'केपी ओलीलाई के सुझाव दिने? बडो अप्ठ्यारो छ'

|
फोटोहरुः युग पाठकको फेसबुकबाट।

चर्चित स्तम्भकार युग पाठक अहिले आफ्नो दोस्रो पुस्तकको तयारीमा छन्। उनको पहिलो पुस्तक 'उर्गेनको घोडा' निकै चर्चित रह्‍यो। कतिले उनीमाथि युद्धलाई बढाईचढाई प्रस्तुत गरेको आरोप लगाए भने कतिले भुईंमान्छेको कुरा उठाएको भन्दै प्रशंशा गरे।

युग पाठक अहिले नेपालमा प्रचलित विभिन्‍न दर्शन र विचारधारामाथि आलोचनात्मक दृष्टिकोणसहितको पुस्तक लेखिरहेका छन्। पाठकले बिहीबार थाहा सञ्चार नेटवर्कसँग फेसबुक लाइभमा एक घण्टा अन्तर्क्रिया गरे। कार्यक्रममा उनलाई थाहा सञ्चार नेटवर्कका पवनराज पौडेलले राजनीतिदेखि व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्‍न विषयमा प्रश्‍न सोधे। कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छः

तपाईं आफ्नो जीवनको कुन पाटोमा सबैभन्दा बढी इन्जोय गर्नुहुन्छ?

अहिले म इतिहास र दर्शनको अध्ययनमा छु। अध्ययनका क्रममा आउने नयाँ-नयाँ विचारले मलाई तरंगित पार्छन्। तर त्यो दीर्घकालिन हुँदैन। सामान्यतया मलाई साथीभाईहरुसँग समय बिताउन रमाइलो लाग्छ। उनीहरुसँग चिया खाँदै घण्टौं गफिन मलाई रमाइलो लाग्छ।

आफ्नै कुन चिज वा क्षमताप्रति सबैभन्दा गर्व गर्नुहुन्छ?

मलाई युग पाठक भनेर चिनाएको लेखनले नै हो। त्यसैले लेखन क्षमताप्रति नै गर्व गर्छु।

तपाईंको जीवनको मूल विश्‍‍वास के हो?

पहिले-पहिले चलिआएकै मान्यताहरुमा विश्वास गरिन्थ्यो। तर समयक्रमसँगै पढ्दै बुझ्दै अघि बढ्ने क्रममा पुराना मान्यता तथा विचारहरुमा प्रश्न उठाउने क्षमताको विकास भयो। त्यति जिज्ञासा वा प्रश्न गर्ने स्वभावकै वरपर मेरो जीवनको मूल विश्वास गाँसिएको छ।

एक्लै बस्दा प्रायजसो के सोच्‍नुहुन्छ, अथवा कुन सोच बारम्बार दोहोरिइरहन्छ?

अहिले म गैह्र–आख्यान लेख्‍न व्यस्त छु। आर्थिक, सामाजिक लगायतका विभिन्‍न विषयहरुमा निबन्ध लेखिरहेको छु। तैपनि मलाई उपन्यासका वा सिनेमाका जस्ता दृश्‍यहरुले झस्काइरहन्छन्। विभिन्‍न पात्रहरुको गतिविधिहरु मानसपटलमा आइरहन्छ। त्यस्तै दृश्‍यहरुको कोलाज बन्छ। उनीहरु हिँडेको, बोलेको दृश्‍हरु देख्छु। न त्यो उपन्यास हो न केही हो, तैपनि त्यस्तो दृश्‍य आइरहन्छ।

तपाईं बेला बेला आँफूलाई कोसँग तुलना गर्नुहुन्छ?

