|

म्याग्दी : चारैतिर शरद ऋतुको उल्लासमय वातावरण। खेतबारी र पाखापखेरामा ढकमक्कै फूलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैं सिंगारिदिएका छन्। विजुली वत्तीको झिलीमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ।

तर, प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ। युवापुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वहरुले आफ्नो मौलिकता गुमाउँदै गएका संस्कृतिविद्हरुको भनाइ रहेको छ।

नेपालीहरुका लागि दशैंपछिको दोस्रो ठूलो चाड तिहार पशुपंक्षी, प्रकृति र पुरुष(भाइ) पूजा गरिने एकमात्र चाड हो। दशैंमा बली दिने प्रचलनले कहिकतै कसैलाई नरमाइलो लाग्छ भने तिहारमा सवै उमेर,वर्ग र सम्प्रदायका मानिसहरु रमाउने गर्दछन्।

हिन्दू संस्कृतिका अध्येता पं भीमनाथ पराजुलीका अनुसार तिहार प्रकृति,पुरुष र ऐश्वर्य (लक्ष्मी)लाई खुसी बनाउने रोमान्चक चाड हो।  तर पछिल्लो समय यो चाडमा पनि निकै विकृतिहरु भित्रिएकाले यसको सांस्कृतिक पहिचान नै ओझेलमा पर्दै जान थालेको उहाँ बताउँछन्।

आधुनिकतासँगै तिहार पर्वमा पनि अनेक खालका विकृतिहरु देखिन थालेको पं पराजुलीले बताए। ‘अरुबेला वास्ता नगरिने पशुपंक्षीलाई पनि तिहारमा पूजा गरिन्छ,पं पराजुलीले भने ‘यसले सबै प्राणीबीच समदृष्टिकोण राख्नु पर्दछ भन्ने सन्देश दिन्छ। काग,कुकुर,गाई,गोरु,लक्ष्मी र भाइ (दाजुभाइ) लाई  तिहारमा पूजा गरेर सुख,शान्ति र ऐश्वर्यको कामना गरिने यस पर्व अहिले केवल औपचारिकतामा सीमित भएको उनको भनाइ छ।

बिजुलीको झिमिमिलिमा तिहार

पहिला पहिला माटाको दियो र अमिलाको पातमा बाती (वत्ति) वालेर जिम फाल्ने चलन चहिले हराएको छ। घरको मूलढोका,सहायक ढोका, आगनको डिल, तुलसीकोमठ, धनसार,गोठ, जुठेल्नो जतातलै बत्ति बालेर जिम फाल्ने चलन थियो। तर अहिले भने जतातलै विजुली बत्ति बालेर उज्यालो बनाइने गरिन्छ। बेनी नगरपालिका २ बगरफाँटका ८३ वर्षिय बेदप्रसाद शर्मा भन्छन् ‘यसबाट मनोरञ्जन त प्राप्त हुन्छ तर जिम फाल्ने विधान र तिहारको मौलिकता हुँदैन।

माटाको दियो,अमिलाको पात र मैनवत्ति हुँदै अहिले विजुलीको झिलीमिली बत्तिमा मनाइने तिहारको मौलिकता कुनै चिजमा पनि बाँकी नरहेको बूढापाकाहरुको भनाइ रहेको छ।

 पहिलापहिला दियो माटोको हुन्थ्यो। अचेल बालिने कृत्रिम बत्तीका कारण मानिसलाई मनोरञ्जन त हुन्छ तर मौलिकता रहँदैन। अचेल माटोको पाला पूजाकोठामा सीमित भएको भन्दै उहाँले माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ।

झ्याल ढोकामा देखिदैन तेलको धार

यमराजलाई बाटो छेक्नका लागि विशाल नदीको प्रतिकका रुपमा घरको मूल ढोकामा हालिने तेलको धारले प्रतिकात्मक अर्थ दिन्थ्यो। दाजुभाइलाई यमराजबाट सुरक्षित राख्नका लागि दिदीबहिनीले मूल ढोकामा तेलको धार हालेर बाटो छेक्ने प्रचलन पछिल्लो समय हराउँदै गएको शर्माले बताए।

‘ओखर फोरिन्थ्यो, तेलको धार हालिन्थ्यो, देउसी भैलो खेलिन्थ्यो, साथीभाइहरु एकै ठाउँमा भएर जुवातास खेली रमाइलो गरिन्थ्यो, शर्माले भने ‘अब ती सबै कुराहरु हराइसके, तिहार केवल औपचारिकतामा सीमित हुन थालिसकेको छ।

भाइमसला बनाउन फुर्सद छैन दिदीबहिनीलाई

सूचना र प्रविधिले विश्वलाई नै साघुरो बनाइदिएपनि अपनत्व र सौहार्दतालाई भने निकै टाढा पुर्याइदिएको छ। मोवाइल र ईन्टरनेटको बढ्दो प्रभाव र प्रयोगका कारण मानिसहरु यति व्यस्त भएका छन् की उनीहरुलाई आफ्नो नजिकैको मान्छेले के गर्दै छ र के भन्दै छ भन्ने कुराको समेत पत्तो हुँदैन।

