|

काठमाडौं :   काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिका हरित शहर बनाउने अभियान स्वरुप निरन्तर अघि बढेको बताएका छन्।

बिहिबार वन तथा वातावरण मन्त्रालयको वातावरण विभाग, काठमाडौं महानगरपालिका र नेपाली सेनाकाे संयुक्त आयोजनामा सुन्धारा क्षेत्रमा वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन्। ‘हरित शहर बनाउने काठमाडौ‌ं महानगरपालिकाको अभियान अनुसार नै हामीले वृक्षारोपण कार्यक्रमको आयोजना गरेका हौँ,’ प्रमुख शाक्यले भने, ‘सार्वजनिक जग्गामा हरियाली पार्क निर्माण गर्नेलगायतका काम हामीले तिव्ररुपमा अघि बढाएका छौँ । यो पनि पनि त्यहि अभियानको निरन्तरता हो।’

प्रमुख शाक्यले पाँच फिट भन्दा माथिका मात्र विरुवा रोप्ने महानगरको नीति भएको भन्दै त्यहि अनुसार नै आज १ सय ६५ वटा विरुवा रोपेको बताए।

‘यो अभियानमा १५ मिटर दुरीकाबीच पर्ने सडक खण्डको दुवै किनारामा कम्तीमा पनि त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म ४ देखि ५ सयको हाराहारीमा विरुवा रोप्ने योजना छ,’ उनले भने, ‘यसरी रोपेका विरुवालाई हुर्काउने र व्यवस्थापन गर्ने सबै जिम्मा नेपाल आर्मीलाई दिएका छौँ।’

उनले यस्तो अभियान महानगरका ३२ ओटै वडामा केन्द्रित रहेको भन्दै महानगरपालिकाले सार्वजनिक विद्यालयलगायतका स्थानमा पनि वृक्षरोपन गर्ने कार्यक्रम अघि बढेको उनको भनाइ थियो ।

कार्यक्रमपछि काठमाडौं वतावरण व्यवस्थापन विभागलाई सहर सफा राख्ने कुराका कुनै पनि कमी हुन नदिन निर्देशन दिए। ‘हामी पर्यटन वर्ष २०२० को नजिकमा छौँ,’ शाक्यले भने, ‘सहर कसरी सफा राख्न सकिन्छ, त्यसमा बढी ध्यान दिनुहोला । पर्यटकलाई आकर्षित कसरी गर्न सकिन्छ त्यसमा पनि ध्यान दिनुहोला ।’

वृक्षारोपणको अग्रसरता लिएको काठमाडौं महानगर पालिकाको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पनि नेपाली सेना र काठमाडौं महानगरपालिकाका बीचमा सहरी स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारका ३ क्षेत्रमा साझेदारिमा आधारित कार्यक्रम सञ्चालनमा सम्भावना देखिएको बताए ।

‘यीमध्ये महानगरको केन्द्रीय कार्यालय र नेपाली सेनाको मुख्यालय अगाडि बृक्षारोपण गरिएको हो,’ उनले भने, ‘स्वास्थ्योपचार र शिक्षाको गुणस्तर सुधारका लागि कार्यक्रम छनौट अन्तिम चरणमा पुगेको छ। केही समयको अन्तरालमा नै सार्वजनिक हुनेछ ।

त्यसैगरी दुवै निकायको मुख्य प्रवेशद्वारबाट त्रिपुरेश्वरतर्फ नेपाली सेनाको मुख्यालयतर्फको स्थानको सरसफाइ र सौन्दर्यीकरण गर्ने, यात्रुलाई बस्ने मेचको व्यवस्था गर्ने योजना छ । यसका लागि महानगरले गर्छ, व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।’

काठमाडौ‌ं वतावरण व्यवस्थापन विभागका प्रमुख हरि श्रेष्ठले पनि आफूहरु सहर सफा राख्ने अभियानमा निरन्तर लागेको बताए। ‘मेरो ध्यान फोहोर–मैला व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेमा मात्रै बढी केन्द्रित भएको छ,’ श्रेष्ठले भने, ‘पर्यटन वर्षलाई समेत ध्यानमा राखेर हामीले अभियान अघि बढाएका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.