|

म्याग्दी : जताततै तिहारको रौनक शुरु भएको छ। तर, असोज २१ गते वडादशैंको दिन परेको भीषण असिनाले चुटेर धानवाली सखाप पारीदिएको बेनी नगरपालिका २ ज्यामरुककोटका किसानहरुलाई भने असिनाबाट बचेको धान पराल थन्काउन भ्याइनभ्याइ छ।

म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका किसानहरु यतिबेला धानपराल गर्न व्यस्त छन्। मौसममा देखिएको परिवर्तनसंगै उनीहरुलाई असिनाबाट बचेको धान पराल थन्काउने चटारो परेको हो।

तिहारले छोइसके पनि यहाँका किसानहरु काममा नै व्यस्त छन्। ‘तिहारको कुनै रौनक छैन, असिनाले धान सखाप पारेपछि वर्षभरी के खाने भन्ने चिन्ताले सबै पिरोलिइ रहेका छन्।, बेनी नगरपालिका २ गौश्वाराका यदिनाथ रिजालले भने।

कृषक रिजालका अनुसार पहिला २० मुरी धान फल्ने खेतमा यसपाली असिनाले चुटेर १ मुरी पनि छैन। तैपनि पराल थन्काउनका लागि ३ जना खेताला हालेर काम गर्नुपरेको छ।

ज्यामरुककोटमा वडादशैंको दिन परेको असिनाले २ करोडभन्दा बढि क्षति भएको कृषि ज्ञान केन्द्र म्याग्दीले स्थलगत अनुगमन गरी निकालेको क्षतिको विवरणमा उल्लेख छ। किसानहरुले क्षतिपुर्तिको माग गरेका छन्।

ज्यामरुककोटको गौश्वारा, सानालेख, भकुण्डे, काउनखर्क, तमाने र फापरखेतमा असिनाले धान लगाएतको वर्षेवालीमा ठूलो क्षति पुर्याएको थियो। अहिले यहाँका किसानहरु बचेको वाली भित्राउन व्यस्त भएका हुन्।

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.