|

बुटवल : युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको देवदहमा हत्या भएपछि चर्चामा एउटा नाम छ – मनोज पुन। उनको नाम दुई कुराले चर्चामा छ, एक– उनले आफैले फोन गरेर हत्या आफूले गराएको बताए। अर्को, उनी र तिवारी विगतमा एउटै संगठन  युथफोर्समा थिए।  

हत्या भएपछि उनी आफैले सञ्चारमाध्यम र स्थानीयबासीलाई समेत फोन गरेर हत्या आफूले गराएको बताएपछि प्रहरीले पनि त्यसलाई आधार मानेर अनुसन्धान अघि बढाएको छ। मनोज बुढामगर वास्तविक नाम भई मनोज पुनका नामले चिनिने उनी रुपन्देही प्रहरीको खोजी सूचीमा थिए। ‘उनी ३ वटा अपराधमा खोजी सूचीमा थिए’ रुपन्देही प्रहरी प्रवक्ता बेलबहादुर पाण्डेले भने।

प्रहरीले उनी भारतमा लुकेर बसिरहेको जानकारी पाएपनि खोजीका लागि कठिनाई भएपछि प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्दै गत भदौमा पत्र पठाएको थियो।

‘हामीले उनी भारतमा लुकेर बसिरहेको जानकारी पाएका छौं, उनको खोजी गर्ने काम प्रधान कार्यालयबाट अघि बढाउनुहुन अनुरोध गर्दै हामीले भदौमा चिठी पठाएका थियौं, उनले भने ‘हेडक्वार्टरले पनि खोजी जारी राखेको थियो।’

को हुन् पुन,  कसरी बिग्रियो तिवारीसँगको सम्बन्ध?

पुन रुपन्देही देवदह नगरपालिका २ का बासिन्दा हुन्। उनी युथफोर्स गठन भएको केही समयपछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर १ का कोषाध्यक्ष थिए। त्यसअघि र पछि उनी देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा संलग्न थिए। माओवादीका संगठित सदस्य देवदहकै शालिकराम चापागाईं लगायतसँग मिलेर उनले देवदह क्षेत्रमा सानातिना ठेक्कापट्टाको काम गर्थे।

४ वर्ष अघिसम्म युथफोर्समा रहँदा पनि उनले फिरौती माग्ने, गुण्डागर्दी गर्ने जस्ता गतिविधि जारी राखेका थिए। युथफोर्सको आडमा अपराधिक काम गरेको भन्दै उनी साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका थिए। पछि पुन र चापागाईं दुवै पार्टीबाट अलग भएपछि अपराधिक क्रियाकलाप शुरु गरेको प्रहरी बताउँछ।

पार्टीबाट निस्कासन गर्न तिवारीको भूमिका रहेको ठानेर पुनले तिवारीसँग रिस इबी साँधेको प्रहरी बताउँछ। ‘उनीहरुका बीचमा पहिलो राम्रो सम्बन्ध थियो,  पछि पार्टीबाट निकालिएपछि पुनले तिवारीविरुद्ध गतिविधि गर्न थालेको देखिन्छ'  प्रहरी प्रवक्ता पाण्डे भन्छन् ‘आर्थिक लेनदेनकै विषयलाई लिएर उनीहरुबीच दुरी बढेको र त्यसलाई आधार मानेर पार्टीले कारबाही गरेको विषय पनि पहिले देखि नै चर्चामा रहेको थियो।’

पार्टीबाट निकालिएको झोंकमा पुन भूमिगत भएर अपराधिक क्रियाकलाप बढाएको प्रहरीको अभिलेखले बताउँछ। ‘पार्टीबाट निकालिएपछि उनी संरक्षणविहीन जस्तै भएका थिए', उनले भने 'अनि तिवारीविरुद्ध गतिविधि बढाउन छुट्टै समूह बनाएको र अपराध बढाएको देखिन्छ।’

