ताप्लेजुङ : फुङलिङ बजारको तोक्मेडाँडा हटियादेखि बुद्धचोक घुम्ती सडकको कालोपत्रे एक महिना नपुग्दै भत्किएको छ। ठेकेदारको लापरवाहीका कारण आठ सय मिटर सडकमध्ये अधिकांश भागको कालोपत्रे उप्किएको छ।
भत्किएको देखि-देखि सघन शहरी तथा भवन निर्माण आयोजना झापाले अनुगमन गरेर पास गरेको स्थानीयको गुनासो छ। ठेकेदारले कार्य सम्पन्न गरेको भन्दै भुक्तानी लगिसकेका छन्।
मैनाचुली निर्माण कम्पनीले गत असारमा पिच र ढलान गरेको थियो। ‘असारे झरीमा रातदिन नभनि कालोपत्रे गरे,’ सडक छेउमा घर भएका विवेक बानियाँ भने,‘उतिबेलै भत्कन थालेको।’ सो सडकमा जोडिएको अधिकांस सोलार बत्ति समेत बल्न छाडेको उनले बताए।
निर्माण कम्पनीले मात्रा नमिलाइकन काम गरेकाले भत्किएको सडक रहेको फुङलिङ नगरपालिका ४ का वडाध्यक्ष जितेन चेम्जोङले बताए। ‘पिच धेरै कमसल छ,’ चेम्जोङले भने,‘२० सेन्टिमिटर गिटीको वेश नै छैन, त्यसैले भत्किएको हो।’ निर्माण व्यावसायीले स्थानीयतहसँग समन्वय नै नगरि काम गरेको चेम्जोङले बताए।
बारम्बार भेटेर कुरा गर्न खोज्दा सम्पर्कमै नआएको चेम्जोङको गुनासो छ। ठाउँ–ठाउँमा पहिरो खसेर नाली र सडक नै पुरेको छ।‘सडकमा सिधै भलको पानी पस्छ र जम्छ, त्यहामाथी गाडी कुदेपछि भत्कन थाल्छ,’ स्थानीय अरुण सेन्दाङ भन्छन्,‘यस्तो पनि पिच हुन्छ, कमसेकम भलको पानी नालीबाट कट्नुपर्ने होइन र ?।’
१५ महिनामा सक्नेगरि २०७४ असारमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, इलाम ठेक्का लगाएको थियो। कार्यालयहरुको पुर्नसंरचनापछि केन्द्रले सघन शहरी तथा भवन निर्माण आयोजना झापालाई जिम्मा दियो। सम्झौमा निर्माण कम्पनीले ३ करोड ७ लाखमा पिच गर्ने, केही स्थानमा ढलान गर्ने र ३५ वटा सोलार बत्ति जडान गर्नुपर्ने उल्लेख रहेको सघन शहरी तथा भवन निर्माण आयोजना झापाले जनाएको छ।
ठेकेदारले काम गुणस्तरहिन गरेको भन्ने आफूले जानकारी पाएको आयोजनाका इञ्जिनियर विनोद सिंहले बताए। ‘त्यो सडकको विषयमा यहाँ चिठी आएको छ,’ सिंहले टेलिफोनमा भने, ‘भदौ १३ गते निर्माण व्यावसायीलाई यथार्थ जानकारी दिन पत्र कटिसकेका छौं।’ साइट हेर्ने इञ्जिनियर सरुवा भएको र नयाँ भर्खर आएकाले अनुगमन गर्न बाँकी नै रहेको उनले बताए।
सिंहका अनुसार निर्माण कम्पनिले कुल रकमको ५ प्रतिशत भुक्तानी लिन बाँकी छ। अनुगमनको क्रममा त्रुटी भेटिए तुरुन्त मर्मत गर्न लगाउने उनले बताए । स्थानीय भने पुनः कालोपत्रे गर्न लगाउनुपर्ने बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।