|

बैतडी : सिगास गाउँपालिका–७ न्यौलालीगाड खोलामा पुल नहुँदा सर्वसाधरण जोखिम मोलेर खोला तर्न बाध्य छन्।  न्यौलालीगाड खोलाको पतलीटाप नजिक पुल नहुँदा यहाँका नागरिकले जोखिमपूर्ण यात्रा गर्दै आएका छन्।

वर्षातको समयमा खोला बढेर आउने हुँदा खोला तर्न समस्या हुने गरेको स्थानीय भोजराज अवस्थीेले बताए। खोलामा पुल नहुँदा खोलाको वारिपारि पुग्ने गरी काठ तेर्स्याएर वारपार गर्दै आएका छन्। अवस्थीले भने, ‘दैनिक १०० भन्दा बढी मानिस वारपार गर्ने खोलामा पुल नहुँदा जोखिम मोलेर तर्नुपर्ने अवस्था रहेको छ।’ 

बालबालिकाहरु समेत विद्यालय जाँदा सोही खोला तरेर जाने गरेको छ। दैनिक उपभोग्य सामग्री किन्न बजार जान, वनजंगल, घाँसदाउरा जाँदा पनि सोही खोला तर्नुपर्ने बाध्यता छ। न्यौलाली, टोपेड, ओखडगाउँ, कपडाइजर, खेतकोट लगायतका ठाउँका बासिन्दा उक्त खोलामा जोखिमपूर्ण यात्रा गर्दै आएका छन्। 

न्यौलालीगाड खोलामा झोलुंगे पुल निर्माणको लागि स्थानीय सरकारसँग माग गरेको भए पनि कुनै चासो नदिएको त्यस क्षेत्रका बासिन्दाको आरोप रहेको छ। यता सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले भने उक्त ठाउँमा पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालय डडेल्धुरालाई सिफारिस गरी पठाइएको बताए। गाउँपालिकाका अन्य ठाउँमा झोलुंगे पुल निर्माण भइरहेकाले यो वर्ष उक्त ठाउँमा पुल निर्माण गर्न नसकिएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.