|

काठमाडौं : सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले स्थानीय सरकारले संविधानबमोजिम काम गर्न नसकेको बताएका छन्। बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर व्यवस्थापनमा भनेजसरी काम गर्न नसकेको उनले आरोप लगाए। उपत्यकाको फोहोर व्यवस्थापनका लागि सिस्डोलको वैकल्पिक स्थानको बन्चरेडाँडा रोजिएको उनले प्रष्ट पारे।

 सिसडोलमा ठाउँ पनि साँघुरो भएको र स्थानीयको बारम्बारको अवरोधले वैकल्पिक स्थान रोज्नुपरेको उनले बताए। ' फोहोरबाट मोहोर कमाउन पनि सकिन्छ, 'उनले भने,' काठमाडौं महानगरपालिकाको पूर्वप्रमुखले भनेको अब लागू हुँदै छ।' व्यावहारिक रूपमा सरकारले लागू गर्न नसक्दा दुखः लागेको उनले बताए।

विदेशमा फोहोर व्यवस्थापन गर्न माफियाहरू लाग्ने गरेको उनको भनाइ छ। 'जहाँबाट उनीहरूले मोहोर कमाउन सक्छन्,' उनले भने। नेपालमा पनि निजी क्षेत्रबाट काम भइरहेको उनको भनाइ छ। 

प्रविधिको विकाससँगै फोहोरको मात्रा बढिरहेको उनले बताए। संविधानमा नै हरियाली र सफा व्यवस्थित सहर हुनुपर्ने लेखिएको भए पनि स्थानीय सरकारले उपत्यकालाई त्यस्तो बनाउन नसकेको आरोप लगाए।

नयाँ सरकार बनेपछि संविधान निर्माणमा लागेकोले विकास निर्माण कार्यमा  केही सुस्त भएको उनले सुनाए। विगतमा देश संक्रमणकालीन अवस्थामा रहेकोले पनि सरकारले केही काम गर्न नसकेको उनको भनाइ छ। 'जनताका आधारभूत कुराहरू निर्माणमा सरकार लागेको थियो,'उनले भने। विकास निर्माणले अब गति लिइरहेकोले अब फोहोर व्यवस्थापन पनि मुख्य चुनौती रहेको उनले प्रष्ट पारे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.