काठमाडौं : लोकसेवा आयोगले खुलाएको विज्ञापनविरुद्ध स्थानीय तहका कर्मचारीले पुन रिट दायर गरेका छन्। सोमबार मात्रै १२१ कर्मचारीले रिट दायर गरेका हुन्।
स्थानीय सरकार सञ्चालन ऐनमा एक पटकका लागि अस्थायी र करारमा कार्यरत रहेका कर्मचारीहरूलाई विज्ञापनमा सहभागी हुने मौका दिने र आन्तरिक प्रतिस्पर्धाका लागि समेत मौका दिएको थियो।
तर लोकसेवा आयोगले हालै ९ हजार कर्मचारीका लागि गरेको विज्ञापनमा एक पटक मात्र अन्तिम मौका हुने उल्लेख भएकोमा आयोगको विज्ञापनले कानुनले दिएको अधिकार खोसेको दाबी रिटमा उल्लेख गरिएको छ।
स्थानीय तहको स्वीकृत दरबन्दीमा अविच्छिन्न रुपमा अस्थायी र करार सेवामा काम गरिरहेकालाई पुर्याएको लामो समयको योगदान बेवास्ता गरेको निवेदनमा उल्लेख छ।
१२१ कर्मचारीले दिएको रिटमा आन्तरिक प्रतिस्पर्धाका लागि केही सिट आरक्षण हुनुपर्ने जिकिर गर्दै सर्वाेच्चमा निवेदन दायर गरेका हुन्। उनीहरुको निवेदनको पेशी मंगलबार रहेको छ।
स्थानीय तहमा रिक्त पदपूर्तिको लागि लोकसेवा आयोगले नौ हजार बढीको विज्ञापन खुलाएको छ। संसदको राज्य व्यवस्था समितिले यो विज्ञापन रोक्न निर्देशन दिए पनि सरकारले पछि नहट्ने जनाएको छ।
यता लोकसेवाको अध्ययन गरिरहेका विद्यार्थीहरूले भने राज्यव्यवस्था समितिले दिएको निर्णय खारेजको माग गर्दै आन्दोलन गरेका छन्।
रिटको पूर्ण पाठ
तपाईंको ईमेल गोप्य राखिनेछ ।