|

बुटवल : युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्याबारे छानबीन गर्न बनेको उच्चस्तरीय समितिले बुधबारदेखि काम सुरु गर्दैछ।

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजकत्वमा बनेको उच्चस्तरीय समिति बुधबार रुपन्देही आएपछि काम सुरु हुने रुपन्देही प्रहरी प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए।

उच्चस्तरीय समितिले रुपन्देहीमा अनुसन्धानमा खटिएको टोलीसँग समन्वय गरेर तिवारीको कल डिटेल, हत्यामा संलग्न भनिएका मनोज पुन, विदेशी नम्बरबाट आएको फोनलगायतका विषयमा सुक्ष्म ढंगले अध्ययन गर्ने उनले बताए।

प्रहरीले हत्यामा प्रयोग गर्न ल्याएको मोटरसाइकल भने नक्कली रहेको पुष्टि गरेको छ। प्रवक्ता पाण्डेले हत्याकै लागि प्रयोग गर्न चोरीको मोटरसाइकलमा अर्कै नम्बर प्लेट राखेको तथ्य खुलेको बताए।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

यसैबीच बुधबार तिवारीको पोष्टमार्टम गरेर बुटवलमा शवयात्रा गर्ने तयारी युवा संघले गरेको छ। युवा संघका केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलका अनुसार घरपरिवारसँग समन्वय गरी बुधबार शवयात्रा र दाहसंस्कार गर्ने तयारी भइरहेको छ।

हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै युवा संघको आह्वानमा बुधबार पनि रुपन्देही बन्द छ। रुपन्देहीमा यातायात, बजार र शैक्षिक संस्था बन्द छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.