|

काठमाडौं : सरकारी स्वामित्वको संस्थानहरूमा कर्मचारीका सेवासुविधाका माग बढ्दै जान थालेका छन्। वार्षिकोत्सवको अवसरमा गरिने कार्यक्रममा पनि यस विषयमा कर्मचारीका निकै गुनासो हुने गर्दछन्। कुनै न कुनै कारण देखाउँदै आफू आबद्ध क्षेत्रमा काम गर्ने कर्मचारालाई सबैभन्दा बढी सेवासुविधा दिनुपर्ने माग ट्रेड युनियनका नेताहरूको हुने गर्दछ। नेतृत्वप्रति आक्रोश र गुनासो मात्रै होइन सेवा सेविधा बढाउने विषयममा धम्कीसमेत दिने गरेका छन्।

नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवमा यसअघि गरिने कार्यक्रममा कर्मचारीहरूको गुनासो सेवासुविधा नपुगेको, भत्ता कम भएको वा नेतृत्वले दोहोरो चरित्र देखाएको जस्तो कुराको उठान हुने गरेको थियो। राष्ट्र बैंकको ६३ औँ वार्षिक उत्सवमा कर्मचारीको यस्तै गुनासो चर्को सुनिएको थियो। कर्मचारीलाई तीन/चारपटक चिट काट्दासमेत बोल्न छोड्दैनथे।

शनिबार ६४ औँ वार्षिकोत्सवमा गरिएको कार्यक्रममा भने पूर्वकर्मचारीलाई दिइएको सेवासुविधाप्रति राष्ट्र बैंक व्यवस्‍थापनलाई धन्यवाद दिँदै स्वायत्तताका विषयमा प्रवेश गरे। कमर्चमारीका तर्फबाट सर्वप्रथम बोलेका पूर्वकमर्चारी संघका अध्यक्ष श्यामबहादर श्रेष्ठले स्वायत्तताको विषयलाई प्रवेश गराएका हुन्।

‘राष्ट्र बैंकका स्वायत्तताका कुरा पनि उठेका छन्। राष्ट्र बैंक स्वायत्त रहनुपर्छ’, श्रेष्ठले भने। त्यसपछि राष्ट्र बैंकमा कार्यरत तीन कर्मचारी संगठनका अध्यक्षले पनि आफ्नो भनाइ स्वायत्तताका विषयमा केन्द्रित गरे। नेपाल राष्ट्र बैक वित्तीय कर्मचारी संघका अध्यक्ष रेशमबहादर बल्छौडीले पनि राष्ट्र बैंकको स्वायत्तता प्रवेश आउने अवस्था गराउन नहुने बताए। राष्ट्र बैंक सरकारको सल्लाहकारको भूमिकामा रहनु पर्ने र त्यहीअनुसारको आफ्नो दायित्व निर्वाह गर्न आवश्यक रहेको उनको भनाई छ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल राष्ट्र बैंकका अध्यक्ष रेशमराज रेग्मी केन्द्रीय बैंकको स्वायत्तता बचाउने समय आएको बताए। उनले स्वायत्तताका विषयमा लामो समय कुरा राखे। स्वायत्तताको विषय भाषण गर्नका लागि चाहिएको हो भन्ने प्रश्न आउने गरेको भन्दै उनले उत्तर दिने प्रयास पनि गरे।

उनले स्वायत्तताको विषय भन्सार विभागसँग जोडे। भन्सार विभागले पहिला-पहिला मासिक प्रतिवेदन सार्वजनिक गर्ने गरेको र केही समयदेखि नगरेको बताउँदै रेग्मीले भने ‘मूल्य स्थितिका बारेमा पनि राष्ट्र बैंकले मासिक रूपमा प्रकाशित गर्ने विवरण प्रकाशित गर्दा माथिको संकेत कुर्नुपर्ने अवस्था आयो, मूल्यवृद्धि कति भयो भन्दै गर्दा डाटाले देखाएको विवरण होइन, हामीले इसाराअनुसार यथार्थ लुकाउनु पर्ने अवस्था आयो भने राष्ट्र बैंकको विश्वसनीयता कहाँ जान्छ, हैसियत कहाँ जान्छ।’

राष्ट्र बैंक कर्मचारी संगठनका अध्यक्ष ढुन्डीराज मिश्रले पनि स्वायत्ततामा ख्याल गर्नको लागि आग्रह गरे उनले स्वायत्तता खोज्दै गर्दा आफ्नो दायित्वबाट पछि हट्न नहुनेमा भने सचेत गराए। पूर्ण स्वायत्तता कायम गर्दै जवाफदेहिता पनि कायम गर्नु पर्ने मिश्रको भनाई थियो। पछिल्लो समय नेपाल राष्ट्र बैंक अर्थमन्त्रालयको शाखा जस्तै बनेको टिप्पणी हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.