|

जनकपुरधाम : जनकपुर विमानस्थलमा बुद्ध एयरको काउण्टर तोडफोड आरोपमा पक्राउ परेका संघीय साँसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाले अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको म्याद दिएको छ।

हिजो काठमाडौंबाट पक्राउ गरी साँसद साहलाई जनकपुर ल्याएका थिए। तर ढिलो भएपछि आज अदालतमा पेश गर्दा अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको म्याद दिएको हो। अदालतमा साँसद साहलाई लगेका बेला ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

सर्लाहीबाट निर्वाचित राजपा साँसद साह सोमवार जहाज ढिलोसम्म विमानस्थलमा नआएको आक्रोसमा बुद्ध एयरको काउण्टर तोडफोड गर्नुका साथै म्यानेजर विजय सिंहलाई दुव्र्यवहार गरेका थिए। सोही घटनालाई लिएर नागरिक उड्डयन प्राधिकरणले उनीमाथि गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत मुद्दा दर्ता गराएको छ।

साँसद साह पक्राउको विरोधमा राजपाले आज जनकपुरको रामानन्द चौकमा विहान ८ देखि ९ बजेसम्म सडक अवरुद्ध गरे। साथै आजै जनकपुरको कदम चोकमा रहेको बुद्ध एयरको सिटी अफिसमा तालाबन्दी गरेको छ।

राजपाले साँसद साहमाथि झुठा मुद्दा लगाएको भन्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। आन्दोलनका थप कार्यक्रम आज सार्वजनिक गरिने राजपा प्रदेश साँसद तथा प्रमुख सचेतक प्रमेश्वर साहले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.