ताप्लेजङ : सडकको पहुँच नपुगेका ताप्लेजुङका दुई वडामध्ये एउटा सिरिजंघा गाउँपालिका–६ मामाङ्खे हो। मामाङ्खेवासीहरू भौगोलिक रूपले विकट भएकै कारण विकासमा पछि परेका छन्। मामाङ्खे सडकको पहुँचका हिसाबले ताप्लेजुङको सबैभन्दा दुर्गम वडा हो।
एक दिनको पैदलमा रहेको गाउँपालिका केन्द्र तेल्लोकबाट खच्चर र मान्छेले खाद्यान्न लगायतका घरायसी सामान ढुवानी गर्छन्। यहाँका नागरिकको आम्दानीको मुख्य स्रोत अलैँची हो। त्यहि अलैंची पनि एकातिर खडेरीले बर्सेनि मर्दैछ भने अर्कातिर मूल्य लगातार ओरालो लागिरहेको छ।
अहिले प्रत्येक घरको ५० हजारदेखि पाँच लाखसम्म ऋण रहेको स्नानीयवाशी हरिप्रसाद भट्टराईले बताए। ‘खान लाउनकै लागि गरिएको ऋण हो,’ भट्टराईले भने,‘टाढादेखि खाद्यान्न लत्ताकपडा महँगोमा ढुवानी गर्नपर्छ, नानीहरूलाई विद्यालयस्तरदेखि नै डेरा रखेर पढाउनुपर्छ, आम्दानीको श्रोत छैन।’
बाँच्ने आधार अलैँची नै बिक्रि हुन छोडेपछि र बोट मर्न थालेपछि झन चिन्ता थपिएको सुकविर लिम्बू बताउँछन्। भन्छन्, ‘यै पनि नभए के खाउँला?’ गाउँको बीचमा रहेको हाङ्खोलाको पानीबाट देउराली र सुधाप दुवैतर्फ अलैँची सिँचाइ योजना निर्माण गर्न पाए अलैँची बचाउन सकिने कैलाश मावोको भनाई छ।
९० प्रतिशत मावो लिम्बूहरूको यहाँ बसोबास छ। कञ्चनजंघा हिमाल जाने पूर्वी पदमार्ग पर्ने भए पनि पर्यटकको चहल पहल खासै छैन। गाउँमा युवाको खडेरी छ। घरमा वृद्धवृद्धा मात्रै छन्। विकासका सबै पूर्वाधारमा मामाङ्खे पछाडि रहेको स्थानीयवासी डिल्लिराज मावोले बताए।
स्थानीयले लिम्बूहरूको ऐतिहासिक साँस्कृतिक संग्रहालय स्थापना गरेका छन्। यसको उचित व्यवस्थापन र प्रवर्द्धन हुन सकेको छैन। ‘पर्यटकीय हिसाबले पनि मामाङ्खेमा धेरै सम्भावना छन्,’ डिल्लि भन्छन्, ‘तर, यातायातको पहुँच नभएपछि केहि गर्न सकिएन ।’ लिम्बू संग्रहालयलाई व्यवस्थितगर्न सके मात्रै पनि गाउँमा पर्यटकको चहलपहल बढ्नेमा उनी आशावादी छन्।
ठूलो र अप्ठ्यारो भूगोल भएको वडामा निजी स्रोतमा सञ्चालित एउटा मात्रै प्रस्तावित मावि छ। विद्यालयको स्रोत थोरै हुँदा त्यहि मावी पनि सञ्चालन गर्न कठिनाई रहेको वडाध्यक्ष शुक्रराज मावोको दुखेसो छ। लाखौँ खर्च गरेर छोराछोरीलाई बाहिर पठाएर पढाउनु परेको सुधापका नेत्र भट्टराईले बताए।
स्वास्थ्यको प्रबन्ध पनि राम्रो छैन। स्वास्थ्य चौकिमा सामान्य उपचार मात्रै हुने हुँदा स्वास्थ्यमा ठूलै समस्या भए बिरामी बचाउन हम्मे पर्ने भट्टराईको भनाई छ। गाउँपालिकाले यहाँसम्म सडक पुर्याउन प्राथमिकताका साथ अगाडी बढाएको छ।
केन्द्र तेल्लोकबाट पेदाङ हुँदै मामाङ्खे जाने सडक निर्माण इरहेको छ । उक्त सडकको ट्रयाक पेदाङ छेउसम्म पुगेको छ। वडा नं ५ को याङपाङमा पहरा र कडा चट्टान सहितको भीर छ। उक्त पहरा छिचोल्न गाउँपालिकामात्रैको बजेटले नपुग्ने हुँदा प्रदेश सरकारले समेत बजेट विनियोजन गरेको गाउँपालिका प्रमुख टीकाराम गुरुङले बताए। ‘गाउँपालिका र प्रदेश दवैको बजेट छ, अर्को वर्षको मामाङ्खेसम्म सडकको ट्रयाक पुर्याउछौँ,’ गुरुङले भने।
मामाङ्खे मात्रै होइन, सिङ्गो सिरिजंघा गाउँपालिका नै विकासका दृष्टिले निकै पछाडी छ । यहाँको मानवविकास सूचकांक ०.४९ रहेको छ। लामो समयपछि जनप्रतिनिधि चुनिएर कामथालेको अवस्थामा अब विकासले गति लिनेमा स्थानीय आशावादी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।