सचिवालय र चिकित्सक मौन, रिपोर्ट पनि गोप्य

|

काठमाडौं :   स्वास्थ्यमा अचानक सम्मस्या आएपछि बुधबार बिहान साढे १० बजे धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जनचासो बढ्दै गएको छ। मिर्गौलाका बिरामी प्रम ओलीको स्वास्थ्यसम्बन्धी रिपोर्ट गोप्प राखिएको छ भने सचिवालयले समेत अहिलेसम्म केही बोलेको छैन। 

बुधबार दिउँसो २ बजे नै पहिलो डाइलाइसिस गराइएको थियो। ग्राण्डी अस्पतालस्थित उपचारमा संलग्न चिकित्सकहरुले अब एक पटक डाइलाइसिस गरेर मात्रै प्रमलाई डिस्चार्ज तयारी गरेका छन्। 

आईसीयूको बेड नम्बर १४१६ मा उपचाररत प्रमको मृगौलाले काम गर्न छाडेपछि चिकित्सकहरुले आकष्मिक निर्णय लिएर डाइलाइसिस गराएका हुन्। उपचारमा संलग्‍न वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिब्या सिंह शाह, अर्का निजी चिकित्सक वरिष्ठ कलेजो तथा पेट रोग विशेषज्ञ डा. दिलिप शर्मा र युरोलोजिस्ट तथा वरिष्ठ चिकित्सक डा. प्रेम ज्ञवालीले यस्तो निर्णय लिएका थिए।

प्रधानमन्त्रीको सचिवालयले उनको मिर्गौलाको नियमित चेकजाँचका लागि ग्राण्डी लगिएको जानकारी दिएको छ। तर आधिकारिकरुपमा केही पनि बोलेको छैन। केही दिनदेखिको व्यस्तताले उनी अस्वस्थ थिए। सिस्नुपानी नेपालको देउसीका क्रममा उपस्थित प्रम त्यही बेलादेखि नै बिसन्चो रहेको अनुमान गरिएको थियो।

स्रोतका अनुसार बुधबार गरिएको डाइलासिसको परिणाम राम्रो नआएपछि चिकित्सकहरुले आज फेरि डाइलासिस तयारी गरिरहेका छन्। स्रोतका अनुसार हिजो गरिएको डाइलासिसपछि पनि प्रमको रगतमा क्रेटिनिन घट्नुको साटो झन् बढ्दै गएको छ।

उनलाई छातीको संक्रमण समेत भएको छ। छातीमा संक्रमणले श्वास फेर्न पनि समस्या भएपछि चिकित्सकहरुले रगतको कल्चर जाँचका लागि रगत निकालेका छन्। उक्त रिपोर्ट आउन कम्तीमा ७२ घण्टा लाग्ने चिकित्सकहरु बताउँछन्। 

प्रम सचिवालयले बुधबार बिहान फलोअपका लागि ग्राण्डी लगिएको बताएको थियो तर प्रमलाई ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि ग्राण्डी अस्पताल लगेर बेड भर्ना गरिएको हो।

प्रारम्भिक उपचारमा उनको रगतमा क्रेटिनिन र पिशावमा प्रोटिन अत्यधिक देखिएको थियो। त्यहीकारण मिर्गौलाले काम गर्न छोडेको रिपोर्ट आएपछि बुधबार नै ओलीको  आकास्मिक डाइलासिस गरिएको थियो।

यस्तै संक्रमणको कारण छातीमा पानी जमेको चिकित्सकहरुले बताएकाभ छन्। संक्रमण फैलिन नदिन कडाखालको एन्टिबायोटिक समेत चलाइएको ग्राण्डी अस्पताल स्रोतले जनाएको छ। आज (बिहीबार) पनि ओलीको दोस्रो पटक डाइलासिस गरिने भएको छ।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली अहिले पनि नियमित उपचाररत छन्। मिर्गौलाले काम गर्न छोडेर डाइलासिसमा गइसक्दा पनि प्रम सचिवालय र उनको उपचारमा संलग्न चिकित्सकहरुले प्रमको स्वास्थ्यबारेको सूचना लुकाउँदै आएका छन्। हिजैमात्र २ बजे नै डाइलाइसिस गरिसकेको ग्राण्डीले साँझ निकालेको प्रेस नोटमा प्रमको अवस्था सामान्य रहेको उल्लेख गरेको थियो।

किन लुकाइयो सूचना?

