|

उदयपुर : हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुनु सिद्धिचरण लोकमार्गको पहिचानै हो। सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी नगरपालिका हुँदै खोटाङ, ओखलढुङ्गा र सोलुखम्बु जोड्ने सिद्धिचरण लोकमार्गले मर्मत भएको छैन। 

मिचैयाँदेखि उदयपुरको घुर्मीसम्म ७२ किलोमिटर छ। जहाँ नाममा लोकमार्ग छ। मिर्चैया–घुर्मी खण्डमा दर्जनौं ठाउँ भत्केर खडाखुल्डी परेका छन्, कालोपत्रे उक्किएर सवारी साधन चलाउन कठिन भएको सवारी चालकहरुको गुनासो पोख्छन्। ‘धेरै वर्षअघि गरिएको कालोपत्रे भत्केको छ,’ कटारी–घुर्मी खण्डमा जिप सञ्चालन गर्दै आएका व्यवसायी सानु विष्ट भन्छन्, ‘खाल्डाखुल्डीको कुरै नगरौं, जोखिमपूर्ण यात्रा गनुपर्छ।’

कटारी–घुर्मी ४६ किलोमिटर सडकखण्ड पार गर्न मालवाहक ट्रक तथा ठूला यात्रुवाहक बसलाई चार घण्टाभन्दा बढी लाग्ने गरेको छ। कटारी मिर्चैया सडकखण्डमा मारुती र कसमस सिमेन्ट उद्योगका चुनढुङ्गा बोक्ने टिपरका कारण जीर्ण बनेको छ। जीर्ण सडकका कारण दुर्घटना हुने गरेको उदयपुर उद्योग वाणिज्य संघ कटारीका उपाअध्यक्ष मुना कटुवालको भनाइ छ। ‘मिर्चैयादेखि कटारीे खण्डमा मारुती सिमेन्ट र कसमस सिमेन्टका टिपरले सडक ध्वस्त छ,’ उनले भनिन, ‘सडकको क्षमता १० टनको छ, ३० टनका मालवाहक गाडी दौडिन्छ, जसको कारण सडक झन् जीर्ण बन्दै गएको छ।’ जीर्ण सडकबाट जोखिपूर्ण तरिकाले ओखलढुङ्गा, सोलुखम्बु र खोटाङलगायतका क्षेत्रमा उपभोग्य बस्तु ढुवानी गर्न व्यापारी बाध्य छन्।

सिद्धिचरण मार्ग २०३४ सालमा सिरहाको मिर्चैया हुँदै उदयपुरको कटारी जोडियो। त्यसपछि कटारी–ओखलढुङ्गा निर्माण सुरु भयो। त्यसै क्रममा २०५८ सालदेखि कटारी–घुर्मी सडकमा यातायात सञ्चालन आयो। अहिले सिधा यातयात खोटाङ, ओखलढुङ्गा र सोलुखम्ब जोडिएको छ। सडक बनाउने तर मर्मत नगर्ने प्रवृत्तिले सडक उपभोक्ताले सास्ती खेप्नु परेको छ।

कटारी–मिर्चैया सडक सञ्चालनमा आएको पाँच दशकपछि अहिले खोलामा पक्की पुल बन्दै छ। कटारी–मिचैँया सडकखण्डमा पर्ने तीन वटा खोलामा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेका छ। यता सोही सडकमा पर्ने तावा र मरुवा खोलामा केही वर्षअघि मात्र पक्की पुल निर्माण भएको थियो। 

हल्ला मात्र

सगरमााथाको प्रवेश द्वारको रुपमा परिचित कटारी बजार माथिल्लो क्षेत्रको मुख्य व्यापारिक केन्द्र समेत हो। कटारी बजारबाटै तराईमा उत्पादन हुने दैनिक उपभोग्य वस्तुदेखि इन्धन र निर्माण सामग्री समेत आपूर्ति हुने गर्दछ।

यस सडक मर्मतका लागि बर्सेनि स–सानो आकारमा करोडौं खर्च गर्दा बजेटमा मात्र सकिने काम नहुने सडक डिभिजन कार्यालय लाहानका इन्जिनियर बेचन भण्डारी बताउँछन। ‘मेरो साइट भनेको त्यही सिद्धिचरणलोकमार्ग हो,’ उनले भने, ‘सुनेको थिएँ, एसियाली विकास बैंकले बनाउने भन्ने कुरा, तर खै के भयो कुन्नी, सानो आकारको बजेटले मर्मत हुँदैन।’

सडक डिभिजन कार्यालयका प्रमुख इन्जिनियर जितेन्द्र चौधरीका अनुसार एसियाली विकास बैंक(एडिबी)ले सर्भे समेत गरिसकेको छ। ‘एडिबीले काम गर्ने हल्ला थियो,’ उनले भने, ‘पछि किन कहाँ पुगेर रोकियो, थाहा छैन।’

कटारी नगरपालिकका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले एडिबील्े काम गर्ने भने पनि सरकारले चासो नदिएको बताउँछन्। यसबारे संघीय सरकारसँग पुगेर यसबारे छलफल गरेको उनको भनाइ छ।

सांसदका कुरा

ओखलढुङ्गाबाट संघीय संसदको प्रतिनिधिसभा सदस्य यज्ञयराज सुनुवारले सडक चार लेनको बनाउन सरकारसँग माग गर्दै आएको बताए। ‘एसियाली विकास बैंकले काम गर्ने योजना बन्दै छ,’ उनले भने, ‘केही ढिला हुने छ।’ यसैगरी खोटाङ जिल्ला प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईका अनुसार पनि सडकको तत्काल स्तरोन्नति गर्ने गरी योजना माग गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.