उदयपुर : उदयपुरगढी गाँउपालिका–७ अँधेरीका मोहनबहादुर मगरको मुख्य आय स्रोत घरमा पालेको खसीबोकानै हो। ‘लाखौं वा करोडौं लगानी गरेको ठूलो फर्म नभए पनि मेरो परिवारको आर्थिक आय स्रोत भनेको खसी बोकानै हो,’ उनले भने, ‘वार्षिक ढेड दुई लाख रुपैयाँ कमाउन कतै जानु पर्दैन, मेरो परिवार पाल्ने मुख्य स्रोत भनेकै बाख्रा पालन हो।’
सोही वडामा रहेको विश्वकञ्चन सामुदायिक वन समूहले केही वर्षअघि गरिबी निवारण कार्यक्रमबाट गाउँमा बाख्रा वितरण थियो। त्यही बाख्राबाट सर्वसाधरणले प्रतिपरिवार वार्षिक एक लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन।
अँधेरी गाउँमा मात्र होइन, परम्परागत रुपमा कृषि पेशमा आधारित अधिकांश किसानको घरमा खसी बाख्रा पालिन्छ। ‘घरमै पालेका खसी बोकाले घर खर्च चलाउन भनेको गाँउघरमा पुख्यौली चलन हो,’ विश्वकञ्चन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भिमबहादुर बस्नेत भन्छन्, ‘पछिल्लो समय वन समूह, गैरसरकारी संस्था वा सरकारी अनुदानबाट पनि बाख्रा पालन बढ्दै गएको छ।’
ग्रामीण भेगमा बसोबास गर्ने किसानको चाडपर्व र खर्च चलाउने प्रमुख स्रोत खसी बोकानै हो। ‘एउटा घरमा पालेको खसी बिक्री हुनु पर्यो कि वैदेशिक रोजगारीमा रहेका छोराछोरीको पैसो आउनु पर्यो,’ उदयपुरगढी गाँउपालिका–१ का मनोज खत्री भन्छन, ‘दुई दशक यता विदेश जाने चलन बढेपछि विदेशबाट पैसा आउने गरेको छ। दशैँ जस्ता चाडबाड घरमै पालेका खसी बोका पालेर मनाउँदै आएका हौ।’
गाउँका किसानले घरमा पालेका खसी बोका नबिके वैदेशिक रोजगारीमा रहेका छोराछोरी वा भाइबहिनीलगायत आफन्तको भर पर्नु पर्ने बाध्यता छ। ‘गएको वर्ष घरमै पालेका १६ वटा खसी बिकेका थिए,’ कटारी नगरपालिकाका फणिन्द्रबहादुर राउतले भने, ‘यस वर्ष विकेका छैनन्, मलेसियमा रहेको छोरोले ४० हजार पठाइदिएको छ, त्यसैले दशैँ मनाउनु पर्छ होला।’
त्रियुगा नगरपालिका–११ का ७६ वर्षीय गंगाबहादुर बुढाथोकीका अनुसार विदेशतिर जाने चलन नहुँदा घरै पालेका खसी बोका बेचेर नै दशैँ मनाइन्थ्यो। अहिले विदेश जाने चलन पनि आएको छ। गाउँमा ऋण खोज्दा पनि पैसा पाइन्छ। उनले थप्दै भने, ‘खसी बोका पाल्न पनि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले समूहमार्फत सहयोग गरेकाले धेरै खसी बोका पालिने गरेको छ।’
ग्रामीण सडकले बिक्रीमा सहजता
किसानले परम्परागत शैलीमा घरमा पाल्दै आएका खसीबोका बिक्री गर्न गाउँगाउँसम्म पुगेका सडकले सहजता ल्याएको छ। ‘पहिला पहिला खसी डोर्यउँदै नजिकै बजार कटारी, गाईघाट पुर्याउनु पर्दथ्यो,’ उदयपुरगढीका मनोज खत्री भन्छन्, ‘अहिले गाँउमै व्यापारीहरु आउने गरेका छन्, बजारदेखि गाउँसम्म सडक सञ्जाल जोडिएपछि गाउँमै व्यापारी आउने भएकाले बिक्रीको सहज भएको हो।’
अहिले प्रायः सबै गाउँहरुमा हिउँदै सडक पनि पुगेका छन्। तिनै सडकले किसानले उत्पादन गर्ने मासुजन्य वस्तु वा तरकारी फलफूल बिक्री गर्न सजिलो दिएको छ। परम्परगत रुपमा पालिने खसी बोकालाई पछिल्लो समय व्यावसायिक रुपमा पाल्न थालिएको भन्दै कटारी नगरपालिका ११ का स्थानीय किसान लोकबहादुर मगरले भने, ‘अहिले विभिन्न संघ संस्थाको सहयोग पनि पाइन्छ, सडक बनेपछि खसी बोकाको औषधि उपचारमा पनि सहज भएको छ, बिक्रीको लागि गाउँमै व्यापारी आउने गरेका छन्।’
तौलेर बेच्न नपाउँदा किसान दुःखी
ग्रामीण क्षेत्रका किसानले पाल्दै आएका खसी बोका अझै पनि तौलेर बिक्री गर्न पाएका छैनन्। कटारी नगरपालिका–६ का ज्ञानबहादुर खत्रीले नतौली बेच्नु पर्दा घाटा ब्यहोर्नु परेको उनको भनाइ छ। ‘गएको वर्ष सात वटा खसी बेचेर दशैँ मानेको थिएँ,’ उनले भने, ‘खसी व्यापारीलाई मैले एक लाख ३० हजारमा बेचेको थिएँ।’
दैनिक दुई सय बिक्री
उदयपुरका किसानले पालेका खसी बोका दैनिक २०० दरले काठमाडौं निर्यात हुने गरेको छ। गाईघाट, कटारी, बेल्टारलगायतका नाकाबाट उक्त संख्यामा खसीबोका काठमाडौं निर्यात भइरहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका अधिकृत तेजबहादुर कार्कीले जानकारी दिए।
सोह्रश्रद्धा सुरु भएसँगै खसी बोकाको बिक्री बढेको छ। गत आर्थिक वर्ष मात्र उदयपुरका ६ लाख ७५ हजार वटा खसी बोका वार्षिक रुपमा उत्पादन भइरहेको तथ्यांक पशु सेवा विज्ञ केन्द्रसँग छ। ‘उदयपुरबाट वार्षिक रुपमा दुई हजार मेट्रिकटन मासु उत्पदन हुँदै आएको छ,’ कार्कीले भने, ‘दैनिक रुपमा ४० वटाभन्दा बढी खसी गाईघाट, कटारी, बेल्टार, रामपुर लगायतका क्षेत्रमा खपत हुँदै आएको छ।’
उदयपुरमा जमुनापारी, लाम्काने, वर्णशंकर लगायतका उन्नत जातका तथा स्थानीय जातका खसी बोका पालिने गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।