राध्यक्षलाई समेत मोबाइल प्रयोगमा रोक लागाइएको छ।

केन्द्रका अनुसार बैठकमा अबका परीक्षाहरूमा सबै परीक्षा केन्द्रका सुरक्षार्मीको उपस्थितिमा परीक्षार्थीमाथि पनि विशेष निगरानी राख्ने, प्रभावकारी तरिकाले सम्पूर्ण खोजतलासी गर्ने र मोवाइल फोन भेटिएमा जफत गरी थप खोज–अनुसन्धान अघि सार्ने निर्णय सार्वजनिक गरेको छ। 

बैठकले परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित र शान्तिपूर्ण रूपबाट सञ्चालन तथा सम्पन्न गर्न सबै पक्षको आवश्यक रहेकाले  सहयोग गर्नसमेत आग्रह गरेको छ।

प्रदेश-२ का सामाजिक विकासमन्त्री नवकिशोर शाहले २२ गते भएको विज्ञान विषयको परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको बताए। उनले अहिले सुरक्षा व्यवस्था विगतमा भन्दा कडाइ गरिएको हुँदा उक्त समस्या आउने सम्भावना नरहेका बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.