पार्टीबाट निकालिएको झोंकमा पुनले पहिलो निशाना तिवारीलाई बनाएका थिए। मनोजले तिवारीसँग २० लाख रुपैयाँ फिरौती मागेको र सो रकम नदिने भनेपछि हत्या गर्ने धम्की दिँदै आएको प्रहरी बताउँछ ।

नेपालमै बसेर अपराधिक गतिविधि बढाउन असहज भएपछि भारतको गोवा,  मुम्बई,  पुने,  लखनउ र सीमाक्षेत्रमा बस्दै आएको सूचना प्रहरीले यसअघि नै पाएको थियो। 

यसअघि पनि हत्या प्रयास

आफ्नै भट्टामा बसिरहेको अवस्थामा गत फागुन २० मा पनि तिवारीमाथि आक्रमण भएको थियो। तर, त्यतिबेला आक्रमणबाट बाँचेका तिवारीलाई सोही समूहले नै हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

उनीमाथि गोली हानेको लगायत अन्य घटनाको अभियोगमा गत जेठमा प्रहरीले रुपन्देही देवदहका २७ वर्षीय शालिकराम चापागाईँ, नवलपरासी सुनवलका ऋषिराम घिमिरे, कास्कीका सन्जोग नेपाली, रुपन्देहीका राजेन्द्र धमेल, उर्गेन गुरुङ, चित्रबहादुर गुरुङ, बेनिराम सोमै, र रवि केसीलाई पक्राउ गरेको थियो।

उक्त समूहका अर्का सदस्य मनोज पुन फरार थिए। खासगरी यो समूहले व्यवसायीहरुसँग चन्दा माग गर्ने, नदिए अपहरण र गोली हानेर आतंक मच्चाउने गर्दै आएको थियो। उनी १०–१५ वर्षअघिदेखि नै गिट्टी,  ढुङ्गा,  बालुवा, काठको तस्करीमा संलग्न रहेको प्रहरीले बताएको छ।

अनुसन्धान गर्न सीआइडी टोली खटाइयो

रुपन्देही प्रहरी र प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको संयुक्त टोली खटिएको छ। घटनालाई सुक्ष्म ढंगले अघि बढाउन प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग (सीआइडी) को टोली रुपन्देही आउने रुपन्देही प्रहरी प्रमुख रवीन्द्र घानुकले बताए। टोलीले विगतका घटनाक्रमहरु र पछिल्ला प्रमाणहरुलाई आधार मानेर अनुसन्धान अघि बढाउने उनले बताए।

फेला पर्‍यो मोटरसाइकल

तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल प्रहरीले रुपन्देहीको मणिग्राम नजिकै कान्छीबजारमा फेला पारेको छ। प्रहरीले बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल बरामद गरेको छ। 

बन्दका कारण जनजीवन प्रभावित

सोमबार दिउँसो साढे ३ बजे देवदह नगरपालिका वडा नम्बर ६ निवासी ३८ वर्षीय दुर्गा तिवारीको हत्या पछि मंगलबार युवा संघ नेपालले आह्वान गरेको बन्दका कारण लुम्बिनी अञ्चलको जनजीवन प्रभावित भएको छ।

युवा संघका कार्यकर्ताले रुपन्देहीका बुटवल,  भैरहवा र देवदह तथा अरु जिल्ला सदरमुकामहरुमा हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

केन्द्रीय नेता बुटवलमा

हत्यापछि अवस्था बुझ्न एमालेका केन्द्रीय नेता बुटवल आइपुगेका छन्। एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालले तिवारीको शव राखिएको लुम्बिनी अञ्चल अस्पताल पुगेर घटनाबारे जानकारी लिएका छन्। पौडेल र भुसाल तिवारीको परिवारलाई भेट्न देवदह पुगेका छन्।

शवको अझैसम्म पोष्टमार्टम भएको छैन भने हत्यामा संलग्नलाई पक्राउ नगरुन्जेल दाहसंस्कार नगर्ने युवा संघका केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.