म्याग्दी : दशैंको समय छ। घरघरमा मासुका विभिन्न परिकार पाकिरहेका छन्। साकाहारीहरू पनिर, चिज, टुसालगायतका खाद्यवस्तुको खोजीमा छन् भने मांसहारी च्यांग्रा, चेलु, खसी, बोकाको जोहो गरी खाइरहेका छन्।
मासुको विभिन्न परिकारहरूमध्ये सुकुटी पनि स्वादिष्ट परिकार हो। त्यसमा पनि हिमाली जडीबुटी खाएका मुस्तांगी च्यांग्राको सुकुटीको माग नेपाली बजारमा मात्रै होइन संसारका विभिन्न मुलुकमा पुगेका नेपालीमा पनि उच्च रहेको छ।
मुस्ताङ प्रवेशद्वार मानिने म्याग्दीको सदरमुकाम बेनीका होटल व्यवसायी यतिबेला मुस्तांगी च्यांग्राको सुकुटी बनाएर सुकाउन व्यस्त छन्। सुकुटी सुकेपछि फ्राइगरेर खानुको मजा नै बेग्लै हुने सुकुटी पारखीको भनाइ छ। बेनीको पर्यटकीय होटल याकमा यतिवेला सुकुटी बनाउन भ्याइनभ्याइ छ।
त्यसैगरी होटेल यति, डल्फिन, मुस्ताङ लेते, शिखर, न्यू नमस्ते लगायतका स्तरीय होटलमा सुकुटीको माग बढी हुने भएकाले यी होटलमा खसी तथा च्यांग्रा काटेर सुकुटी बनाउन भ्याइनभ्याइ भएको हो।
हिमाली क्षेत्रका यार्सागुम्बा, जटामसी, निरमसी तिथोलगायताका शक्तिवर्धक जडीबुटीहरू खाएका हिमाली च्यांग्राको मासु स्वास्थ्यका लागि समेत उपयोगी मानिने हुँदा भेडा, चेलु र खसीको तुलनामा महँगो हुने गर्दछ। यस वर्ष मुस्तांगी च्यांग्राको मूल्य २८ हजारदेखि ४० हजारसम्म पुगेको व्यापारीले बताएका छन्।
यति महँगा च्यांग्राको सुकुटीको मूल्य पनि अत्यधिक छ। प्रतिकिलो ३ हजारभन्दा बढी रहेको व्यापारीले बताएका छन्। जति महँगो भए पनि खपत पनि अत्यधिक रहेको छ। विशेष गरी विदेशमा रहेका आफन्तलाई कोशेली पठाउनेले अत्यधिकरूपमा सुकुटी किन्ने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।