|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गतको संस्कृत केन्द्रीय विभागले नयाँ वर्ष २०७६ को सुरुवात योगको अध्ययनबाट थालेको छ। साठी वर्ष पुरानो देशकै पहिलो तथा ठूलो विश्वविद्यालयले प्राचीन विषयमध्येको एक योगको प्राज्ञिक अध्‍यापन गराउन थालेको हो।

योगले मानिसलाई शारीरिक र मानसिक दुवैरूपमा स्वस्थ्य रहन मद्दत गर्दछ। योगका विभिन्न प्रकार हुन्छन्। हाल प्रचलित अष्टांग योगका आठ अंग यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन्। पहिलो चार अंग यम, नियम, आसन, प्राणायाम अष्टांग योगका बाहिरी पक्ष हुन्। जुन शरीरका बाह्य पक्षका साधनाका लागि हुन्। प्रत्याहार, धारणा, ध्यान र समाधि भने भित्री पक्ष हुन्। जुन आत्मचिन्तनद्वारा साधना गर्न प्रयुक्त हुन्छन्।

विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका अध्यक्ष डा.नारायणप्रसाद गौतमका अनुसार योग अध्ययनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यार्थीले कुनै पनि विषयमा स्नातक उत्तिर्ण गरेको हुनुपर्नेछ। उनका अनुसार योग अध्ययन नेपाली तथा अंग्रेजी दुवै भाषामा अध्ययन अध्यापन गराइनेछ।

उनले एक वर्षे पोस्ट ग्र्याजुएट पढ्न स्नातक तह उत्तीर्ण गरेका ५८ जना विद्यार्थी संस्कृत केन्द्रीय विभाग कीर्तिपुरमा भर्ना भइसकेको बताए। योग अध्ययनका लागि जम्मा ६० वटा मात्र सिट रहेका छन्। उनले यो कोर्सको अध्ययनपश्चात् विद्यार्थीले आफ्नो स्वास्थ्यको ख्याल आफैँ गर्नसक्ने, योग सेन्टर खोलेर सेवा दिनसक्ने, सहायक योग थेरापिस्टका रूपमा कार्य गर्न सक्ने बताए।

उनले यो ६\६ महिने दुई सेमेस्टरमा रहेको बताए। योग अध्ययनका लागि विद्यार्थीले ५५ हजार रुपैयाँ विभागलाई बुझाउनुपर्नेछ। योगको कक्षा साँझ ४ बजेदेखि तीनदेखि चार घण्टा सञ्चालन हुनेछ। उनले नयाँ थालिएको योग अध्ययनमा युवा पुस्ताको रुचि देखिएको समेत बताएका छन्।

काठमाडौंमा योग प्रशिक्षकका रूपमा कार्यरत धेरै युवा जमात तथा अन्यले योगको प्राज्ञिक अध्ययनमा रुचि देखाएको उनले बताए। याेग पढाउने विदेशका १० वटा विश्वविद्यालयको पाठ्‍यक्रमसँग विभागले तयार पारेको पाठ्यक्रम भिडाएर परिमार्जन गरीकन पाठ्यक्रमलाई अन्तिम रूप दिइएको समेत जानकारी दिए।

उनले भने, ‘विद्यार्थीले योग अध्ययन पूरा गरेपछि नेपाल सरकारका विभिन्न विद्यालयमा योग शिक्षकको रूपमा वा परामर्शदाताका काम गर्न पाउनेछन्।’ उनका अनुसार त्रिविमा योग अध्ययनका कक्षा वैशाख १२ गतेबाट सञ्चालन हुनेछन्। यो सँगै प्राज्ञिक अध्ययन नभए पनि नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको वाल्मीकि विद्यापीठमा योगसम्बन्धी प्रशिक्षण हुँदै आएको छ।

अध्यक्ष गौतमले योग सिकेर बसेका तर सर्टिफिकेट नपाएका विद्यार्थीले पनि योग सिकाउन पाउनुका साथै आफ्नो ज्ञानलाई प्रयोग गर्न पाउने व्यवस्था रहेको बताए। उनले भने, 'अहिले योग जीवन जिउने आवश्यक आधार बनेको छ। त्यसैले त्रिविमा पनि योग अध्ययनको सुरुवात गर्ने भएका हौं।’ विद्यार्थीले योग अध्ययन पूरा गरेपछि नेपाल सरकारका विभिन्न विद्यालयमा योग शिक्षकको रूपमा काम गर्न पाउनेछन्।      

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.