म स्कुले विद्यार्थी छँदा खुब कविता लेख्थें। खण्ड काव्यसमेत लेखियो (हाँसो)। त्यतिखेर म महाकवि देवकोटाको ठूलो फ्यान थिएँ। उहाँसँग आफ्नो तुलना गर्थें।

तर आजकलचाहिँ म कसैसँग पनि आफ्नो तुलना गर्दिन। कस्तो लाग्छ भने हरेक लेखकको आफ्नो विशिष्ठता हुनुपर्छ। समाजलाई दिने नयाँ कुरा हुनुपर्छ। मनोरञ्जन नै दिइराख्‍नुभएको छ भने पनि नयाँ तरिका हुनुपर्छ। प्रेमका बारेमा हजारौं चिज लेखिए कैयौं सिनेमा बने, अब तपाईं प्रेमकै विषय उठाउँदै हुनुहुन्छ भने पनि त्यस्तो शैलीको निर्माण गर्न सकियोस् जसले प्रेमलाई नै नयाँ डाइमेन्सन दिन सकोस्। आजकल म त्यसरी सोच्छु। अहिले चाँहि मेरो लेख्‍ने काम, सोच्‍ने काम, पढ्ने काम भनेको मेरो जीवनको अभिन्‍न पाटो बनिसक्यो। त्यसैले म आजकल कसैसँग आफ्नो तुलना गर्दिन।

आफ्नैबारे चलेको कुनै हल्ला सुन्‍नुभएको छ, जुन अत्यन्तै हाँसोउठ्दो वा रिस उठ्दो थियो?

अनेक- अनेक छ। अब फेसबुकका कुरा छोड्दिउँ। तर कस्तोसम्म हल्ला चल्छ भने एउटाले मेरै एकजना साथीलाई युग पाठकले युरोपियन युनियनको डलर खाएर लेख्छ नि भन्‍ने सुनाएछ। त्यो पनि एकदम सिरियस भएर। मेरो साथी पनि कुरो सुनेर जिल परेछ। नपरोस् पनि किन! कैलेकाँही चिया पिउने बेला मसँग पैसा नभएर उसले हाल्नुपर्ने! उता अर्को भन्दैछ– युग पाठक डलर खाएर लेख्छ!

कतिले फलानोलाई इण्डियन एम्बेसीमा देखेको थिएँ भन्छन्। जब कि मैले आजसम्म त्यहाँ पाइलो पनि हालेको छैन। त्यस्तो कति छ कति !

तपाईँको लेखनको मूल आलोचकहरुको को हुन्? जसले तपाईंलाई रुचाउँदैन।

आलोचकहरु विभिन्‍न थरीका छन्। जस्तो एकथरीले उर्गेनको घोडाको आलोचना गर्ने बेला तपाँईले युद्धलाई ग्लोरिफाई गर्नुभयो भने। त्यस्तै मेरा पछिल्ला केही लेखहरु बमबार्डिङ गर्ने खालका थिए। खासगरी त्यसमा मैले चलनचल्तीको राष्ट्रवादमाथि प्रश्‍न उठाए। स्वाभिमानको विषयमा प्रश्‍न उठाए। त्यसैले मेरा आलोचकहरु वाइड रेञ्जमा छन् जस्तो लाग्छ।

त्यसो भए तपाईंका प्रसंसकहरु को हुन्?

त्यो पनि वाइड रेञ्जमा छन्। खासगरी पछिल्लो समय युवा साथीहरु मसँग नजिकिनुभएको छ। उहाँलाई जोड्ने काम 'के नेपाल ठूलो छ?' भन्‍ने लेखले गरेको हो। यसमा धेरै कुरा थियो जसले उहाँहरुलाई मेरो नजिक ल्याउन मद्दत गर्‍यो।

लेखनकै लागि तपाईंले पाउनुभएको बेस्ट कम्प्लिमेन्ट के हो? कसले गरेको थियो?

एउटा भाई हुनुहुन्थ्यो, मैले नाम बिर्सें। तर उहाँ मेरो लेख 'के नेपाल ठुलो छ? बाट औधी प्रभावित हुनुहुन्थ्यो। उहाँले पछि त्यो लेखलाई भ्वाइसओभर गरेर युट्यूबमा राख्‍‍नुभएछ। त्यसलाई पनि एक किसिमको कम्प्लिमेन्ट भन्‍न मिल्छ होला।

धेरै छन्, तर सबै उस्तै- उस्तै खालका छन्। तर कतिपय बेला मलाई देखेर सरप्राइज्ड हुने मान्छेहरु पनि भेट्छु। तपाईंको उपन्यास वा लेख पढ्दा युग पाठक भनेको बुढो मान्छे होलाजस्तो लागेको थियो तर भर्खरको हुनुहुँदोरहेछ भन्‍नुहुन्छ। कहिलेकाँही चाहिँ कतिसम्म भने 'साँझपख हुने जमघटको' सम्पूर्ण बिल तिर्दिने मान्छे पनि भेटेको छु।

कुनै काम गर्दा-गर्दा वा केही चिज लेख्दैगर्दा भनेजस्तो नभएर दिक्क हुनुभएको पछिल्लो अनुभव?

