|

काठमाडौं : नेपाली सांगीतिक बजारमा बुधबारसम्म 'गलबन्दी'को चर्चा चुलियो। सार्वजनिक भएलगत्तै बालकदेखि वृद्धसम्मको मन जित्न सफल यो गीतमाथि गायक शम्भु राईले विवाद झिकेपछि सांगीतिक बजार तातिएको थियो। 

गायक शम्भु राईले आफ्नो 'देउसी भैलो' गीतको भाकासँग मिलेको भन्दै प्रतिलिपि अधिकार अनुसार उजुरी नै हालेपछि प्रकाश सपुत पनि तनावमा थिए।

शम्भु राईसँगको गीतसँग सपुतको गीतको भाका मिलेपछि कतिपयले नेपाली लोक भाका उस्तै हुने भएकाले यसमा विवाद गर्न नहुने तर्क गरेका थिए। अर्कातिर कतिपय यो गीतको भाका चोरी हुनु गम्भीर भएको उल्लेख गरेका थिए।

आफूहरुबीच कुनै दुष्मनी नरहेको दुवै गायकले स्पष्ट पारिसकेका छन्। सपुतले राईलाई सम्मान गर्ने बताएका थिए भने राईले सपुतलाई माया गर्ने अभिव्यक्ति दिएका थिए।

तर गीतको भाका आफूले कहीँबाट कपी नगरेको जिकिर सपुतले गरेका थिए। राईले आफ्नो सिर्जना मर्न नहुने तर्क पेश गरिरहेका थिए। अधिकांश श्रष्टा र लोकसंगीत प्रेमी पनि यसमा विभाजित थिए। केहीले यसलाई जातीय विवादको विषय बनाएर फोहोरी खेलको कोशिश पनि गरेका थिए।

केही साता हलचल ल्याउने गरी चलेको विवादको बुधबार दुवैजनाको सहमतिमा निरुपण भएपछि नेपाली सांगीतिक बजारलाई केही राहत मिलेको छ। दुवै गायकले गीतबारे देखिएको विवादमा सहमति गरेका छन्। सहमतिमा गीतबाट आउने सबै दाम प्रकाश सपुतकै हुने जनाइएको छ भने संगीतको जस शम्भु राईलाई दिइने भएको छ। 

‘दुवै गीतमा भाका मिलेको हकमा लोक दोहोरी 'गलबन्दी बोल'को गीतको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी यु ट्युबको हकमा प्राविधिकरुपमा मिल्नेसम्म शम्भु राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशन गरिने क्षेत्रमा सोही बमोजिम नाम समावेश गरी ‘गलबन्दी’ बोलको गीतलाई प्रकाशन गर्ने’, दुवैले गरेको सहमतिको पहिलो बुँदामा भनिएको छ। 

यस्तै सहमतिपत्रको दोस्रो बुँदामा गलबन्दी गीतको हालसम्म युट्युबसहितका विभिन्न माध्यमबाट प्राप्तको सम्पूर्ण आम्दानीमा प्रकाश सपुतकै पूरा अधिकार हुने उल्लेख छ । यसमा शम्भु राई कुनै दाबी गर्न नपाउने पनि सहमतिपत्रमा उल्लेख छ । सहमति अनुसार शम्भु राईले गलबन्दी बोलको गीतलाई लिएर प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा प्रकाश सपुतविरुद्ध असार ५ गते दर्ता गराएको उजुरी पनि फिर्ता लिएका छन्।

कसले के भने?

गीतको विवाद निरुपण हुनुअघि समाज नै दुई तप्कामा विभाजित भएको थियो। झन् जातीय कुरा उछालेपछि नेपाली समाजको एउटा कुरुप पाटो पनि देखिएको थियो। 

लेखक राजन मुकारूङले सबैले आफ्नो अस्तित्व खोज्नु स्वभाविक भएको बताएका थिए। 'आ-आफ्नो अस्तित्वको अडान हुन्छ। जरुरी चाहिँ अस्तित्वको अस्मिताको हो। अस्मिता चिन्‍ने र बोध गर्ने कोसिस गर्नु अलि ठूलो कुरा हो। अनुज पुस्ताले सिँगौरी खेल्दै पनि आउँछन्। त्यो भनेको उच्च सम्मान पनि हो', उनले भनेका छन्, 'गायक शम्भु राई दाजु, विवेकले सम्झाउने उच्चतम् प्रयास अग्रजहरूबाटै हुनुपर्छ।'

