१४ लाख राजश्व संकलन

|

बैतडी : नेपालीको मुख्य पर्व दशैंमा बैतडीसहित सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय बढी सवारी चालक कार्वाहीमा परेका छन्।  

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १२ गते घटस्थापनादेखि असोज २६ गते कोजाग्रत पूर्णिमासम्म सुदूरपश्चिमका नौवटै जिल्लामा २ हजार ५०९ सवारी चालक कार्वाहीमा परेका हुन्। 

ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालक कार्वाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मोहन साउँदले जानकारी दिए। सवारी नियम उल्लंघन गरेवाफत कार्वाहीमा परेका सवारी चालकवाट १४ लाख बढी राजश्व समेत संकलन गरिएको छ।

दशैंको १५ दिनको अवधिमा सवारी कार्वाहीबाट १४ लाख ३८ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख साउदले बताए।  दशैंको अवधिमा सुदूरपश्चिम प्रदेशमा २ सवारी दुर्घटनामा परेका जनाइएको छ।

दुर्घटनामा परी २ जनाको मृत्यु भएको र २ जना घाइते भएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सुदूरपश्चिमको राजधानी कैलालीमा भएका ती २ सवारी दुर्घटनाबाहेक सुदूरपश्चिमका अन्य जिल्लामा कुनै पनि सवारी दुर्घटना नभएको ट्राफिक प्रहरीको भनाई रहेको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गरी प्रदेशका नौवटै जिल्लामा हेल्प डेस्क स्थापना गरेको छ। यसका साथै टाइम कार्ड, क्षमताभन्दा बढी यात्रु ओसारपोसार गरेको, चालकलाई प्रशिक्षण दिनुका साथै चालकलाई शुभयात्राका लागि फूलमालासहित सम्मानको कार्यक्रम पनि जारी राखेको छ।

अन्य समयको भन्दा चाडपर्वको बेला सवारी दुर्घटना हुने भएकोले सवारी चेकजाँचमा पनि कडाई गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.