प्रायःजसो हुन्छ। खासगरी लेख्‍ने क्रममा। मेरै दोस्रो उपन्यासको कुरा गरौं न ! तीन चारपटक र पुनर्लेखन गरिसकें। लेखिरहँदा कस्तो हुन्छ भने भयंकर लेखें भनेर थ्रिल्ड हुन्छु, भोलिपल्ट हेर्दा आफैलाई पटक्कै चित्त बुझ्दैन। यस्तो धेरै हुन्छ।

एउटा यस्तो किताब सिफारिस गर्नुस् जुन पढेन भने मान्छेको जुनी खेरै गयो जस्तो लाग्छ?

त्यस्तो किताब त धेरै छन्। विभिन्‍न विषयका छन्। भन्दै गयो भने लामो सूचि नै बन्ला। तैपनि म दुईवटा पुस्तक सजेस्ट गर्छु। पहिलो, एमसी रेग्मीको 'थ्याच्ट हट्स एन्ड स्टुको प्यालेसेस (सन् १९७८)', अर्को पनि एमसी रेग्मीकै पुस्तक छ 'इम्पेरियल गोर्खा (सन् १९९९)'।

हामीकहाँ चलिरहेको राजनीतिको औसत चरित्रलाई एक वाक्यमा भन्‍नुपर्‍यो भने?

राजनीतिक नैतिकताको ठूलो अभाव छ।

दुईचार वाक्य थप्‍नुपर्लाजस्तो छ?

नैतिकता भनेको के हो? धेरैजसो राजनीतिक दलहरुमा खासगरी कम्युनिस्ट पार्टीमा कसैको यौनजन्य प्रेमसम्बन्धको इस्यु आयो भने अनैतिक भन्‍ने चलन छ। तर राजनीतिमा नैतिकता र अनैतिकताको प्रश्‍न तपाईंले लिएको विचारधारा, तपाईले जनतासँग गरेको प्रतिबद्धता भलै कति लिखित होला कति अलिखित होला, त्यसप्रति तपाईं कति इमान्दार हुनुहुन्छ भनेर जाँच्‍ने हो। राजनीतिमा हार वा जित हुन सक्छ! तर नैतिकताको मूल प्रश्‍न तपाईं कति प्रतिबद्ध हुनुहुन्छ भन्‍ने कुराले निर्क्यौल गर्छ।

हामीकहाँ कति सजिलो छ भने नि, हिजो भर्खर बामदेव गौतमले हामीले त त्यतिखेर माओवादीले भन्दिएको भएर संघीयता मानेको हो भनेर भन्‍नुभयो। यता माओवादीको हेर्नूस्, उसले संविधान ल्याउने क्रममा संघीयताको कुरामा, पहिचानको कुरामा, महिला–पुरुषको बराबर हकअघिकार स्थापित गर्ने कुरामा, नागरिकताको कुरामा कैयौं मुद्दामा सम्झौता गरेको छ। उसले जनतासमक्ष हामी यो-यो कारणले यो-यो परिस्थितिमा यसरी सम्झौता गर्न बाध्य भयौं, तर हामी ती कुनै पनि मुद्दाबाट पछि हटेका छैनौं र हट्ने पनि छैनौं भन्‍नुपर्थ्यो कि पर्दैनथ्यो? तर ऊ पुरै अवधि यो संविधान संसारकै उत्कृष्ट संविधान हो भन्दै हिँड्यो। यसलाई के भन्‍ने?

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलाई कुनै सल्लाह दिनुपर्‍यो भने?

