सुर्खेत : कमल खड्का ‘जुनी’लाई वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको जग्गाको चारकिल्ला प्रमाणित गर्नु थियो। सबै प्रक्रिया पुर्याएर हस्ताक्षर गराउन उनी वडाध्यक्ष मोतीप्रसाद कँडेलकहाँ गए। तर, वडाध्यक्षले हस्ताक्षर गरिदिएनन्।
वडाध्यक्ष कँडेलले घरबहाल तिरेको रसिद मागे। वडाध्याको उक्त कुराले खड्का अचम्ममा परे। जबकि, उनी घर नै नभएको खाली जग्गाको चारकिल्ला प्रमाणित गर्न गएका थिए। ‘मलाई वडाध्यक्ष नगरपालिकामा भएका र त्यही गएर हस्ताक्षर गरी माग्दा घर बहाल कर तिरेको रसिद ल्याउन भन्नु भयो,’ खड्काले भने, ‘खाली जग्गाको म कसरी घर बहाल कर तिरौं भनेर मैले अनुरोध गरें, तर अध्यक्षले उल्टै दादागिरी देखाएको आरोप लगाए।’
घर बहालको रसिद मागेपछि खाली जग्गाको घर बहाल कर तिर्न भनेर लिखित रुपमा लेखेर दिन वडाध्यक्षसँग आफूले माग गरेको खड्काले बताए। उनले भने, ‘तर उनले आफु अधिकार सम्पन्न भएको बताउँदै घरबहाल कर नतिरेसम्म हस्ताक्षर नगर्ने अड्डी लिनुभयो।’ वडाध्यक्ष कँडेलले आफूलाई साढे दुइ घण्टासम्म नगरपालिका बस्न बाध्य पारेको खड्काको आरोप छ।
अन्य वडा कार्यालयबाट जग्गाको चार किल्ला प्रमाणित गरी ल्याउन मिल्ने तर त्यो वडामा नमिल्ने कारण जान्न खोजेको खड्काले बताए। तर, वडाध्यक्षले आफूलाई थर्काउँदै ‘जे गर्नु हुन्छ गर्नुस म सहस्ताक्षर गर्दिन’ भनेको उनको दाबी छ। उनले वडा नम्बर ६ मा रहेको कित्ता नम्बर ३९५२ र ४७०३ को जग्गाको राजस्व वडा कार्यालयमा एक हजार ५० रुपैयाँ तिरेको जानकारी दिए। ‘उक्त जग्गा मेरो श्रीमतीको नाउँमा रहेको छ,’ उनले भने, ‘हामी बुझेका व्यक्तिलाई त वडाध्यक्षको यस्तो व्यवहार छ सर्वसाधारणप्रति उनको कस्तो होला?’
त्यस्तै, केही दिनअघि वीरेन्द्रचौकका नाबालक सालीन भारतीको नाममा रहेको जग्गाबारे पनि अध्यक्ष कँडेलले त्यस्तै व्यवहार देखाएको पीडितहरुले दाबी छ।
नगरपालिकाका कानुनी सल्लाहकार कृष्णबहादुर हमालले घर भए मात्रै घर बहाल कर तिर्ने कानुनी व्यवस्था रहेको बताउँछन्। ‘कानुनमा घर भएको भए मात्रै घर बहाल कर तिर्ने व्यवस्था छ,’ उनले भने, ‘वडाध्यक्षले त्यस्तो भन्न हुन्थेन, खाली जग्गाको चार किल्ला प्रमाणित गर्दा केही रकम तिरे पुग्छ।’
यता वडाध्यक्ष कँडेलले भने आफूले सबै कागजजात ल्याउन मात्र भनेको जिकिर गर्छन्। ‘अहिले म कार्यपालिका बैठकमा छु, सबै कागजपत्र मिलाएर आउनुहोस भनेर मैले भनेको हुँ,’ उनले भने, ‘म पनि कहाँ नीति र विधिभन्दा माथि हुन सक्छु र?’
तपाईंको ईमेल गोप्य राखिनेछ ।