|

बुटवल : विगत ६ दिनदेखि बन्द रहेको अर्घाखाँची मंगलबारदेखि खुलेको छ। बन्द खुलेसँगै अर्घाखाँचीको जनजीवन सामान्य बनेको छ। जिल्लाभित्र गाडी चल्न थालेका छन् भने शिक्षण संस्था पनि मंगलबारदेखि खुल्ने भएका छन्। 

बन्दका कारण १५ गतेदेखि रोकिएको विद्यालयको अर्धवार्षिक परीक्षा पनि मंगलबारदेखि सुरु हुने भएको छ। पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गर्ने गरी ल्याएको संशोधन प्रस्तावको विरोधमा भएको बन्द मंगलबारदेखि खुले पनि आन्दोलन भने जारी रहेको संघर्ष समितिका संयोजक बिष्णु मुस्कानले बताए।

संघर्ष समितिले लामो दूरीमा चल्ने गाडीमा अनिवार्य ‘पाँच नम्बर प्रदेश टुक्राउन पाईदैन’ लेखेका ब्यानर राख्न आग्रह गरेको छ। बन्द फिर्ता लिएपनि पहाडी जिल्ला टुक्राउने प्रस्तावको विरोधमा होडिङबोड र ब्यानर राख्ने २३ र २४ गते जिल्ला सरकारी कार्यालयमा मानव साङ्लो बनाउने जस्ता आन्दोलनका कार्यक्रम तय गरिएको संयोजक मुस्कानले बताए।

अर्घाखाँची खुलेपनि रूपन्देही, कपिलवस्तु, पाल्पा र गुल्मी जिल्ला बन्द छन्। बिहान ७ बजेदेखि नै बन्दकर्ता सडकमा उत्रिएर गाडी चल्न दिएका छैनन्। 

बन्दका कारण रूपन्देही शिक्षण संस्था, उद्योग, बजार, यातायात गत बुधबारदेखि नै चलेका छैनन्। जसका कारण जनजीवन कष्टकर बनेको छ। 

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने मागसहित एमाले, राष्ट्रिय जनमोर्चा, अखण्ड नेपाल पार्टी, जनमोर्चा नेपाल, नेकपा संयुक्त, नेकपा माक्र्सवादीलगायतका दलहरू बन्दसहितका कार्यक्रम लिएर सडकमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.