मुकारुङले यसबारे दुवैले सम्यमता अपनाएर सहमित खोज्नुपर्ने बताएका थिए। 'प्रकाश सपुतसँगको यो झमेलाले जे-जस्तो मनोविज्ञान तयार हुँदै छ। यसले हामी कसैलाई फराकिलो देखाउँदैन', उनले भनेका थिए, 'प्रकाशले पनि सोचुन्, युवा हुनाको भ्रम नपालुन्! युवा त त्यो हो, जसले समकालीन चेतका साथ अघि बढ्छ।' 

यो विवादमा कतिपय स्रस्टाले मौनता साँधिरहँदा गायक शिव परियारले पनि मुख खोले। 'अहिले आदरणीय दाइ शम्भु राई र प्रिय भाइ प्रकाश सपुतबीचको सांगीतिक किचलोले समग्र नेपाली संगीत जगतकै लागि सांगीतिक आधिकारसम्बन्धी उचित नियम र संगीतको विज्ञसहितको नियमन निकाय आवश्यक रहेको तथ्य देखायो', उनले भनेका छन्, 'समग्र कलाकारले भविष्यमा फेरि यस्तो अवस्था नआओस भनेर सोच्‍नुपर्ने बेला आइसकेको छ।'

'नेपाली भाकाहरू समाजमै लुकेर बसेका हुन्छन्। लोकगीत उस्तै हुनु यसको विशेषता हो', लेखक तथा पत्रकार  ध्रुवसत्य परियार भन्छन्।

‘प्रकाश सपुतको गलबन्दी गीत जीवन शर्माको 'फूलबुट्टे रेशमी साडी ल्याउन पाइनँ',  'नेपाली एकता हेर बरिलै...'सँग पनि शम्भु राईको गीत जस्तै मिल्छ’, उनी भन्छन्, 'शर्माले यो गीत २०४२ सालमा रेकर्ड गरेका हुन्। रक्तिम भाग-५ मा यो गीत छ। खोज्दै जाने हो भने, शम्भु राई पनि चोखो रहँदैनन्।'

लोकगीत उस्तै उस्तै हुनु लोकगीतको विशेषता रहेको उनको बुझाइ छ। 'लोकभाका उस्तै हुनु र मिल्नु अनौठो होइन। नौलोपना ल्याउन सक्नु कलाकारको खुबी हो। जीवन दाइको गीत पनि खोज्दै जाँदा अरु गीतसँग मिल्न सक्छ', उनले अगाडि थपे, 'हामीसँग नेपालीपन मिल्छ। फेरि पनि हामी एकअर्काको अनुहार फरक छ। अर्थात् विविधतामा एकता हाम्रो परिचय हो। हामी मिलेर, मिलाएर अघि बढ्नुपर्छ।'

लोक दोहोरीले के भन्यो?

यो चोरी हो या संयोग मात्रै?  राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले पनि यसबारे आफ्ना भनाइ सार्वजनिक गर्‍यो। प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले निकालेको लोकभाका केही हदसम्म मिल्ने बताउँदै तर विवादको समाधान वार्ताबाट खोजिनुपर्ने जनाएका थिए।

'गायक प्रकाश सपुतको नाममा प्रकाशित गीतिसंग्रह 'गलबन्दी'को चर्चासँगै वरिष्ठ गायक शम्भु राईको 'देउसी भैलो' गीतिसंग्रहमा समावेश लोकभाका दुरुस्तै गलबन्दीमा समावेश गरिएको राईको गुनासो सुन्यौँ', पंगेनीले भनेका छन्, 'यो नियतवश नभइ आंशिक मिल्न गएको गायक सपुतको स्विकारोक्तिबीच आएको विवादलाई सहमतिले सुरक्षित टुङ्गोमा पुग्ने बाटो उत्तम हो।'

दुवै पक्षलाई मर्का नपर्ने गरी समाधानको पक्षमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान निरन्तर लागेको पंगेनीले बताएका थिए। जानेर वा अन्जानमा भएका कतिपय भुलहरू सम्बन्धित निकायको रोहवरमा सच्याउन सकिने राय प्रतिष्ठानले दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.