|

दार्चुला : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी बजेट अधिवेशनबाट नयाँ शिक्षा ऐन पारित हुने बताएका छन्। वर्तमान सरकारको तर्फबाट पहिलो मन्त्रीका रूपमा पहिलो पटक सुदूरपश्चिम प्रदेशको दार्चुला भ्रमणमा पुगेका मन्त्री पोखरेलले शनिबार सदरमुकाम खलंगामा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन्। 

संविधानमा शिक्षा साझा अधिकार एकल र साझा अधिकार सूचीमा रहेकोले केही अन्यौलता देखिए पनि शिक्षाको अधिकार र जिम्मेवारी संविधानअनुसार बाँडफाँड गरिने शिक्षामन्त्रीले बताए। ‘देशभरीका केही नमुना विद्यालय संघीय सरकारले सञ्चालन गर्ने सोच छ’ मन्त्री पोखरेलले भने, ‘जीवनउपयोगी र व्यवसायिक प्राविधिक शिक्षामा हामीले जोड दिएका छौं।’

संघीयताको व्यवस्थाविपरित शिक्षा क्षेत्रमा सरकारले कुनै कार्य नगर्ने बताउदै शिक्षा मन्त्री पोखरेलले दशकौंदेखिको शिक्षा क्षेत्रका समस्या समाधान भइरहेको दाबी गरे। ‘२०४९ सालदेखिको शिक्षक व्यवस्थाको विषय ठूलो संघर्ष र चुनौतीका बीच सफल गर्न सकेका छौ’ उनले भने। शिक्षा क्षेत्रको सुशासनको अभाव रहेको बताउदै शिक्षामन्त्रीले शिक्षकलाई मिहनेत गरेर पेशागत धर्म निर्वाह गर्न आग्रह गरे। उच्च शिक्षालाई ज्ञान निर्माण गर्ने क्षेत्रको रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए। 

दार्चुला भ्रमण गर्ने पहिलो मन्त्री

वर्तमान सरकार गठन भए पनि कुनै पनि मन्त्रीले दार्चुला भ्रमण नगरेको अवस्थामा शनिबार दार्चुला भ्रमणमा खलंगा पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल दार्चुला भ्रमण गर्ने पहिलो मन्त्री बनेका छन्। शुक्रबार बैतडी जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रममा शिक्षामन्त्री सहभागी भएका थिए। शुक्रवार साँझ नै मन्त्री पोखरेलको टोली दार्चुला पुगेको थियो। 

शनिबार बिहान दार्चुलाको प्रमुख धार्मिकस्थल मालिकार्जुन मन्दिरको दर्शन गरेको मन्त्रीको टोलीलाई दार्चुला बहुमुखी क्याम्पसले स्वागत गरेको छ। मन्त्री पोखरेलले कार्यालय प्रमुखहरूसँग भेटघाट र पार्टी कार्यकर्ता भेटघाट पनि गरेका छन्। शनिबार दिउसो शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाको आयोजनामा दार्चुला जिल्लामा शिक्षाको वर्तमान अवस्था र भावी योजना विषयक अन्तरक्रिया पनि गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.