|

काठमाडौं : विहान आठ बज्दा नबज्दै जोरपाटीको नयाँ बस्तीमा रहेको महानगरीय प्रहरी विटमा मानिसहरुको भीड लागिसकेको थियो। त्यो भीड १० बज्दा ४–५ सय जनाको भइसकेको थियो। अघिल्लो दिन प्रहरी चौकी नजिकै एक जना ट्याक्सी ड्राइभरको मृत्यु भएको घटनाका बारेमा चासो राख्ने र घटनासँग सम्बन्धित मानिसहरु जम्मा भएका थिए। 

पछाडिको ढोकाबाट भागेर ज्यान जोगाएँ

- इन्द्रबहादुर बस्नेत  प्रहरी सहायक निरीक्षक, बौद्ध

घटनाको विषयमा विटभित्र नै हामी छलफल गरिरहेका थियौं। बाहिर जम्मा भएकाो भीडमा एक जना युवाले त्यो असईलाई हतकडी लगाउनुपर्छ भन्दै प्रहरीको विरोध गरिरहेको थियो। महिलाहरुको समूह पनि सुरक्षा नभएको भन्दै कराइरहेका थिए।

त्यही क्रममा युवाहरुको समूहबाट एक्कासी ढुंगा प्रहार भयो, महिलाहरु भाग्न थाले। युवाहरुको समूह एक्कासी प्रहरी विटभित्र प्रवेश गरेर तोडफोड गर्न थाले। मोटरसाइकलबाट पेट्रोल झिकेर मोटरसाइकल र सामानहरु जलाउन थाले।

सात जना मात्र रहेको प्रहरीलाई उनीहरुले आक्रमण गर्दा प्रहरी अत्तालिएर भाग्न थाले। प्रहरी हवल्दार कृष्णहरि बजगाँई ट्बाइलेटमा नलुकेको भए, मार्थे होला, म पनि पछाडिको ढोकाबाट भागेर ज्यान जोगाएँ। 

करिब १० मिनेटमा थप मद्दत आएर हवाईफायर गरेपछि मात्र भीड तितरवितर भयो, अनि बल्ल हामी प्रहरी बिटमा आएका हौं।  

उनीहरुले प्रहरी चौकी नजिकै भएपनि सुरक्षा नभएको गुनासो गरिरहेका थिए। बिहान १० बजेतिर एक्कासी प्रहरी चौकीमा ढुंगा हान्न सुरु भयो। भीडमा रहेका युवाहरुले चौकी घेरेर प्रहरीमाथि आक्रमण गर्न थाले। सात जनाको संख्यामा रहेका प्रहरीले त्यो भीड नियन्त्रण गर्न सम्भव थिएन। प्रहरीहरु कोही भागे, कोही बाथरुममा लुक्न थाले। त्यसपछि आक्रमणमा उत्रिएका युवाहरुले प्रहरी विटभित्रै घुसेर सम्पूर्ण सामान बाहिर निकालेर सामानमा पेट्रोल छर्केर आगो लगाइदिए। 

बाहिर पार्क गरेर राखिएको पाँच वटा मोटरसाइकलमा पनि उनीहरुले आगो लगाए। पाँच वटै मोटरसाइकल पूर्ण रुपमा जलेको छ। एक्कासी आक्रमणमा परेपछि प्रहरीको भागाभाग भयो, स्थानीय कसैले १०० मा फोन गरेर जानकारी गराएपछि थप प्रहरी मद्दतका लागि पुगेको थियो।

आक्रमणको करिब १० मिनेटपछि थप प्रहरी पुगेर आठ राउण्ड हवाई फायर गरेपछि बल्ल भीड तितरबितर भयो। आक्रमणमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी नवराज कार्कीले जानकारी दिए।

‘आक्रमणको क्रममा खिचिएको भिडियो र फोटोको आधारमा हामीले आक्रमण गर्नेहरुलाई नियन्त्रणमा लिइराखेका छौं’ उनले भने ‘१६ जना समात्यौं, थप पनि पक्राउ हुन्छन्।’ 

आक्रमणकारीको आक्रमणमा परेर प्रहरी नायव निरीक्षक सञ्जीव नापितको नाकमा गहिरो चोट लागेको छ। आक्रमणकारीले नापितको नाकमा नै लठ्ठी हानेका थिए। अन्य पाँच जना प्रहरी पनि घाइते भएका छन्।

आक्रमणकारीले विटका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) विद्याधर चौधरीको कोठामा रहेको टेलिभिजन सेटदेखि प्रहरीको मेसमा रहेको भाडाकुँडा सबै फुटाएका थिए। 

रोक्न खोज्दा खोज्दै प्रहरी विट जलाए

- लेखकुमारी पुडासैनी, स्थानीय

महिला ड्राइभर मार्‍याे भन्ने हल्ला चलेपछि विहान आठ बजे नै हेर्न आएको २५–३० जना जम्मा भएर हल्ला गर्दै थिए। ड्राइभरलाई त राती नै हस्पिटल लगेको रहेछ, मारेको ठाँउ रक्सी पसलमा हेरेको रगतै रगत रहेछ, कुटाकुट भएको रहेछ भन्ने लाग्यो।

करिब १० बजेतिर त यहाँ ४–५ सय जना जम्मा भइसकेका थिए। हामीहरु प्रहरी यही हुँदा पनि हाम्रो सुरक्षा भएन भनिरहेका थियौं। तर उत्ताउला केटाहरु भने विट जलाउछौं भन्दै थिए। हामीले हाम्रो सुरक्षाको लागि राखेको विट किन जलाउने बरु सबै प्रहरी फेर्ने कुरा गरिराख्दा एक्कासी कसले ढुंगा हान्यो।

हामी त हुलमुलमा ज्यान जोगाउन भाग्यौं, पछि त पुलिसलाई नै कुटपिट गरेर विट नै जलाइदिए। हामीले रोक्न खोज्दा खोज्दै केटाहरुले के मान्थे, आखिर जलाएरै छाडे।

के हो घटना? 

शनिबार राती करिब नौ बजे ट्याक्सी चालक राजकुमार लामाले अत्याधिक मादक पदार्थ सेवन गरी नयाँ बस्तीमा नै रहेको फुटसलमा ट्याक्सी दुर्घटना गराएका थिए। दुर्घटनापछि आफ्नो बा १ च ५२३८ नम्बरको ट्याक्सी त्यहीँ छोडेर लामा अर्को ट्याक्सीमा प्रहरी विट अगाडि रहेको भट्टी पसलमा गए। 

त्यहाँ थप मादक पदार्थ सेवन गर्ने क्रममा ट्याक्सीचालक लामा र भट्टीमा रहेका व्यक्तिहरुबीच विवाद हुन पुग्यो। विवाद बढ्दै जाँदा हात हालाहालको स्थिति भयो। रक्सीले मात्तिएका लामा घाइते हुन पुगे। 

घाइते भएपछि ब्यापारी र प्रहरीको सहयोगमा उनकै ज्वाईको साथमा अस्पताल पठाइएको थियो। तर ३६ वर्षीय लामाको अस्पताल  लैजाँदा बाटोमा नै मृत्यु भयो। स्थानीय वासिन्दाले चौकी नजिकै यति ठूलो घटना हुँदा पनि ख्याल नगरेको भन्दै आक्रोश पोखेका हुन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.