युवापुस्ताका दिदी बहिनीहरुपनि सूचना प्रविधिको यो प्रभावबाट मुक्त हुने कुरै भएन। सूचना प्रविधि र सामाजिक संजालको प्रभावका कारण दिदी बहिनीहरु पनि बेफुर्सदिला हुने गरेका र झन्झटिला कामहरुप्रति उनीहरुको रुचि घट्दै गएको भुक्तभोगीहरुले बताउने गर्दछन्।

दिदी बहिनीहरुको विफुर्सदिलो समयको आंशिक प्रभाव तिहारको मौलिकतामा पनि परेको छ। फूल,खोज्ने,माला गाँस्ने, भाइमसला बनाउने, खाना परिकारहरु तयार गर्ने र समग्रमा तिहारको रौनक बढाउने प्रमुख भूमिका दिदीबहिनीको नै हुने गर्छ। तर,दिदी बहिनीहरु पनि बेफुर्सदिला बनिदिँदा तिहारको मौलिकतामा पनि असर गरेको छ भन्छन् अर्मनका खडानन्द सापकोटा।

सापकोटाका अनुसार अहिले बजारमा प्याक गरेर राखिएका भाइमसलाले दिदी बहिनीहरुले काम चलाउने गरेका छन्। सापकोटाको भनाइसंग सहमत छन् अर्मनकै रसिला जैसी पनि। ‘पहिला पहिला दिदी बहिनीहरु भेला भएर तिहार शुरु हुनेवित्तिकै भाइमसलाको खोजी गथ्यौं,ओखरदेखि लिएर सम्पूर्ण सामाग्रीहरुको जोहो गरेर भाइमसला बनाउथ्यौं,६३ वर्षिया जैसीले भनिन् ‘अहिले त कसैलाई कामले फुर्सद छैन,कसैलाई मुवाइल (मोवाइल) ले।‘

देउसी भैलो : पैसा असुल्ने माध्यम

 तिहारको आकर्षणमध्येको एक मानिएको देउसी भौलो आजकल आशिष दिने,मनोरञ्जन लिने र साथीभाइहरुसंग रमाउने माध्यम नभै पैसा असुल्ने माध्यम बन्दै गएको आरोप लाग्न थालेको छ।

केही सामाजिक संघसंस्था र व्यक्तिहरुले मेमोरीमा रेकर्ड गरिएका गीतहरुको सहयोग लिई बेतालको नृत्य (डान्स) देखाउँदै देउसी भौलोलाई पैसा असुल्ने माध्यम बनाइरहेका स्थानीय व्यापारीहरुले बताएका छन्।

हुनपनि आजकल गाइने देउसी भौलो र देखाइने नृत्यमा कुनै पनि मोलिकता देखिँदैन। अधिकांश भैली समुहहरुले  हिन्दी र नेपाली चलचित्रका गीत एवम एल्वममा राखिएका देउसी भैलो गीतहरुमा नाच्ने गरेका छन्। न उनीहरुले मादल बोकेका हुन्छन न मुरली र खैजडी नै। ठुलाठुला  साउन्डवक्सहरुमा गीतहरु घन्काउदै  हल्ला गर्दै देउसी भैलो समुहरु हिँडेका देखिएका छन्।

देउसीभैलोहरुले ठूलो स्वरमा बज्ने साउन्डवक्समा गीत घन्काउँदा मनोरन्जन भन्दा वढी  हल्ला मात्रै हुने गरेको  स्थानीयहरु बताउँछन्। ठुलो ठुलो स्वरमा  गीत बजाउँदै चिच्याउँदै  देउसी भैलो खेल्नेहरु हिँडेको देख्दा  आफूहरुलाई रमाइलो भन्दा बढी डर लाग्ने गरेको  स्थानीय बृद्धबृद्धाहरुले बताएका छन्।

बेनीका बयोवृद्ध नैनकुमार श्रेष्ठले पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजाहरु र गीतहरु  देख्न सुन्न पाइन्थ्यो तर आज भोलि आयतित गीतहरु सुनेर वाक्क  लाग्ने गरेको  बताउँछन्।  ‘पहिले  आफै भट्याएर  देउसी खेल्दा छुट्टै मजा आउँथ्यो  अनि  हेर्नेलाई पनि रमाइलो लाग्थ्यो तर आज भोलिका  भैली खेल्नेहरु  उफ्रिने र कराउने मात्र गर्छन’ उनले भने।

यस्तै हो भने केहि वर्षपछि लोकवाजा र भैलीको मोलिकता हराउने निश्चित भएको उहाँको भनाइ छ। त्यस्तै बेनीका जेष्ठ नागरिक डम्मरबहादुर कार्कीले देउसी भैलो खेल्दा सबैले लोकगीत आफैले गाउने, मुरली, मादल, खैजडी, झयाली, टयाम्कोलगायतका मौलिक वाजाहरु वजाउने  गरेको बताऐ। उनले भने ‘अब ती सबै कुराहरु एकादेशका कथामा परिणत भए, तिहारको मौलिकता हराउँदै गयो,आयातित संस्कृतिले फस्टाउने मौका पायो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.