|

काठमाडौं : लोकप्रिय गायक स्वर्गीय खेमराज गुरुङ ट्रस्टले उनको तेस्रो स्मृति दिवसको अवसरमा वरिष्ठ जनगायक रामेशलाई खेमराज स्रष्टा सम्मान प्रदान गरेको छ ।

गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ, एक जुगमा एकदिन एकचोटी आउँछ लगायतका गीतमार्फत परिवर्तनका पक्षमा बलियो जनमत सिर्जना गर्न सफल रामेशलाई नगद ५० हजार रुपैयाँसहितको खेमराज स्रष्टा सम्मान प्रदान गरिएको हो।

पाँच दशकभन्दा लामो समयदेखि जनपक्षीय गीत संगीतमार्फत पुर्‍याएको योगदानको उच्च कदर रामेशलाई स्रष्टा सम्मान प्रदान गरिएको ट्रस्टले जनाएको छ। यसअघि यस्तो सम्मान वरिष्ठ गीतकार रत्नसम्शेर थापा र संगीतकार प्रकाश गुरुङलाई प्रदान गरिएको थियो ।

त्यस्तै ट्रस्टले स्मृति दिवसका अवसरमा खेमराज प्रतिभा पुरस्कार सुसन लामालाई प्रदान गरेको छ। काभ्रेको चौरी देउराली गाउँपालिकाका लामा २०४७ सालमा प्रतिभाको डबलीमार्फत सिर्जना यात्रामा लागेका हुन्।

यसअघि प्रतिभा सम्मान पहिलो स्मृति दिवसमा गायिका मेलिना राई र गत वर्ष संगीतकार तथा गायक ओमप्रकाश राईलाई प्रदान गरिएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न स्मृति सभामा प्रतिष्ठानमा सदस्य-सचिव श्याम तमोट, सिक्किम सरकारका पूर्वमन्त्री गर्जमान गुरुङलगायत अतिथि थिए।

चर्चित गायक राजेश पायल राईले ट्रस्टको तर्फबाट स्वागत गर्दै खेमराजको स्मरण गरेका थिए । कार्यक्रम ट्रस्टका संरक्षक एवम् गुरुङकी आमा तुलसीमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.