काठमाडौं : बालाजु क्षेत्रको बाइसधारा पार्क पिकनिक, विवाह र घुमघामको गन्तव्य बनेकोछ। कात्तिकदेखि वैशाखसम्म विभिन्न स्थानबाट पिकनिकका लागि आउनेको घुइँचो लाग्ने गरेको छ। साथै विभिन्न संघसंस्थाको गोष्ठी तथा भेला गर्ने स्थल बनेको छ।
बाइसधारामा प्रेमजोडी पनि घुमफिर गरेर समय बिताउन आउने गरेको सेक्युरियुटी गार्ड बताउँछन्। ‘दैनिक एक सय जना भन्दा बढी आन्तरिक पर्यटक घुम्न आउँछन्’ उनले भने, ‘साथै दैनिक जसाे कुनै न कुनै कार्यक्रम लिएर पाँच सात वटा समूह पनि आउँछन्, विदाको दिन बाइसधारा क्षेत्र भरिभराउ हुन्छ।’
‘शनिवार तथा विदाका अन्य दिनमा पनि मानिसहरूको पिकनिकसँगै रमाउनका लागि आउने गरेकाले चहलपहल बढेको छ, ’बालाजु बाइसधाराका एक कर्मचारीले भने, ‘पछिल्लो केही महिनायता काठमाडौंका पिकनिक स्पटमध्ये यसलाई प्राथामिकताको सूचीमा राखेका छन्।’
विदाको दिन चार पाँच सय भन्दा बढी बाइसधारा आउने गरेकाे टिकट काउण्टरका उमेश श्रेष्ठ बताउँछन्। प्रतिव्यक्ति २५ रुपैयाँ र बाइक तथा गाडी राखेको २० रुपैयाँ टिकट शुल्क लिने गरेको उनले बताए।
समय बिताउने र रमाइलाे गरेर 'फ्रेस' हुन धेरै पैसा पनि खर्च नहुने भएकाले बाइसधारालाई नै रोजाइमा पारेको गाेरखाकी सिर्जना कार्कीले बताइन्। 'पहिलोपटक बाइसधारा आउँदा एकदमै रमाइलो अनुभव भयो', उनले भनिन्, 'खुल्ला ठाउँमा नाचगान गर्न पाउँदा धेरै आनन्द आयो।'
थेवे समाजबाट वनभोज कार्यक्रममा आएका रमेश थेवेले बाइसधाराको खुल्ला एवं शान्त वातारण अत्यन्तै मन परेको बताए। उनले भने, 'महानगरपालिकाले विकासका लागि थप लगानी गरे बाइसधारा पर्यटक लोभ्याउने ठाउँ बन्नेछ।'
बालाजु पार्कको स्वामित्वमा १६२ रोपनी जग्गा छ। अब सबै जग्गालाई सदुपयोग गर्ने र आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकास गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।