सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको धार्मिक, पर्यटकीय र व्यापारिक रुपमा प्रख्यात छ तातोपानी। तातोपानी धाराले मात्रै नभएर व्यापारिक दृष्टिकोणबाट पनि अग्र स्थानमा छ।
नेपाल र चिनबीचको सिमाना मितेरी पुल पुग्नुअगावै आउँछ तातोपानी धारा। त्यहाँ प्राकृतिकरुपमा ४४ डिग्री सेन्टीग्रेड तापक्रमयुक्त पानी निस्कन्छ। तातोपानी धारामा स्नान गर्नको लागि वर्षमा दुईपटक खुल्ने गर्दछ।
कात्तिक र चैत्र महिनामा तातोपानी धारामा स्नान गर्नाले छालासम्बन्धी विभिन्न किसिमका रोगव्यधिबाट बच्न सकिने जनविश्वास छ। फलस्वरुप : मेला स्नानको महिनामा तातोपानी धारा स्नान गर्नेको घुइँचो लाग्ने गरेको छ।
तातोपानी धारामा स्नान गर्नका लागि मेलामा स्वदेशी तथा विदेशी पर्यटकको ओहिरो लाग्ने गरेका तातोपानीधारा व्यवस्थापन समितिले जनायो। यहाँको पानीमा स्नान गर्नाले छाला, हड्डीलगायत विभिन्न रोग निको हुने विश्वास भएकाले तीर्थालुहरू स्नान मेलामा आउने गर्दछन्। बाह्रै महिना मूलबाट तातोपानी आउने भए पनि कात्तिक र चैतमा विशेष मेला लाग्ने गरेको तातोपानी धारा व्यवस्थापन समितिका विष्णु श्रेष्ठले बताए।
धार्मिक, पर्यटकीय तथा व्यापारिक केन्द्रको रुपमा परिचित तातोपानी धारामा पछिल्लो समय बाथरोगीको हितलाई ध्यानमा राखी स्वीमिङ पुलको व्यवस्था गरिएको उनले बताए। धारामा पारिवारिक वातावरणमा नुहाउनेका लागि अतिरिक्त शुल्कमा नुहाउने प्रवन्ध गरेको छ।
सामुहिक रुपमा नुहाउन ७ वटा धारामध्ये महिला र पुरुषका लागि छुट्टाछ्ट्टै व्यवस्था रहेको समितिले जनायो। मेलामा दैनिक कबिर ५ सय भन्दा धेरै तीर्थालु आउने अनुमान व्यवस्थापन समितिले गरेको छ।
कात्तिक महिनाभर लाग्ने मेला भर्न संघीय राजधानी काठमाडौँ, दोलखा, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुरलगायत विभिन्न जिल्ला यहाँ आउने गरेका छन्। पर्यटकीयस्थल भएकाले धारामा स्नान विदेशी पर्यटकको समेत बाक्लो भीड लाग्दछ।
यसकारण गर्छन् रोग हट्ने विश्वास
धार्मिक एवं पर्यटकीय दृष्टिकोणले प्रख्यात सिन्धुपाल्चोकको तातोपानी धारामा स्नान गर्नाले विभिन्न रोगबाट छुट्कारा पाउने धार्मिक जनविश्वास छ। यहाँ प्राकृतिक रुपमै ४४ डिग्री सेन्टिग्रेड तापक्रमको पानी उत्पन्न हुन्छ।
पानीमा गन्धक नामक लवण मिसिएको हुनाले छाला सम्बन्धी रोग निको हुने स्वास्थ्य विज्ञहरूको भनाई छ। तातोपानी धाराको धार्मिक तथा वैज्ञानिक पक्षकै कारण पछिल्लो समय देश तथा विदेशबाट लाखौंको भक्तजनको ओहिरो लाग्दछ।
ऐतिहासिक पक्ष
तातोपानी धारा त्रेतायुगमा शृङ्गी ऋषिले तपस्या गर्न कैलाश पर्वत जाने क्रममा त्रिशूलले खोप्दा सिर्जना भएको भन्ने प्रचलन छ। सोही क्रममा नेपाल–चीन सीमावर्ती क्षेत्रका तातोपानी धारा सिर्जना भएको धर्मशास्त्रमा वर्णन गरिएको छ।
पर्यटक तान्नमा मद्दत
नेपाल चीनको सीमाक्षेत्रमा भएको तातोपानी धाराले सिन्धुपाल्चोकको पर्यटक आकर्षण गर्नमा मद्दत पुगेको छ। सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्रबाट मनोरम दृष्य अवलोकन गर्दै पुग्न सकिन्छ तातोपानी धारा। संघीय राजधानी काठमाडौँबाट एकसय ११ किलोमिटरको दूरीमा पर्ने धारामा तीनदेखि चार घन्टाको दूरीमा पुग्न सकिन्छ।
काठमाडौँबाट एकदिनमै तातोपानी धाराको स्नान गरेर फर्कन सकिने भएकाले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक लालाहित हुने गरेका छन्। देशका विभिन्न भागबाट कर्मथलो बनाएका व्यक्तिहरूले पनि तातोपानी धाराको एक दिन खर्चेर सस्तो शुल्कमा मेला भर्न सक्दछन्। त्यसैले अत्य दिनको तुलनमा बिदाको दिनमा तातोपानी धारामा घुइँचो लाग्ने गर्दछ।
संकलित रकमबाटै पुनर्निर्माण
तातोपानी मेलामा स्नान गर्न आउँनेहरुबाट संकलित रकमबाटै धाराको पुननिर्माण गर्ने योजना बनाएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। संकलित रकमबाट धारको मर्मत, मन्दिर निर्माण, धाराको आसपास बगैँचा निर्माण गर्ने योजना तय भएको उनको भनाई छ।
संकलित रकमबाट सो काम गर्नका लागि तातोपानी विकास समितिलाई नै जिम्मा दिइएको समेत जनाए। सो रकमबाट अपुग रकम पालिकाले हालेर तातोपानी धारालाई पर्यटकको आकर्षकको विन्दुको रुपमा विकास गर्ने लक्ष्य लिइएको अध्यक्ष पौडेलले बताए।
भुकम्पपछिको मेलामा धेरै भक्तजन आउने अपेक्षा
विनासकारी भुकम्पले तातोपानी धारालाई पनि प्रभावित पारेको थियो। त्यसपछि तातोपानी नाका समेत सञ्चालनमा आउन सकेको थिएन। तातोपानी नाका भूकम्प गएको चार बर्षपछि सञ्चालनमा गत जेठ १५ बाट आयो। त्यसका कारणले तातोपानी क्षेत्रमा मानिसको चहल-पहलमा वृद्धि भएको छ।
तातोपानी नाका सञ्चालनमा आएकै कारणले पनि भूकम्पपछिको तातोपानी मेलमा यसवर्ष धेरै भक्तजनको आगमन हुने अपेक्षा लिइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।