|

काठमाडौं : अहिले प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दो छ। यस विषयमा सरकारको ध्यानाकर्षण पनि बढेको नै देखिन्छ। सरकारले ४२ हजारलाई  निःशुल्क रूपमा तालिम दिने नीति अघिसारेको छ। उक्त तालिमका लागि आवश्यक खर्च सरकारले बजेटमै छुट्याइसकेको छ।

सरकारले यो नीति माघ महिनामा नै तय गरेको थियो तर यसको सञ्चालन भने चैत्र महिनाबाट मात्रै भएको प्राविधिक शिक्षा परिषद भक्तपुरले जनाएको छ। सरकारले प्रत्येक प्रदेशअनुसार छ/छ हजार विद्यार्थीका दरले यो तालिम तथा सेवालाई बजेटमै राखेको हो। सरकारले यो नीति अघि सारेपछि प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी) भक्तपुरले तालिमका लागि तयारी गरिरहेको छ।

सरकारको नीतिअनुसार तालिम केन्द्रले ४२ हजार विद्यार्थी असार मसान्तसम्ममा पुर्‍याउने तयारीमा छ। यो तालिम ३९० घण्टादेखि लिएर १६९० घण्टासम्म दिइने छ। प्राविधिक तथा व्यावसायिक तालिम केन्द्रका स्तर निर्धारण तथा समन्वय समितिका निर्देशक जीवननारायण काफ्लले भने, ‘यो सरकारले नेपाली युवा, विद्यार्थीलाई स्वरोजगार बनाउनका लागि ल्याएको नीति हो। यसमा इच्छुक जुनसुकै विद्यार्थीले पनि फारम भरेर तालिम लिन सक्छन्।’ उनले एसइई फेल भएका, व्यवसाय गर्न चाहने तथा वैदेशिक रोजगारमा जान चाहनेलाई दक्ष बनाउने लक्ष्य सरकारको रहेको बताए।

नेपाली युवा वैदेशिक रोजगारमा जाने क्रम दिनप्रतिदिन बढ्ने क्रममा छ। नेपाली युवा यहाँबाट राम्रो काम र फलको अपेक्षा गरी वैदेशिक रोजगारमा गए पनि उनीहरु सोचेअनुसारको काम पाउदैनन्। नेपालमा नगरेको भए पनि जुनसुकै काम पनि गर्न बाध्य हुन्छन्। उनीहरूको यही समस्यालाई मध्यनजर गर्दै वैदेशिक रोजगारका गए पनि आफ्नो सीप प्रयोग होस भन्ने चाहनाले सरकारले अहिले यस्तो नीति ल्याएको काफ्लेले बताए।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रमा विशेष गरी कृषि, बाली विज्ञान, सिभिल इन्जिनियरिङ, पशु विज्ञान, कुकिङ जस्ता विषयको पढाई तथा त्यससम्बन्धी तालिम दिने गरिन्छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र भक्तपुरले प्रदेश तथा जिल्ला जिल्लामा २९२ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको कक्षा सञ्चालन गरेको केन्द्रले जानकारी दिएको छ।

निर्देशक काफ्लेले भने, ‘विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरूलाई सहज वातावरण होस्। पढनलाई टाढा–टाढासम्म धाउनुपर्ने बाध्यता नआओस् भन्नका लागि जिल्ला–जिल्लामा यो कक्षा सञ्चाालन गरेको छौं।’ उनले विद्यार्थीले आफ्नो पायक पर्ने सामुदायिक विद्यालयमा गएर आफ्नो इच्छाअनुसारको शिक्षा लिए राम्रो हुने बताए। सामुदायिक विद्यालयमा पनि प्राविधिक शिक्षा र तालिम निःशुल्क रुपमा सञ्चालन भएको छ। यो शिक्षा छोटो अवधि ३९० घण्टासम्म दिने गरेको काफ्लेले बताए।

निजी स्तरमा प्राविधिक शिक्षा तथा तालिम सञ्चालन गर्न संस्थाले प्राविधिक शिक्षा तथा श्रम समन्वय कार्यालयबाट स्वीकृति लिनुपर्ने हुन्छ। केन्द्रका अनुसार छोटो अवधिका लागि अर्थात १ बर्षे सीपमूलक तालिम सञ्चालनका लागि देशभर १ हजार ८४ संस्थाले श्रम स्वीकृति लिइसकेका छन्। तरकारी खेती, फलफूल, जुस बनाउने जस्ता छोटा तालिम सञ्चालन गर्ने आंगिक संस्थाको स्वरोजगारमुखी, उत्पादनमुखी, बनाउने लक्ष्य रहेको छ। यो तालिम स्थानीय आवश्यकतामा आधारित हुने हुँदा एक हप्तादेखि लिएर ३ महिनासम्म सञ्चालन हुन्छ।

