'आलुमा कर लगायो, निर्मलाका दोषी लुकायो'

|

धनगगढी : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने भविष्यवाणी गरेका छन।

विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार धनगढी पुगेका देउवाले सरकार गठनको एक वर्षसम्म पनि कुनै काम नभएको भन्दै सरकार आफ्नै कारणले विघटन हुने बताएका हुन्। प्रेस युनियन कैलाली शाखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकार गठन भएपछि मुलुकमा हत्या हिंसामा वृद्धि भएको बताए।

'सरकारले उपलब्धिमूलक केही काम गरेको छैन’ सभापति देउवाले भने, ‘बरु सरकार गठन भएपछि हत्या हिंसा बढिरहेको छ।’ उनले सरकारकै लापरबाहीले निर्मलाको हत्या प्रकरणको तथ्य बाहिरिन नसकेको आरोप लगाए। उनले भने, ‘अहिले हत्या हिंसा बढिरहेको छ। निर्मलाको हत्यारालाई समेत सरकारले बचाइरहेको छ।’

सरकारले विभिन्न वस्तुमा कर बढाएको प्रति देउवाले असन्तुष्टि व्यक्त गरेका थिए। ‘महंगी ह्वात्तै बढेको छ’ देउवाले भने, ‘हिजोआज आलुमा पनि सरकारले कर लगाएको छ। जनतालाई समस्या भइरहेको छ।’

सभापति देउवाले प्रेस स्वतन्त्रतामा कमी आएको र शिक्षामा हस्तक्षेप बढेको आरोप लगाए। सरकारकै नीतिका कारण सुदूरपश्चिम विश्वविद्यालय फस्टाउन नसकेको देउवाको आरोप थियो। ‘सरकारले शिक्षामा हस्तक्षेपको नीति ल्याउदैछ’ उनले भने, ‘सुदूरपश्चिम विश्वविद्यालय लगायत यहाँका शैक्षिक संस्थामा सरकारले हस्तक्षेप गरिरहेको छ।’

सरकारमा यस्ता क्रियाकलापले सरकार आफ्नै कारणले विघट हुने देउवाको धारणा थियो। ‘आयुको विषयमा म केही भन्न चाहन्न तर, सरकार आफ्नै कारणले ढल्छ’ देउवाको भविष्यवाणी थियो।

शनिबार धनगगढी पुगेका देउवा आइतबारसम्म आधा दर्जन राजनीतिक कार्यक्रममा सहभागी भएका छन्। सभापति देउवाले नयाँ वर्षको अवसरमा देश र जनताको समृद्धिका लागि शुभकामना पनि दिएका थिए। सभापति देउवासँगै उनकी श्रीमती आरजू राणा देउवा पनि धनगढीमै छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.