उहाँ पुष्पकमल दाहाल बन्‍नुअघि जुन प्रचण्ड हुनुहुन्थ्यो, त्यो प्रचण्डको एउटा विशेषता मलाई खुब मनपर्थ्यो। त्यो के भने डिफेन्स पनि अफेन्सिभ तरिकाले गर्ने! त्यो भने कस्तो भने तपाईं डिभेन्सिभ हुनुभयो, हार्नुभयो अथवा भाग्‍नुपर्ने भयो भने विभिन्‍न तरिकाले भाग्‍न सकिन्छ। पुच्छर लुकाएर भाग्‍ने एउटा हुन्छ, जहाँ तपाईंलाई शत्रुले थप क्षति गर्न सक्छ नि!

पहिलेको प्रचण्डमा त्यो कला थियो, अफेन्सिभ तरिकाले डिफेन्स गर्ने। शान्ति प्रकृयामा आउनेताकासम्ममा पनि उहाँको त्यो गुण कायमै थियो। तर पछिल्लो समयमा म त्यस्तो देख्दिन। त्यो हुनुपर्थ्यो जस्तो लाग्छ।

अब एमाले अध्यक्ष केपी ओलीलाई एउटा सुझाव?

उहाँलाई के सुझाव दिने भन्‍ने बडो अप्ठ्यारो छ। प्रधानमन्त्रीबाट बाहिर निस्केपछि उहाँको मनोविज्ञान अलिक अर्कै देखिरहेको छु। त्यसैले उहाँलाई स्टेट्सम्यानको रुपमा सुझाव दिने कि एउटा व्यक्तिको रुपमा सुझाव दिने अलि गाह्रो भयो। तैपनि उहाँलाई भन्‍न मन लागेको एउटा कुरा छ। म उहाँलाई झापाकै एकजना कवि हुनुहुन्छ लिला उदासी उहाँको यो झापा हो शीर्षकको कविता दोहोर्‍याएर पढ्न सुझाव दिन्छु।

यो किन पनि भने ओलीजीहरुले मालेको आन्दोलन सुरु गर्दा झापाबाटै गर्नुभएको हो। त्यतिखेर सामन्तीहरुको टाउको काट्ने भन्‍ने थियो। केहीको त काटिएको पनि हो। त्यतिखेर उहाँहरुको त्यो आन्दोलनमा सबैभन्दा बढी त्यहाँका राजवंशी र सन्थालहरुले साथ दिएका थिए। तर पछि के भएको छ भने त्यो आदिवासीहरुको सिंगो समुदायलाई पुस्तौंदेखि उनीहरुले खेतीकिसानी गर्दै आएको जमिनबाट जरो उखेल्ने काम भएको छ। अघि मैले उल्लेख गरेको एमसी रेग्मीको पुस्तकमा पनि त्यसको उल्लेख छ। एक किसिमको सफ्ट जेनोसाइटको काम झापामा भएको छ। त्यै राजवंशीको घरमा बसेर उहाँहरुले आन्दोलन गर्नुभयो, त्यै समुदायका डिकेन्द्र राजवंशीले एमालेको पार्टी मुख्यालयमा आएर आत्महत्या गरे। राजवंशीहरुलाई कसरी राज्यसंयन्‍‍‍‍त्र दुरुपयोग गरेर इतिहासबाट ओझेल पारियो भनेर सम्झाउने कविता हो त्यो।

उर्गेनको घोडापछि तपाईंको कुनै पुस्तक पढ्न पाइएको छैन। नयाँ पुस्तक कहिले आउँछ?

अहिले म दोस्रो उपन्यासको काम थाँती राखेर गैह्रआख्यानमा काम गर्दैछु। नेपालमा प्राचिनकालदेखि अहिलेसम्म चलेका विभिन्‍न दर्शन तथा विचारहरुको चिरफारमा कलम चलाउँदैछु। फाइनप्रिन्टबाट प्रकाशन हुन लागेको उक्त पुस्तक आँउदो मध्य–माघमा पोखरामा हुने लिटरेचर फेस्टिभलअगाबै रिलिज हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.