१२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीले त्यसयता देशदेखि विदेशसम्म पुगेर मिर्गौलाको उपचार गर्दै आएका छन्।

दौडधुप र धपेडीले प्रमलाई झनै अफ्ठेरो पार्ने गरेको छ। बेलाबेला हुने विभिन्‍न संक्रमणका कारण एक वर्षयता प्रधानमन्त्री लगातार  बिरामी हुँदै आएका छन्। 

गत वर्ष असोजमा पनि संक्रमणका कारण प्रम ओली बिरामी परेका थिए। त्यसबेला उनलाई पाँच दिन अस्पतालमा राखेर उपचार गरिएको थियो।त्यसबेला  प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य जाँचका लागि गएका थिए।

तर चिकित्सकहरुले अवस्थाको जटिलता हेरेर पाँच दिनसम्म अस्पतालमै राखेर उनको उपचार गरकेा थिए।  त्यो बेला शिक्षणका चिकित्सकले हरेक दिन प्रमको स्वास्थ्यको अपडेट प्रेस नोटमार्फत् गराइरहन्थे।

गम्भीर स्वास्थ्य समस्या देखिँदा सिंगापुर र अन्य देश जाने गरेका ओलीको नेपालमा पनि उपचार जारी छ। यसअघि गत सिङ्गापुरको नेशनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरेर प्रम ओली गत भदौ २० गते नेपाल फर्किएका थिए।

 ओलीले सिंगापुरबाट फर्किएपछि त्रिवि शिक्षण अस्पतालमा दुई पटक स्वास्थ्य परीक्षण गराएका थिए। यसबीचमा छाउनीस्थित सैनिक अस्पतालमा उनको मिर्गौलाको बायोस्पी पनि गरिएको छ।

मुटुकोसमेत नियमित चेकजाँचमा रहेका ओली पछिल्लो पटक हिजो अस्वस्थ भएपछि उपचारका लागि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेका थिए। यो पटकको उपचारका क्रममा ‌ओलीको अवस्थाबारे सूचना एकदमै गोप्य राखिएको छ।

गत साउनमा उपचारका लागि पहिलो पटक सिंगापुर गएका बेला उनको स्वास्थ्य अवस्थाबारे सूचना लुकाइएको थियो। त्योेबला उनको अवस्थाबारे सूचना लुकाइँदा आलोचना भएको थियो। तर दोस्रो पटक सिंगापुर जानुअघि र त्यहाँबाट पनि उनकी निजी चिकित्सक डा.दिव्या सिंह शाहले उनको स्वास्थ्य अवस्थाको अपडेट सार्वजनिक गरेकी थिइन्।

तर बुधबार अवस्था फरक थियो। ग्राण्डीमा दिव्या आफैँ प्रधानमन्त्रीको उपचारमा जुटिन्। तर उनी सञ्चारमाध्यमको सम्पर्कमा आउनै चाहिनन्। ग्राण्डी अस्पतालका तर्फबाट बुधबार बेलुका डा. दिव्या सिंह शाह र मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले एक प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको बताएका थिए।

उनीहरुले प्रधानमन्त्रीको उपचार जारी रहेकाले बिहीबारसम्म डिस्चार्ज गरिने जानकारी दिएका थिए। प्रेस नोटमा स्वास्थ्य परीक्षण जारी रहेको बताइए पनि त्यसको विस्तृत विवरण र मिर्गौलाको अवस्थाबारे केही पनि खुलाइएको थिएन।

तर ग्रान्डी अस्पताल स्रोतले भने ओलीको स्वास्थ्य अवस्थाबारे अहिले नै केही भन्‍न नसकिने भएकाले डिस्चार्जको मिति टुंगो लागिनसकेको जनाएको छ।

सम्बन्धित समाचार 

प्रधानमन्त्रीले अस्पतालबाट भने : चाँडै काममा फर्किन्छु

प्रधानमन्त्री ओलीको दोस्रो डायलाइसिस आज

प्रधानमन्त्री ओली अस्वस्थ, ग्राण्डी अस्पतालमा लगियो
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.