|

काठमाडौं : नयाँ शैक्षिक सत्रलाई लक्षित गरी नेपाल प्रहरीले शुक्रबारदेखि 'समुदाय–प्रहरी साझेदारी’ अभियान शुरू गरेको छ। विद्यालयदेखि लिएर क्याम्पससम्म हुनसक्ने सम्भावित शैक्षिक संस्थामा अभद्र व्यवहार तथा हैरानीका घटनाहरूलाई रोकथाम गर्नका लागि नेपाल प्रहरीले यो अभियान शुरु गरेको हो।

प्रदेश स्तरीय सुरक्षा गोष्ठीको सिलसिलामा प्रदेश २ जनकपुरमा रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भिडियो कन्फेरेन्सको माध्यमबाट काठमाडौंको किष्ट कलेजमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी राष्ट्रव्यापी रूपमा अभियान शुभारम्भ भएको घोषणा गरेका हुन।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले समाजमा अपराध रोकथाम र नियन्त्रण गर्न तथा सुरक्षा सचेतना अभिवृद्धि गर्नको लागि समुदाय र प्रहरीको सहकार्य र साझेदारीको विकल्प नरहेको धारणा व्यक्त गरे। सुरक्षित वातावरणमा मात्र बालबालिकाको शैक्षिक विकास सम्भव रहेको हुँदा शैक्षिक वातावरणमा हुने कुनै पनि प्रकारका अभद्र व्यवहार तथा हैरानीका सम्भावनालाई रोकथाम गरी बालबालिकाको सिकाई र विकासको आदर्श वातावरण तयार गर्नको लागि यो अभियान राष्ट्रव्यापी रूपमा सञ्चालन गरिएको खनालले बताए।

स्कुलभित्र र बाहिरको समेत वातावरण सुरक्षित बनाउन प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने र यसको लागि प्राज्ञिक क्षेत्रसँग सहकार्य गरेर योजनाबद्ध रूपमा अगाडि बढ्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे। उनले आफ्नो सम्बोधन पश्चात सहभागीहरूसँग अन्तरक्रियासमेत गरेका थिए।

प्रहरी महानिरीक्षकको सचिवालयबाट प्रहरी वरिष्ठ उपरीक्षक उमेशप्रसाद जोशीसमेतको उपस्थिति रहेको उक्त कार्यक्रममा महानगरीय प्रहरी वृत्त, कमलपोखरीका प्रमुख रविन्द्रनाथ पौडेलले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको सम्बन्धमा प्राप्त उपलब्धि र भावी कार्यक्रमको बारेमा प्रस्तुतिकरण गरेका थिए।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले समुदाय र प्रहरीबीच भैरहेको साझेदारीका सकारात्मक पक्षबारे चर्चा गर्दै प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम लाई सघन रूपमा कार्यान्वयन गर्ने र त्यसको लागि समुदायको सहयोगको अपरिहार्यताको बारेमा समेत प्रकाश पारेका थिए।

अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्यालयका व्यवस्थापक तथा प्रधानाध्यापक,समुदाय-प्रहरी साझेदारीका विभिन्न समितिमा आवद्ध संस्थाहरूका प्रतिनिधिहरू तथा नागरिक समाजका सदस्यहरू, प्रहरी अधिकृतहरू, अभिभावकहरू तथा विद्यार्थीहरू समेतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.