यी ठाउँमा छन् आंगिक सस्थाहरू

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र भक्तपुरले देशभर ४५ आंगिक संस्थाहरू रहेकाे जनाएकाे छ। काठमाडाैंमा बालाजु स्कुल इन्जिनियरिङ शिक्षा सञ्चालनमा छ। त्यस्तै धादिङ प्राविधिक शिक्षा धादिङ, धनकुटा प्राविधिक शिक्षा धनकुटा, दाङ प्राविधिक दाङ, दिपायल डोटी प्रावधिक शिक्षा दिपायल तालिम परिषद्कै आंगिक संस्थाहरू हुन्। याेसँगै आधिखोला प्रावाधिक शिक्षा स्याङजा, भेरी प्राविधिक शिक्षा बाँके, भिमदत्त प्राविधिक शिक्षा बैतडी, धवलागिरी प्रावाधिक शिक्षा बाग्लुङ रहेकाे केन्द्रले जानकारी दिएको छ।

धवलागिरी प्राविधिक स्कुल मुस्ताङ, दिवाकर प्राविधिक शिक्षा चितवन, गौर नर्सिङ शिक्षा रौतहट, जयकिष्ण प्राविधिक शिक्षा रौतहट, गोरखा प्राविधिक शिक्षा गोरखा, जिरी प्राविधिक स्कुल दोलखा, कालीगण्डकी प्राविधिक शिक्षा तनहुँ पनि प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम केन्द्र भक्तपुरकै संस्था हुन्। यस्तै कर्णाली प्राविधिक शिक्षा जुम्ला, कोरिया नेपाल प्राविधिक शिक्षा रुपन्देही, लहन प्राविधिक शिक्षा सिराहा, मदन पोखरा प्राविधिक शिक्षा पाल्पा, माहुरिया प्राविधिक शिक्षा खोटाङ, नारायणी प्राविधिक शिक्षा चितवन पनि सञ्चालनमा रहेका छन्। 

नेपाल बनेपा प्राविधिक शिक्षा काभ्रे, नेपाल भारत प्राविधिक शिक्षा मकवानपुर, निर्मल लामा प्राविधिक शिक्षा महोत्तरी, पनौती प्राविधिक स्कुल काभ्रे, पाणिनी प्राविधिक शिक्षा अर्घाखाँची पनि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रका संस्था हुन्। याे सँगै पोखरा प्राविधिक शिक्षा कास्की, रामेछाप प्राविधिक शिक्षा रामेछाप, राप्ती प्राविधिक शिक्षा दाङ,रत्नकुमार प्राविधिक शिक्षा इलाम,रोल्पा प्राविधिक शिक्षा रोल्पा, रुलर तालिम केन्द्र लमजुङ, शहीद नेत्रलाल प्राविधिक शिक्षा स्याङ्जा,शंकरापुर प्राविधिक शिक्षा काठमाडौं, सेती प्राविधिक शिक्षा डोटी र उत्तरपानी प्राविधिक शिक्षा धनकुटालाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रले सञ्चालनमा ल्याएको छ।

एसइई दिएर बसेका विद्यार्थीका लागि

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रले दिने तालिम तथा कक्षाहरू एसइई दिएर बसेका विद्यार्थीलाई पनि लक्षित गरेको छ। एसइई दिएर बसेका विद्यार्थीले इच्छाएको खण्डमा कक्षा लिन र तालिम लिने अवसर दिइएको छ। निर्देशक काफ्लेले यो एसइई फेल भएका,व्यवसाय गर्न चाहनेहरूलाई उपयोगी हुने बताए। एसइई दिएर बसेका विद्यार्थीले आफ्नो भविष्यमा सहयोग मिल्ने विषय छानी इच्छाअनुसारको शिक्षा निःशुल्क रुपमा लिन सक्ने सुविधा प्रदान गरिरहेको छ।

परीक्षा दिएर बसेका विद्यार्थीले ३ महिनाको खाली समयमा आंगिक शिक्षालयबाट तालिम लिएर दक्ष बन्न सक्ने सुविधा प्राविधिक शिक्षाले दिइरहेको छ। उनीहरूले आंगिक संस्था तथा सामुदायिक विद्यालयबाट निःशुल्क तालिम लिन सक्ने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.